साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से १४.८८ अंकले घटेर दुई हजार ४९८.५३ बिन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स २.४६ अंक घटेको छ।
सोमबार कारोबारमा आएका दुई सय २६ कम्पनीको ३४ लाख २९ हजार कित्ता सेयर एक अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। आइतबारको तुलनामा सोमबारको कारोबार रकम केही वृद्धि भएको छ। आइतबार एक अर्ब ४६ करोडको सेयर कारोबार भएको थियो।
सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। निर्जीवन बिमा, अन्य र व्यापार उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढी घटेको छ।
नेप्से परिसूचकमा गिरावट आए पनि दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा राष्ट्र उत्थान लघुवित्त र नेस्डाे समृद्ध लघुवित्तको सेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ। त्यस्तै इमर्जिङ नेपालको सेयरमूल्य ९.१२ प्रतिशत बढेको छ। कर्णाली डेभलपमेन्ट बैंक र प्रभु इन्स्योरेन्सको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।
कारोबार रकमका आधारमा ६ करोड ३९ लाख १५ हजार रुपैयाँबराबरको सेयर कारोबार गरेर इमर्जिङ नेपाल शीर्ष स्थानमा रहेको छ। नबिल बैंकको साढे पाँच करोडभन्दा बढीको सेयर कारोबार भएको छ।