सरकारले शिक्षामा जतिसुकै ठूलो लगानी लगाए पनि र जतिसुकै महत्वाकांक्षी योजना ल्याए पनि ती केवल झाराटराइमा सीमित देखिन्छन् । विगतदेखि नै आधारभूत तहको शिक्षालाई निःशुल्क भनिँदै आएको छ । तर, यहाँ भनिने र गरिनेबीच ठूलो खाडल छ । सार्वजनिक विद्यालयमा निःशुल्क पढ्न पाइन्छ भन्ने गरिए पनि त्यस्ता विद्यालयमा कुनै न कुनै शीर्षकअन्तर्गत राम्रै रकम असुली गर्ने कार्य हुँदै आएको छ । यस किसिमको बोझबाट हाम्रा अभिभावक कहिले मुक्त हुन पाउने ? निजी क्षेत्रका विद्यालयले जनसाधारणका सन्तानलाई लाभ दिने कार्य गरेका छैनन् ।
गरिब छात्रवृत्तिका नाममा दिइने सुविधा पनि खास लक्षित वर्गका बालबालिकाले पाउँदैनन् । आमबालबालिकाले गुणस्तरीय शिक्षा पाउने अधिकारको सुनिश्चितता त अझै टाढाको विषय भयोे । यस्तो अवस्थामा निजी विद्यालयले गरिब जेहेनदार कोटा छुट्याएर तिनका लागि पढ्ने व्यवस्था कसरी मिलाउने हुन् ? यस प्रश्नको उत्तर सरोकारवाला निकायले खोज्नु जरुरी छ ।
शिक्षालाई साँच्चै सुधार्ने हो भने स्पष्ट, पारदर्शी वस्तुनिष्ठ शिक्षानीतिको खाँचो छ । शिक्षामा स्वस्थ वातावरण र सिर्जनशील परिवेश कसरी जुट्न सक्ला ? त्यहाँ धनी र गरिब सबैका लागि समान शिक्षा कहिले पाइएला ? मुलुकको शिक्षानीति अझै दोधारमा चलिरहेको छ ।
सार्वजनिक विद्यालयको स्तर नउठाई सर्वसाधारणले गुणस्तरीय शिक्षा पाउन सक्तैनन् । ती विद्यालयमा भौतिक पूर्वाधारलगायत व्यवस्थापकीय सुव्यवस्थासँगै तालिम प्राप्त शिक्षकको प्रबन्ध मिलाउनु अति जरुरी छ । प्राविधिक तथा व्यवस्थापकीय शिक्षामा जोड दिइनु पनि उत्तिकै खाँचो छ । यसका साथै, गुणस्तरीय शिक्षाका लागि सार्वजनिक विद्यालयलाई सबैखाले दबाब र हस्तक्षेपबाट मुक्त गराइनुपर्छ ।
मुलुकमा नयाँ संविधान लागू भएको पनि आठ वर्ष बितिसकेको छ । तैपनि, संघीय संरचनाअनुकूलका ऐन, नियम बन्न सकिरहेका छैनन् । देशको संघीय स्वरूपमा बालबालिकालाई कस्तो शिक्षा दिने र त्यसका निम्ति बनाइने नीति तथा कार्यक्रम कस्तो हुने भन्ने बहस खासै गरिएको देखिँदैन । सबैखाले राजनीतिक दलले आफ्ना चुनावी घोषणापत्रमा संघीय शिक्षाप्रति प्रतिबद्धता जाहेर गर्दै तदनुसार कार्यान्वयन गर्ने वाचा गरे पनि व्यवहारमा भने केही पनि भएको छैन । यी राजनीतिक दलमा शिक्षाबारे अलमल देखिइरहेको छ । तर, देश विकासको मेरुदण्ड शिक्षा क्षेत्र यसरी उपेक्षित हुनुहुँदैन ।
पुरातन शैलीमा पुस्तकभित्रका पाठ सिध्याउने मात्र ध्येय राख्ने, विद्यार्थीलाई पाठ घोक्न बाध्य तुल्याउने र आफू कहिल्यै ‘अपडेट’ नहुने शिक्षकबाट विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने अपेक्षा नगरे पनि हुन्छ
