नेकपा एमाले पर्साको अध्यक्षमा जयप्रकाश थारू सर्वसम्मतिले निर्वाचित भएका छन् । वीरगन्जको होटेल कुमु प्यालेसमा आयोजित ८औँ जिल्ला अधिवेशनबाट थारू अध्यक्षमा निर्वाचित भएका हुन् ।
कमिटीको उपाध्यक्षमा फरमान अन्सारी, सचिवमा मनोज गुप्ता, उपसचिवमा सन्जीव मिश्र एवं प्रदुमन सेढाईं सर्वसम्मतिले चयन भएका छन् । नयाँ कार्यसमितिमा एक सय ३० जना सदस्यसमेत सर्वसम्मतिले चयन भएको नेकपा एमाले वीरगन्ज महानगरपालिका कमिटीका उपाध्यक्ष महेश दासले जानकारी दिए ।
पुस २७ मा उद्घाटन भएको जिल्ला अधिवेशनको बन्द सत्र अनिश्चितकालका लागि स्थगित गरिएको थियो । अध्यक्षमण्डलका अध्यक्ष प्रभु हजराले बन्दसत्र विशेष कारणले स्थगन गरिएको जनाएका थिए । अध्यक्षमण्डलले सर्वसम्मतिले पदाधिकारी र सदस्य चयन गर्न अधिकार अध्यक्षमण्डललाई दिन प्रतिनिधिहरूबीच प्रस्ताव राखेपछि बन्दसत्रमा विवाद भएको थियो । दुई पक्षबीच कुर्सी हानाहानसमेत भएको थियो ।