सिकाउनेले सिक्नेलाई सिकेका कुरा व्यवहारमा प्रयोग गर्न लगाउन सके मात्र सिकाइ सार्थक हुन्छ । अनि मात्र त्यस्तो सिकाइलाई प्रभावकारी मान्न सकिन्छ । सिकाइमा जति सिकारु जागरुक हुन्छ त्यति नै बढी जान्ने र बुझ्ने हुन्छ । सिकाइलाई प्रभावकारी बनाउन जति–जति नयाँ प्रविधि र विधि प्रयोग गरिन्छ, त्यति नै सिकारुमा सिक्ने इच्छा र चासो बढ्छ । आजको सिकाइ प्रक्रिया विद्यार्थीकेन्द्रित हुनुपर्छ भन्ने नै हो । शिक्षकको भूमिका सहयोगी तथा सहजकर्ता मात्रमा सीमित हुनुपर्छ । सिकाइ त्यतिखेर प्रभावकारी मानिन्छ, जब विद्यार्थीमा सकारात्मक सोच र उपयुक्त सीपको विकास हुन्छ । विद्यार्थीलाई उत्तरदायी बनाउने अवधारणले सामाजिक कौशल सिकाउँछ, जहाँ उसले व्यक्ति, परिवार, समुदाय समाज, देश र विश्वका सम्बन्धमा सचेतना बढ्छ । यसले, विद्यार्थीलाई अनुशासनमा बस्न सिकाउँछ । यो एउटा सामाजिक सीप हो, जसले सामाजिक प्राणीका नाताले समाजमा मिलेर बस्न सहयोग पुर्याउँछ ।
सामाजिक र भावनात्मक दक्षताले केटाकेटीको ज्ञान निर्माण र सीप सिकाइको वातावरण बन्छ । विद्यार्थी पढ्ने कक्षाकोठाको वातावरण विद्यार्थीमैत्री हुनु जरुरी छ । अनि मात्र त्यहाँ विद्यार्थीको ज्ञान निर्माण र सीप सिक्ने प्रक्रियालाई अभिवृद्धि गर्न सकिन्छ । यसका लागि शिक्षकको प्रमुख भूमिका हुन्छ । सिकाउने र सिक्नेबीच सुमधुर सम्बन्ध हुनु जरुरी छ । शिक्षकले आफू साँच्चिकै शिक्षक बन्न विद्यार्थीलाई राम्रोसँग सिकाउन र आवश्यक सहयोग गर्न सक्नुपर्छ । प्रत्येक शिक्षकमा आफूलाई जागिरे मानसिकताबाट माथि उठाउने र आफूमा निहित ज्ञान, विवेक, बुद्धि बाँड्ने वा सिकाउने हुटहुटी हुनुपर्छ ।
हाम्रा विद्यालयमा शिक्षकहरू बालबालिकाका सिकाइसम्बन्धी कुराभन्दा आफ्नो घर, परिवार र राजनीतिका कुरा गरेर समय बिताउँछन् । यसले गर्दा शिक्षकले न आफ्नो ज्ञान र क्षमतामा सुधार ल्याउन सक्छ न केटाकेटीको क्षमता र सिर्जनशीलता बढाउनमा मद्दत पुर्याउनै सक्छ । नैतिक मूल्य–मान्यता र इमान्दारितामा ह्रास आइरहेको आजको समाजमा शिक्षकले केटाकेटीको कलिलो मनमै यी विषयलाई ध्यान दिएर सकारात्मक रूपमा बीजारोपण गरिदिएमा भावी पिँढीमा मूल्य–मान्यताको सकारात्मक सोच अभिवृद्धि हुन सक्छ । शिक्षकले राम्रो सिकाउन सकेमा सक्षम स्वावलम्बी नागरिक निर्माण हुन सक्छ । यसर्थ, शिक्षकले आफ्नो कर्म निभाएको खण्डमा देशले असल नागरिक पाउन सक्छ । शिक्षकको भलो पनि समाजको उन्नतिमै निर्भर हुने हो ।
