हामीले नीति र कार्यक्रममा सार्वजनिक शिक्षालाई जति नै महत्व दिन खोजे पनि व्यवहारमा त्यसले कहिल्यै सार्थकता पाएन । हामीले सार्वजनिक शिक्षालाई प्राथमिकताको सूचीमा राखेर गरिबी, पछौटेपन, विभेद न्यूनीकरण गर्ने लक्ष्य लियौँ । कल्याणकारी राज्यको मान्यतामा आधारित शिक्षा, स्वास्थ्य र स्वच्छ पिउने पानीजस्ता आधारभूत आवश्यकतामाथि ख्याल गर्न सकेनाैँ । अझै हाम्रा राजनीतिक दल यसप्रति सचेत देखिँदैनन् ।
राज्यले शिक्षा क्षेत्रमा ठूलो धनराशी खर्चिएको भए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन । केही विद्यालयलाई छाडेर अधिकांश सामुदायिक विद्यालयको अवस्था दयनीय नै छ । समग्र मुलकभित्र केही सुगम भूभाग र सदरमुकाममा निजी विद्यालयको उपस्थिति देखिए पनि अधिकांश ठाउँमा सामुदायिक विद्यालयकै बाहुल्य छ । यसर्थ जबसम्म सामुदायिक विद्यालयमा स्तरीय शिक्षा दिइँदैन, तबसम्म देशको शिक्षा उँभो लागेको ठहर्दैन ।
सामुदायिक विद्यालयको स्तर माथि नउठ्नुमा अभिभावकको सोच, सरकारी लगानीको कमी, आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउनुको सट्टा घरेलु काममा लगाउनु र स्कुल जानबाट रोक्नुजस्ता मूल कारण जिम्मेवार छन् । सामुदायिक विद्यालयका शिक्षकलाई तालिम अभाव, दुर्गम ठाउँमा योग्यता पुगेका शिक्षक जान नचाहनु भौतिक पूर्वाधारको कमी, विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था हुन नसक्नु विषयगत दक्ष शिक्षकको अभाव हुनुजस्ता समस्या अझै हाम्रा विद्यालयमा कायमै छन् । सरकारी विद्यालयमा सरकारी स्रोत–साधनको वितरणगत असन्तुलन, उपयुक्त नक्सांकनविना राजनीतिक दबाबमा विद्यालय स्वीकृतिजस्ता कुराले पनि ठूलो असर पुर्याएका छन् ।
शिक्षित नागरिकले पाएको असल आचरण र व्यवहार नै शैक्षिक योग्यताको कसी हो । विद्यार्थीले आफूभन्दा ठूलालाई आदर गर्नुपर्छ र आफूभन्दा सानालाई माया गर्नुपर्छ भन्ने आदरभाव सिक्नु असल गुणको प्रत्याभूत हो । यति मात्र होइन, शिक्षाले विद्यार्थी कति स्वावलम्बी बने ? कति सक्षम भए ? कति शिक्षित बने ? यावत् पक्षको विश्लेषण जरुरी हुन्छ । तर, आजको शिक्षाले यसतर्फ ध्यान दिन सकेको छैन । उच्च श्रेणीमा उत्तीर्ण विद्यार्थीले स्वयं उत्पादनशील र स्वरोजगारशील कुनै कार्य गर्न सक्दैन भने त्यो शिक्षाको अर्थ रहँदैन । आजको युगका लागि स्वावलम्बी र आत्मनिर्भर शिक्षा नभई हुँदैन । वर्षभरिको पढाइलाई परीक्षाको मुखमा आएर घोक्ने र गेस पेपरका उत्तर घोकाएका भरमा उत्तीर्ण हुनेहरूबाट सबै पक्षको मूल्यांकन सम्भव हुँदैन ।
विद्यार्थीमा आचरण, स्वभाव, सामाजिकीकरण खेलकुद, साहित्य, गीत, संगीत कला व्यावसायिक सीप आदिको ज्ञान हुनु जरुरी छ । विद्यार्थीलाई विद्यालय परिवेशभित्र फूलबारी, करेसाबारीलगायत काममा सहभागी गराउँदै स्थानीय संस्कृति, कला, परम्परागत सीप, नदी मन्दिर, खोला, झर्ना, पहाड आदिबारे पनि जानकारी दिइनु आवश्यक हुन्छ । यति गर्न सकियो भने विद्यार्थीमा आफ्नो थातथलोप्रति सम्मान भाव जाग्न सक्छ । विद्यार्थीलाई नैतिक र आध्यात्मिक शिक्षा पनि दिनुपर्छ ।