अबको शिक्षामा पहुँचको मात्र सवाल होइन, शिक्षा गुणात्मक र संज्ञानात्मक पनि हुनुपर्छ । गुणात्मक शिक्षाका लागि राज्यको कुल बजेटको कम्तीमा २० प्रतिशत छुट्याउने प्रयास गरिनु जरुरी छ । दिन–प्रतिदिन शिक्षाको आवश्यकता बढ्दै गएको छ । मानिसको मस्तिष्कलाई ‘ट्रेन’ गराउँदै अबको शिक्षाले आउने चुनौतीलाई सामना गर्नुपर्ने हुन्छ । भौतिक पुँजीभन्दा ज्ञान पुँजीको महत्व बढ्दै आएको छ । कतिपय विकसित मुलुकले राम्रो ज्ञान भएका मस्तिष्कलाई अनेक छात्रवृत्तिका प्रलोभन दिएर भए पनि आफ्नो मुलुकतर्फ आकर्षण गराउन थालेका छन् । यस्तै ज्ञानका पुँजीबाट आफ्नो देशमा उपयोग गरी नयाँ ज्ञान र प्रविधिको विकास गरिरहेका छन् । आज ठूला देशले अरूबाट प्राप्त हुने भौतिक पुँजीभन्दा ज्ञान पुँजीकै महत्व बुझेर ज्ञानपुँजी हडप्ने काम गरिरहेका छन् । आज नेपालका हजारौँ ‘ब्रेन ड्रेन’ हुनुको कारण पनि यही हो ।
नयाँ युगको ज्ञान पुँजीका लागि नयाँ प्रविधि र नयाँ सीप चाहिन्छ । त्यसका लागि अध्ययन पनि बढी आवश्यक पर्छ । अनुसन्धान, विश्लेषण गर्ने र सिर्जनशील भावको विकास गराउने परिप्रेक्ष्यमा नवीनतम घटना र नवीन पुस्तक अध्ययनको जरुरी छ । पहिले लेखिएका पुस्तक कुनै कालखण्डका होलान्, तिनमा वर्णित घटना र परिस्थिति अहिले बदलिइरहेका हुन्छन् । यस्ता विषयमा शिक्षकले चासो राखी पुराना घटनामा अपडेट गराउँदै लग्न सके मात्र विद्यार्थीको प्रतिभा प्रस्फुटनमा बल पुग्न सक्छ । शिक्षकले विद्यार्थीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय, सामाजिक, आर्थिक राजनीतिक अवस्था र परिवर्तनबारे यथेष्ट ज्ञान दिलाइनुपर्छ ।
पुरातन शैलीमा पुस्तकभित्रका पाठ सिध्याउने मात्र ध्येय राख्ने, विद्यार्थीलाई पाठहरू घोक्न बाध्य तुल्याउने र आफू कहिल्यै ‘अपडेट’ नहुने शिक्षकबाट विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने अपेक्षा नगरे पनि हुन्छ । शिक्षक अपडेट नहुँदा विद्यार्थीले बाहिरी उपयोगी सूचना बुझ्ने र संकलन गर्ने मौका पाउँदैनन् । विद्यार्थीले कतिपय सूचना इन्टरनेट, गुगल, रेडियो, टिभी साहित्यिक रचना आदिबाट प्राप्त गर्न सक्छन् । अनि मात्र विद्यार्थी सिर्जनशील बन्ने हो ।
विद्यार्थी प्रतिभालाई प्रोत्साहन दिन हुनेखाने र हुँदा खानेबीचको खाडल परिपूर्ति गर्नु जरुरी छ । श्ुल्क तिर्न नसकेर विद्यालय जान नसकेका विद्यार्थीलाई शुल्क तिर्न सक्नेबाट शुल्क लिएर निःशुल्क पढाउने र नसक्नेहरूलाई खाने, बस्नेसमेतको प्रबन्ध मिलाउनु उपयुक्त हुन्छ । शिक्षालाई प्राविधिक, व्यावसायिक बनाउन सके मात्र त्यो रोजगारमूलक हुन सक्छ । राष्ट्रिय हितसित समर्पित जनशक्ति उत्पादन हुन सके मात्र देशको विकास सम्भव छ । राष्ट्रमा अर्धदक्ष, दक्ष र पूर्ण दक्ष जनशक्ति नभई हुँदैन । प्राविधिक र व्यावसायिक शिक्षाका विषयमा स्पष्ट नीति देखिँदैन भने कुन क्षेत्रमा कुन खाले कति जनशक्ति चाहिन्छन् भन्ने पनि कहीँ भएको उल्लेख पाइँदैन ।
मुलुकमा शिक्षित वर्गले प्राप्त गरेको ज्ञान र सीपले उसलाई स्वरोजगार, स्वावलम्बन र आत्मनिर्भर बनाउने हो । शिक्षित समुदाय नै बेरोजगार र अस्वस्थ भए राजनीति भाँडिने र देशमा द्वन्द्व चर्कने हुन सक्छ । यसर्थ, सामाजिक द्वन्द्व, नैतिक विचलन र आत्मकेन्द्रित सोचका जनशक्ति उत्पादन हुनु देशका लागि ठूलो दुर्भाग्य हो । शिक्षाले असल गुणी सीपयुक्त र देशप्रेमको भावनाले भरिपूर्ण नागरिक उत्पादन गर्नुपर्छ ।
