१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत २४ बिहीबार o७:११:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन प्रिन्ट संस्करण

एमालेले थाल्यो उम्मेदवार छनोट प्रक्रिया 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार o७:११:oo

एमालेले स्थानीय निर्वाचनका लागि सात सय ५३ वटै स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । चैत मसान्तभित्र वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवार सिफारिस गरिसक्न एमालेले अन्तरपार्टी निर्देशन जारी गरेको छ । 

निर्देशनअनुसार वडा र पालिका कमिटीको बैठकबाट देशैभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया सुरु भइसकेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । ‘देशैभर धमाधम तल्लो तहमा पार्टी कमिटीका बैठक बसेर माथिल्लो कमिटीमा उम्मेदवार सिफारिस गर्ने प्रक्रिया सुरु भइसकेको छ,’ अधिकारीले भने, ‘त्यसक्रममा कतिपय वडामा सर्वसम्मत उम्मेदवार छनोट भएका छन् । केन्द्रीय कार्यालयमा जिल्ला र प्रदेशले बैठक बसेर रिपोर्ट पठाउन बाँकी छ ।’ 

उनले अबको डेढ साताभित्र धेरैजसो स्थानीय तहमा पार्टीले उम्मेदवार छनोट गरिसक्ने जानकारी दिए । गाउँ तथा नगरपालिकाका वडाध्यक्ष र सदस्यहरूका उम्मेदवारको निर्णय सम्बन्धित वडा र पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले गर्ने, निर्णयमा विवाद आए एक तह माथिल्लो कमिटीमा पठाउने, केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको निर्णयमा पुनर्विचार गर्न सक्ने एमालेको उम्मेदवार छनोटसम्बन्धी मापदण्ड छ । यस्तो सिफारिसको अन्तिम मिति आगामी ३० चैतसम्मका लागि तोकिएको छ । 

महानगर र उपमहानगरका उम्मेदवार छनोट केही ढिलाइ हुने उनको भनाइ छ । महानगर र उपमहानगरका प्रमुख, उपप्रमुखहरूको उम्मेदवार चयन भने सम्बन्धित कमिटीको सिफारिस, जिल्ला र प्रदेश हुँदै केन्द्रीय कमिटीबाट गर्ने एमालेको पछिल्लो निर्णय छ ।

अध्यक्ष केपी ओलीले स्थानीय तहको उम्मेदवार छनोटका ६ वटा आधारसहितको अन्तरपार्टी निर्देशन जारी गरेका थिए । जसअनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण (भिजन) तथा सन्तुलन र समावेशिताको पक्षलाई आधार बनाएर उम्मेदवार चयन गर्न निर्देशन गरिएको छ । 

एमालेको बागमती प्रदेश कमिटीले २७ चैतभित्र वडा र पालिकाका उम्मेदवार छनोट गरिसक्ने र निर्णय हुन नसकेका पालिकाका उम्मेदवारको नाम जिल्ला कमिटीले प्रदेश कमिटीमा अनिवार्य पठाउनुपर्ने गरी गत शनिबार परिपत्र जारी गरेको थियो । त्यसअनुसार वडा कमिटीले २३ चैतभित्र बैठक राखेर सकेसम्म सर्वसम्मत सहमतिका आधारमा वडाध्यक्ष र सदस्यको छनोट गरी पालिका कमिटीमा सिफारिस पठाउन एमाले बागमतीका अध्यक्ष केशव पाण्डेले निर्देशन दिएका थिए । 

प्रदेशभित्रका अधिकांश वडा कमिटीले बैठक राखेर बुधबारै माथिल्लो कमिटीमा नाम सिफारिस गरिसकेको एमाले बागमतीले जनाएको छ । बागमतीभित्र २५ चैतभित्र महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका मेयर–उपमेयर र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षहरूको नाम छनोट सम्बन्धित पालिका कमिटीले सर्वसम्मत सहमतिका आधारमा गर्नुपर्ने, तर सहमति नभएमा मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष दुवै पदमा एक महिला र एक पुरुष अनिवार्य हुने गरी तीन–तीनजनाको नाम सिफारिस गरी जिल्ला कमिटीमा पठाउन एमालेले परिपत्रमा निर्देशन दिएको थियो ।

ad
ad
ad
ad