कुनै विद्यार्थीमा सामाजिकीकरण र नैतिकता भएन भने ऊ योग्य र असल नागरिक बन्न सक्दैन । आज हाम्रो समाजमा नैतिक शिक्षाको अभावका कारण, राजनीतिक, प्रशासनिक, व्यावसायिक हरेक क्षेत्रमा समस्या बढ्दै गएको छ । विश्व वैज्ञानिक क्षेत्रले पनि यो कुरा नबुझिदिँदा मानव संहारतर्फ उन्मुख भइरहेको छ । मानिसमा जतिसुकै भौतिक सुख र सुविधा भए पनि उसमा आत्मज्ञान भएन भने सुख र शान्ति प्राप्ति हुँदैन । संसारका धनीदेखि गरिब देशहरूमा समेत अशान्ति, द्वन्द्व हिंसा बढिरहेको छ । उच्च जीवनशैली भए पनि त्यहाँ तनाव, डिप्रेसन, बलात्कार, आत्महत्याजस्ता घटना प्रशस्त सुन्नमा आउँछन् । मानिसले चाहने त सुख, शान्ति र आनन्द नै हो । तैपनि, उसले यस्ता पीडा किन भोगिरहेको छ त भन्दा त्यहाँ नैतिकता र आध्यात्मिकताको कमी छ । यसर्थ, अबको शिक्षाले यसतर्फ ध्यान पुर्याउनु नितान्त आवश्यक छ ।
विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न राज्यले शिक्षालाई व्यावहारिक, सीपमूलक र जीवनोपयोगी बनाइनुपर्छ । हाम्रो शिक्षा नीतिले यसलाई आत्मसात् गर्न सकेको भए आज यसरी बेरोजगारको पहाडले देश थिचिने थिएन । जीवनोपयोगी सीप र स्थानीय प्रविधिसँग विद्यार्थी परिचित हुने, घरायसी काम, पशुपालन, कृषि, जडीबुटी आदिबारे जानकार हुने र तिनै क्षेत्रमा काम गरेर स्वरोजगार हुने अवस्था सिर्जना गर्नु शिक्षाको दायित्व हो ।
विद्यालय तहबाटै बालबालिकालाई व्यावहारिक, वैज्ञानिक र उत्पादनमुखी बनाउने लक्ष्य राखिनुपर्छ । यसका लागि स्थानीय तहमै पाठ्यक्रम तथा पाठ्यपुस्तक गरी त्यसको प्रभावकारी कार्यान्वयनको दिशामा सबैको ध्यान जानु जरुरी छ । यसमा स्थानीय विद्यालयका विषयगत शिक्षकको सक्रियता जरुरी हुन्छ । यसका लागि शिक्षकलाई प्रभावकारी ढंगले छोटो र लामो अवधिको सीपमूलक तालिम दिइनु जरुरी छ । स्थानीय परम्परागत प्रविधि विज्ञलगायत स्थानीय उद्यमी, व्यापारी शिल्पी आदिका ज्ञान र सीप समेटिनु पनि त्यत्तिकै जरुरी छ । यसका लागि राष्ट्रले स्थानीय, प्रादेशिक तथा राष्ट्रिय पाठ्यक्रमको सोच राख्नुपर्छ ।
बालबालिकालाई सानैदेखि आत्मनिर्भर हुने खालको शिक्षा दिइनुपर्छ । उनीहरूलाई उमेर सुहाउँदो श्रम गर्ने खालका सामान्य काम लगाउँदा हुन्छ । यसले केटाकेटीलाई किताबमुखीभन्दा व्यवहार र प्रयोगमुखी बनाउँछ । आजका विकसित भनाउँदा देशले पनि आत्मनिर्भरताका लागि उमेर सुहाउँदा ससाना काम लगाउँदै तिनलाई सकारात्मक सोच र अनुसन्धानमुखी प्रवृत्तितर्फ उन्मुख गराउँदै लग्छन् । तिनलाई शिक्षकले पुस्तक रटाउनुभन्दा आफँैले नयाँ–नयाँ सूचना प्राप्त गरी अध्ययन गर्न सिकाउँछन् । बालबालिकालाई शिक्षकप्रति निर्भर नभई आफैँ सिक्न प्रेरित गर्छन् ।
हामीले अहिले पनि केटाकेटीलाई गृहकार्यका नाममा धेरै भारी बोकाउँछौँ । बालबालिकालाई किताबी ज्ञानमा सीमित बनाउँछौँ, अभिभावक पनि आफ्ना सन्तानलाई धेरै पुस्तक बोकाउन पाउँदा गर्व गर्छन् । शिक्षकले धेरै गृहकार्य दिएपछि बल्ल आफ्ना बालबालिका सप्रने ठान्छन् । यस्ता परम्परागत सोचबाट हाम्रा अभिभावक र शिक्षकहरू मुक्त हुनु जरुरी छ । प्रारम्भिक अवस्थादेखि नै हरेक बालबालिकाले परिवारिक तथा सामाजिक स्नेह पाउनुपर्छ । तर, बालबालिकामा पढाइको आवश्यकताभन्दा बढी बोझ बोक्न बाध्य गराउँदा तिनले घरेलु कार्यमा सघाउन र घर, परिवार तथा समाजमा भिज्न पाउँदैनन् । यस्तो शिक्षा अब काम लाग्दैन । (गौतम शिक्षाविद् हुन्)