हाम्रा शिक्षकहरू पाठ्यपुस्तकमा आधारित भएर शिक्षण कार्य गर्छन् । पुस्तकको पाठ पढेर सुनाउने र त्यही पुस्तकबाट गृहकार्य दिने गर्छन् । तल्ला कक्षाका धेरैजसो शिक्षकले त झनै आफूले बोलेर सिकाउने होइन, विद्यार्थीलाई अगाडि बोलाएर पढ्न लगाउँछन् । शिक्षक चुपचाप सुनिरहन्छन् । शिक्षकले समयमै कक्षामा पुग्नुपर्छ । आफूले सिकाउने पाठ पाठ्यक्रममा आधारित भई पाठयोजना तयार पारी आवश्यक चित्र वा अन्य सन्दर्भ सामग्रीसमेत जुटाउन सक्नुपर्छ । आफूले पाठ पढाइसकेपछि विद्यार्थीले के सिके ? कस्तो सन्देश बुझे भन्नेबारे बुझ्नु जरुरी हुन्छ । विद्यार्थीको बुझाइ, त्यसले तिनमा परेको प्रभाव र तिनको सिकाइबारे शिक्षकले जानकारी हासिल गर्नु जरुरी छ ।
कक्षाकोठामा रहेका केटाकेटी एउटा समुदाय, एउटै संस्कृति, एउटै परिवेश वा एउटै स्तरका नभई विभिन्न परिवेशबाट आएका हुन्छन् । तिनमा शिक्षकले सिकाएका कुरा ग्रहण गर्ने क्षमता पनि फरक–फरक हुन्छ । शिक्षकले यस सम्बन्धमा गहिरो अध्ययन गरी तदनुरूप सिकाइ विधि र प्रविधि प्रयोग गरी शैक्षणिक कार्यलाई अघि बढाउनुपर्छ । तर, हाम्रा शिक्षकले शिक्षण सिकाइमा प्रवचन विधिको प्रयोग गर्छन्, जुन विधि सान्दर्भिक ठानिँदैन । कमजोर र जान्ने विद्यार्थीलाई कसरी समान रूपले प्रोत्साहित गर्ने र उनीहरूको सिकाइ क्षमता बढाउने भन्नेमा शिक्षक बढी नै चिन्तनशील हुनु जरुरी छ । शिक्षकले हरेक विद्यार्थी र उसको क्षमतालाई चिन्नुपर्छ । तिनको रुचि पत्ता लगाउने कोसिस गर्नुपर्छ । तिनको सीप क्षमता, इच्छा आकांक्षा आदि यावत् पक्षको अध्ययन गरेर मात्र शिक्षकले विद्यार्थीको सिकाइमा सुधार ल्याउन सक्छ ।
विद्यार्थीलाई स्नेह गर्ने, तिनलाई नयाँ–नयाँ कुरा सिकाउने र तिनको दिमागलाई सिर्जनाले भर्ने शिक्षकप्रति विद्यार्थीमा स्वाभाविक रूपले आदरभाव जाग्छ । विद्यार्थीलाई माया नगर्ने र राम्रो शिक्षण सिकाइप्रति ध्यान नदिने शिक्षकलाई विद्यार्थीले मन पराउँनदैनन् । विद्यार्थी विद्यालयमा ज्ञान र सीप सिक्न आएका हुन्छन् । शिक्षकप्रति उनीहरूको बढी नै विश्वास हुन्छ । विद्यार्थीको चञ्चले स्वभाव र जिज्ञासुपनप्रति बेवास्ता गर्ने शिक्षक राम्रो मानिँदैन । उसलाई विद्यार्थीले टेर्दैनन् । विद्यार्थीले कक्षाकोठामा किन हल्ला गर्छन् ? विद्यार्थी कक्षामा किन नियमित आउँदैनन् ? विद्यार्थी किन
पढ्नमा रुचि राख्दैनन् ?
