सिन्धुपाल्चोकमा खाना पकाउने ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घरभित्रै जलेर तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका– ८ मानेश्वाँरास्थित लामाटोलका मीनबहादुर तामाङको घरमा आइतबार साँझ ६ः३० बजे खाना पकाउने क्रममा सिलिन्डर पड्केको हो । घटनामा मीनबहादुरका १० वर्षीय छोरा इसाक तामाङ, उनका भाइ कुमार तामाङका ६ वर्षीय छोरा सरगम तामाङ र छिमेकी पदम तामाङकी अढाई वर्षीया छोरी दिव्या तामाङको मृत्यु भएको छ ।
सिलिन्डर पड्किँदा तीनैजना घरभित्रै खेल्दै थिए । बालबालिकालाई उद्धार गर्न घरभित्र छिरेका मीनबहादुर सख्त घाइते भएका छन् । उनलाई उपचारका लागि खाडीचौर अस्पताल लगिएको छ । हात र खुट्टा जलेको भए पनि उनी खतरामुक्त रहेको स्थानीय चिनबहादुर तामाङले बताए ।
खाना पकाउने क्रममा आइतबार साँझ ६ः३० बजे सिलिन्डर पड्केर दुर्घटना भएको हो । तीन दिनदेखि नै सिलिन्डरबाट ग्यास लिक भएको रहेछ । तर, गाउँघरमा त्यससम्बन्धी सचेतना दिने कोही नहुँदा दुर्घटना निम्तियो,’ घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्स्पेक्टर देवेन्द्र शाहले भने । विस्फोटपछि घर पूरै जलेको छ । अन्नपात र लत्ताकपडामा पूर्ण क्षति भएको छ । प्रहरी र स्थानीयले तीन घन्टा लगाएर आगो निभाएका छन् ।