प्राचीन राजनीतिक विश्लेषक आचार्य चाणक्यले तत्कालीन परिस्थितिअनुसारको जनशक्तिलाई ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र गरी चार किसिमले जनतालाई आधार मानेर ब्राह्मणको बल विद्या, क्षेत्रीको बल सैन्य, वैश्यको बल धन र शुद्धको बल कलाकारितामा रहेको बताएका थिए ।
मानिस सभ्यताको सुरुवातमा कुनै जातजातिको विभाजन थिएन । पछि कामका आधारमा चार जातमा विभाजन गरियो । तत्कालीन समयमा जसको तृष्ण बुद्धि देखियो उसलाई अध्ययन अध्यापनमा लगाइयो । जो बलियो र लडाकु स्वभावको देखियो, उसलाई सैनिक तालिम दिइन थालियो । जसको मन धन कमाउनमा लाग्यो, उसलाई व्यापार व्यवसायमा लगाउने काम भयो । जसको रुचि कलाकृतिको सिर्जनामा लाग्यो, उसलाई कलाकारिताको काममा लगाइयो । यसरी प्राचीन कालदेखि नै एउटा राष्ट्र चलाउन बल, बुद्धि, धन र सिर्जनाको खाँचो पर्ने तथ्य देखिँदै आयो ।
राष्ट्रसेवामा समर्पित नागरिक पाउन कठिन छ । अहिले सेवाभन्दा पनि सबै व्यक्तिगत स्वार्थमा बढी केन्द्रित भएको देखिन्छ । नेपालमा अब्बल खाले विद्यार्थी पाउनै मुस्किल हुन थाल्यो । प्रायः सबैजसो विदेश पलायन हुन थालिरहेका छन् । हाम्रो प्राचीन कालदेखि नै राम्रो शिक्षा दिने गुरु वा शिक्षकलाई अपार सम्मान दिइँदै आएको छ । गुरुको महिमा अपार छ । शिक्षक भनेको सिकाउने व्यक्ति हुन्, जसले अँध्यारोबाट उज्यालोतर्फ प्रकाशरूप ज्ञानको प्रत्याभूति दिलाउँछन्, ती नै हाम्रा शिक्षक वा गुरु हुन् ।
शिक्षक वा प्राचार्य पनि गुरु शब्दकै पर्याय मानिन्छन् । असल शिक्षक नै गुरु हो । असल शिक्षकले आफ्नो, उपदेशलाई नै जीवनको आदर्श ठान्छ । उसले सच्चा ज्ञान प्रदान गरी विद्यार्थीको जीवन सफल तुल्याउन जीवन समर्पित गर्छ । जन्मगुरु आमा, कर्मगुरु बाबु र शिक्षादीक्षा दिने गुरु शिक्षक हुन् । सच्चा ज्ञानका दाता असल शिक्षक हुन्, जसले आफ्ना विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गरी जीवन सफल बनाउँछन् ।
शिक्षा गुणस्तरीय सर्वसुलभ, आकर्षक प्रतिस्पर्धी नभई हुँदैन । विश्व बजारको प्रतिस्पर्धामा उत्रन सक्ने शिक्षा नभई हुँदैन । यसका लागि शिक्षामा एउटा ठोस राष्ट्रिय दृष्टिकोण नभई हुँदैन । हाम्रो देशमा अझै पनि शिक्षाबारे राष्ट्रियस्तरमा सर्वदलीय बहस भएको पाइँदैन । राजनीतिक अस्थिरता र ढुलमुले नीतिले शिक्षा कार्यक्रम एकपछि अर्को धराशयी बन्दै गएको देखिन्छ । उदाहरणका लागि निःशुल्क शिक्षाकै कुरा गरौँ ।
२००५ सालदेखि निःशुल्क र अनिवार्य प्राथमिक शिक्षाको नारा लगाइँदै आएको देखिन्छ । शिक्षा ऐन–नियममा पनि व्यवस्था गरेको पाइन्छ । तर, शिक्षा निःशुल्क भने अझै पनि पूर्ण रूपमा हुन सकेको पाइँदैन । शिक्षक व्यवस्थापनका सम्बन्धमा पनि लगानी तथा कार्यक्रम आए, तर व्यवस्थित हुन सकेनन् । प्रत्येक वर्षको शैक्षिक सत्र आरम्भ हुनुअगावै पाठ्यपुस्तक समयमै विद्यालयसम्म पुर्याउने कटिबद्धता जनाइँदै आएको पाइन्छ । तर, व्यवहारमा शैक्षिक सत्र आधा बित्दा पनि पाठ्यपुस्तक विद्यालयमा नपुगेको गुनासो सुन्नुपर्छ । यसरी विद्यालयका भौतिक तथा शैक्षिक योजनाले सुव्यवस्थित रूपमा काम गर्न नसकेपछि देशको शिक्षामा गुणात्मक सुधार कसरी होला र ?
(शिक्षाविद् गौतम नेपाल सरकारका पूर्वउपसचिव हुन्)