विद्यार्थीले पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तक पढ्नुलाई समयको बर्बादी ठान्ने सोच अझै पनि कैयौँ शिक्षक तथा अभिभावकमा देखिनु चिन्ताको विषय हो
यी प्रश्नमा शिक्षकले गम्भीरतापूर्वक मनन गरेको हुनुपर्छ । शिक्षकले सम्झाउने, बुझाउने र फकाउने पनि गर्नुपर्छ । तर, प्रायः हाम्रा शिक्षक हप्काएर, पिटेर वा अरूसामु बेइज्जत गरेर विद्यार्थीलाई काबुमा ल्याउने कोसिस गर्छन् । यो सरासर गलत तरिका हो । बालमनोविज्ञानका आधारमा केटाकेटीमाथि व्यवहार गरिनुपर्छ । हरेक शिक्षक विद्यार्थीमैत्री हुनु जरुरी छ । विद्यार्थीभित्रको मनोवैज्ञानिक त्रास र कमजोरीलाई शिक्षकले बुझ्नु जरुरी छ, तर सार्वजनिक रूपमा सबैसामु भन्नुभन्दा छुट्टै बोलाएर सम्झाउँदा प्रभावकारी हुन्छ । बरु राम्रो गर्ने विद्यार्थीलाई सार्वजनिक रूपमा तारिफ गर्दा उत्साह बढ्छ । सिकाइलाई प्रभावकारी बनाउन शिक्षक र विद्यार्थीबीच समन्वय र एकता पनि जरुरी छ ।
शिक्षण सिकाइका क्रममा शिक्षकले आफ्ना अनुभव र आफूसँग भएको ज्ञान मात्र विद्यार्थीलाई बताउने र विद्यार्थीका कुरा सुन्न नखोज्ने प्रवृत्तिले सिकाइ क्रियाकलाप प्रभावकारी बन्न सक्तैन । कक्षाकोठामा शिक्षक आफू सक्रिय बन्ने होइन, विद्यार्थीलाई सक्रिय बनाउनुपर्छ । शिक्षकले विद्यार्थीलाई तिनका समस्या राख्न हौसला दिई विश्वासको वातावरण बनाइदिनुपर्छ । उसका अन्तर्निहित समस्याबारे उसैबाट खोजेर समाधान पहिल्याउने बाटो रोज्ने र शिक्षकले आफूलाई सहजकर्ता र साथीका रूपमा उभ्याएर शिक्षण सिकाइ गर्न सकेमा हरेक समस्याको प्रभावकारी समाधान हुन सक्छ । शिक्षण सिकाइमा शिक्षकले पाठैपिच्छेका प्रश्नको उत्तर आफैँले दिने र ती उत्तर घोक्न लगाउने परम्परा अझै विद्यमान छ । यसरी शिक्षकले समाधान गरेर सार्न लगाउने प्रवृत्तिले पनि विद्यार्थीको प्रतिभा प्रस्फुटनमा प्रतिकूल असर पुर्याइरहेको हुन्छ । विद्यार्थी स्वयंलाई समस्या समाधानमा उत्पे्ररित गर्न नसकेसम्म तिनको मनोबल उच्च बन्न सक्तैन ।
शिक्षण सिकाइको मियो शिक्षक नै हो । उसले बालबालिकाको चाहना बुझी मानसिक अवस्थाको समेत विचार गरी दैनिक पठनपाठन कार्यलाई प्रभावकारी बनाउन सक्छ । शिक्षकले विद्यार्थीमा भएको ज्ञान प्रस्फुटन गराउने वातावरण निर्माण गर्नमा मद्दत गर्नुपर्छ । बालबालिकामा कुनै किसिमको मानसिक तनाव दिइनुहुँदैन । अहिले हिंसारहित शिक्षणका नाममा लट्ठी, छडी वा हातले दण्ड दिने कार्य नभए पनि मानसिक हिंसा भने अझै रोकिएको छैन । बालबालिकाका लागि मनोपरामर्शको पनि व्यवस्था हुनु जरुरी छ ।
