१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २४ बिहीबार
  • Monday, 01 July, 2024
जीवन बस्नेत काठमाडौं
२o७८ चैत २४ बिहीबार o६:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

थप चार आयोजनाको ३२५ मेगावाट विद्युत् भारतले खरिद गर्ने

असारदेखि मात्र निर्यात थालनी गरिने : विद्युत् प्राधिकरण

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत २४ बिहीबार o६:३७:oo

नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा थप ३२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप विद्युत् बिक्री गर्न स्वीकृति दिएको हो । थप गरिएका चार आयोजनामा मर्स्याङ्दी  ६७ मेगावाट, मध्यमर्स्याङ्दी ७८ मेगावाट, कालीगण्डकी ए १४० मेगावाट, लिखु चार ५१ मेगावाट गरी कुल ३२५ मेगावाट रहेको छ । यसअघि नै स्वीकृति दिइसकेको त्रिशूली २४ मेगावाट, देवीघाट १५ मेगावाट पनि जोड्दा कुल भारतीय बजारमा निर्यात हुने विद्युत् ३६४ मेगावाट हुनेछ । यसअघि कात्तिक २०७८ मा पहिलोपटक ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइइएक्स) मा बिक्री गर्न स्वीकृति दिएको थियो । यसअघि नेपालले करिब डेढ महिना त्रिशूली र देवीघाटको विद्युत् बिक्री गरिसकेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय विद्युत् बजारमा थप विद्युत् बिक्री गर्न स्वीकृत दिएकोमा भारतीय पक्षलाई धन्यवाद दिएकी छिन् । ‘हामीलाई अझ ठूलो बजार चाहिएको छ,’ उनले भनिन् । यसले उत्पादनका लागि नयाँ पिपिए (विद्युत् खरिद–बिक्री सम्झौता) गर्ने बाटो खोलेको बताइन् । स्रोतका अनुसार मन्त्रालयले एक हजार पाँच सयदेखि दुई हजार दुई सय मेगावाट क्षमताको नदी प्रवाही जलविद्युत् आयोजनाका लागि पिपिए खोल्ने तयारी छ । जलाशययुक्त र अर्धजलाशययुक्त आयोजनाको भने अहिले पनि पिपिए खुला छ । 

ऊर्जा मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले भारतले थप विद्युत् निर्यातका लागि स्वीकृति दिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा जारी भएको ऊर्जा सहयोगसम्बन्धी ‘नेपाल–भारत संयुक्त दृष्टिकोणपत्र’ कार्यान्वयनमा प्रवेश गरेको बताइन् । अघिल्लो हप्ता मात्र प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच संयुक्त दृष्टिकोणपत्र जारी गरिएको थियो । यसले वर्षायाममा उत्पादित विद्युत् मुलुकभित्र खपत गरी अतिरिक्त विद्युत्को निर्यात हुनेछ । त्यसबाट दुई देशबीच रहेको व्यापार घाटामा कमी आई अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने मन्त्रालयको भनाइ छ । ऊर्जासचिव देवेन्द्र कार्कीले अहिले स्वीकृति दिएकोबाहेक थप विद्युत्का लागि पनि बजार उपलब्ध गराउने प्रक्रियामा भारत रहेको बताए । थप आयोजनालाई प्रस्ताव गर्न अनुरोधसमेत आउने क्रममा रहेको उनको भनाइ छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले थप आयोजनालाई पनि प्रस्ताव गर्ने क्रममा रहेको जानकारी दिए । ‘अहिले तत्कालका लागि भने ३६४ मेगावाट विद्युत् भारतको कुनै पनि बजारमा लगेर बिक्री गर्न सक्ने ढोका खुलेको छ’ उनले भने । स्वीकृत दिएको विद्युत् असारदेखि बिक्री थालिने तयारी छ । 
वर्षामा चार सय मेगावाट विद्युत् बिक्री गर्नुपर्ने अहिले प्रणालीमा दुई हजार एक सय मेगावाट जडान भइसकेको छ ।

असार सम्ममा दुई सय मेगावाट थपिएर प्रणालीमा दुई हजार तीन सय मेगावाट पुग्नेछ । त्यसवेलासम्म माग १९ सय मेगावाट पुगे पनि चार सय मेगावाट विद्युत् बिक्री गर्नुपर्ने अवस्था रहेको कुलमान घिसिङको भनाइ छ । अहिले पिक–टाइममा १६ सय मेगावाट माग रहेको छ । पछिल्लो नौ महिनामा करिब आठ अर्ब रुपैयाँको विद्युत् आयात गरिएको छ । अझै एक महिना भारतबाट विद्युत् आयात गर्नुपर्ने भएकाले बढीमा १० अर्ब रुपैयाँको आयात गर्नुपर्ने अनुमान छ । अघिल्लो वर्ष करिब २२ अर्ब रुपैयाँको विद्युत् आयात  गरिएको थियो ।

ad
ad
ad
ad