विद्यालयमा शिक्षण सिकाइ क्रियाकलापअन्तर्गत कतै बालबालिकाविरुद्ध हुने शारीरिक तथा मनोवैज्ञानिक सजाय संवेदनशील विषय हो । कतिपय अभिभावक तथा शिक्षकले विद्यार्थीलाई सजाय दिँदा उनीहरूको बानी व्यवहारमा सुधार आउँछ भन्ने भ्रम पालेका छन् । हाम्रा अभिभावक पनि आफ्ना बालबालिकालाई सजाय दिन हौस्याउँछन् । केटाकेटीको व्यवहारलाई नियन्त्रण गर्न दण्ड नदिँदा उनीहरू झनै बिग्रिने उनीहरूको बुझाइ हुन्छ । तर, दण्डले बालबालिकाको मनोबल कमजोर हुनुका साथै मानसिक तथा शारीरिक रूपमा समेत दुर्बल हुन पुग्छन् । संयुक्त राष्ट्र संघले सन् १९८५ मा बाल अधिकार महासन्धि पारित गरेको छ । यस सन्धिले बालबालिकाको संरक्षण र अधिकार सुनिश्चित गरेको छ । अहिले बालबालिकालाई दिइने कुनै पनि सजाय दण्डनीय छ । संसारका अधिकांश मुल्ुकमा बालबालिकामाथि विद्यालयमा दिइने शारीरिक दण्ड प्रतिबन्धित छ ।
बालबालिकाको शिक्षण सिकाइ क्रियाकलापमा बालमनोविज्ञानअनुसारको बालमैत्री वातावरण चाहिन्छ । बालबालिकालाई रुचिअनुसार पढ्न, बुझेर पढ्न र जति आउँछ त्यति नै परीक्षामा लेख्न लगाउनु एउटा असल शिक्षकमा हुनुपर्ने गुण हो । अहिले पनि विद्यार्थीहरू विषयवस्तु बुझ्नतिर होइन, बढीभन्दा बढी घोकेर कण्ठ पार्नतिर लाग्छन् । नाम चलेका विद्यालयले साप्ताहिक, मासिक, युनिट टेस्ट लिन्छन् र त्यसको रिपोर्ट अभिभावकसमक्ष विद्यार्थीमार्फत जानकारी गराउँछन् । त्यस्तो रिपोर्टमा विद्यार्थीको आचरण र व्यवहारसमेत उल्लेख गरिएको पाइन्छ । तर, ती विद्यालयले पनि बालबालिकाको सिर्जनात्मकतातर्फ ध्यान पुर्याएको देखिँदैन । पुस्तकालयबाट किताब ल्याएर पढेको, नयाँनयाँ पुस्तक पढ्न रुचि लिएजस्तो विषयमा कहीँ उल्लेख गरिँदैन । विद्यार्थीले पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तक पढ्नुलाई समयको बर्बादी ठान्ने सोच अझै पनि कैयौँ शिक्षक तथा अभिभावकमा देखिनु चिन्ताको विषय हो ।
शिक्षण सिकाइ विधिमा सुधार गरेर बाल्यकालदेखि नै पढ्ने इच्छा जगाउनु जरुरी छ । आजको शिक्षा व्यवस्थाले विद्यार्थीलाई परीक्षामुखी मात्र बनाएको छ । उनीहरू नयाँ खोजी र नयाँ पुस्तक पढ्ने चासो राख्दैनन् । पठन संस्कृतिप्रति कसैमा चासो देखिन्न । तर, यस्तो संस्कृति विद्यार्थीको सर्वांगीण विकासका लागि अति जरुरी छ भन्ने तथ्यलाई सबैले मनन गर्न ढिलो गर्नुहुँदैन ।
शिक्षण सिकाइ प्रक्रिया व्यक्तिपिच्छे फरक हुन सक्छ । उसमा सिक्ने समय र क्षमता पनि भिन्न हुन्छ । बालबालिकाको इच्छा र चाहनामुताबिक सिक्न दिए मात्र केटाकेटीको सिकाइ क्षमता दिगो र प्रभावकारी बन्न सक्छ । हरेक विद्यार्थीले उसको इच्छा र क्षमतामुताबिक सिक्ने अवसर पाउनुपर्छ । यसमा तिनको स्तर र क्षमताअनुसारको सिकाइ विधि र प्रविधिलाई अघि बढाउनुपर्छ । आज विज्ञान र प्रविधिले ठूलो फड्को मारेको समयमा पनि हाम्रो शिक्षण सिकाइको विधि र प्रविधिमा भने खासै सुधार र परिवर्तन नआउनु चिन्ताको विषय हो । (गौतम शिक्षाविद् हुन्)