निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २४ मंगलबार
  • Tuesday, 09 August, 2022
रमेशप्रसाद गौतम
२०७८ माघ १३ बिहीबार ०६:५९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कोरोना महामारी र अस्तव्यस्त पठनपाठन

Read Time : > 2 मिनेट
रमेशप्रसाद गौतम
२०७८ माघ १३ बिहीबार ०६:५९:००

केही अगाडिसम्म विद्यार्थीको सिकाइ क्रियाकलापले निरन्तरता पाउने अपेक्षा गरिएकोमा अहिले ओमिक्रोन फैलिन थालेपछि सरकारले पुस अन्तिम सातादेखि सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । विगत तीन वर्षको अनुभवले भरपर्दो वैकल्पिक विधि र उपायको खोजी हुनुपथ्र्यो, त्यो हुन सकेन । खालि जोखिमलाई ध्यानै नदिई देशभरका विद्यालय बन्द गर्ने अपरिपक्व निर्णयले विद्यार्थीको सिकाइ क्रियाकलापमा बाधा मात्र उत्पन्न गराएको छ । कोरोना महामारीका कारण झन्डै तीन वर्षदेखि सानो–ठूलो लकडाउनले विश्वभरका शिक्षण संस्था प्रभावित भएका छन्।

आमनागरिक निषेधाज्ञा या लकडाउन भोग्न बाध्य भए । बालबालिका विद्यालय जान पाएनन् । सर्वसाधारणमा कोभिड–१९ को आतंकै चल्यो । अझै पनि कोरोनाको त्यत्तिकै भय छ । कोभिडकै कारण वैशाखदेखि सुरु हुनुपर्ने शैक्षिक सत्र असारदेखि सुरु गरियो । अहिले ओमिक्रोनका कारण फेरि पठनपाठनमा अवरोध आएको छ । 

संक्रमण तीव्र गतिमा फैलिए पनि पूर्ण लकडाउनको परिस्थिति भने देखिँदैन । रेस्टुरेन्ट, होटल, पार्टी प्यालेसलगायत सबैजसो क्षेत्र खुलेकै छन् । कोराना संक्रमणबाट मृत्युदर घटे पनि यसको जोखिम भने यथावत् नै देखिन्छ । हाम्रा १८ वर्षमुनिका बालबालिकाले पहिलो चरणको खोप पाए पनि १२ वर्षमुनिका बालबालिकाका लागि खोप बनेकै छैन । त्यसैले उनीहरू थप जोखिममा छन् । जोखिमबाट बच्न मास्क लगाउने, स्यनिटाइजर प्रयोग गरिरहने, वेलावेलामा साबुनपानीले हात धोइरहने बानीलाई निरन्तरता दिनु जरुरी छ ।

शैक्षिक क्षेत्रको पठनपाठन त यसै पनि सम्भव हुने स्थानहरूमा अनलाइनमार्फत नै सुरु भइसकेको छ । अब सार्वजनिक स्थानमा हुने भिडभाड कम गर्नेतर्फ राज्य तथा सर्वसाधारणको ध्यान जानु जरुरी छ ।कोरोनाबाट बच्न सावधानी अपनाउनु जरुरी छ । यसको निदान भनेको खोप नै हो । सम्पूर्ण बालबालिकालगायत सबै नागरिकसम्म खोप पुर्‍याउन सके यसको संक्रमणबाट आत्तिनुपर्ने अवस्था हट्न सक्छ । 

बालबालिकालाई घरमै मात्र बन्द राखिरहनु राम्रो हुँदैन । तर, कोरोना महामारी रहुन्जेल सजग र सचेत रहनुपर्नेमा भने दुईमत हुन सक्दैन । केटाकेटीलाई साथीभाइसँग हाँसखेल गर्नबाट सधैँ रोक्न सकिन्न । त्यसैले पनि कम्तीमा पनि १२ वर्ष उमेरमाथिका सबै बालबालिकालाई खोप उपलब्ध गराउनुपर्छ । कोभिडका कारण हाम्रा विद्यार्थीले कक्षाकोठामा गएर पढ्न पाइरहेका छैनन् । विद्यालयस्तरका ८१ लाख र विश्वविद्यालय तहका लगभग पाँच लाखभन्दा बढी विद्यार्थी पुनः एकपटक भौतिक पठनपाठनबाट वञ्चित भएका छन् । केही प्रतिशतले अनलाइनमार्फत पढ्न पाएका भए पनि ठूलो संख्या इन्टरनेटको पहुँचबाहिरै छन् । यसतर्फ राज्यको ध्यान जान सकेन भने हाम्रो शैक्षिक क्षेत्र तहसनहस हुनेमा शंका छैन ।

यतिखेर सहरबजारका बालबालिकाले घरैमा बसेर सुरक्षित तरिकाले अनलाइनमार्फत पढिरहेका होलान् । तर, सामुदायिक विद्यालयका अधिकांश विपन्न वर्गका बालबालिकाको पढाइ अस्तव्यस्त छ । यसले गर्दा केटाकेटीमा निराशा व्याप्त छ । यही स्थिति बढ्दै गए बालबालिकामा मानसिक तनाव र बेचैनी बढ्दै जानेछ । 
अहिले विश्वभर कोरोना महामारी बढिरहेको छ । यसका कारण बालबालिका मात्र होइन, युवायुवतीदेखि वृद्धवृद्धासम्म सबैमा मानसिक पीडा र चिन्ता बढिरहेका खबर सुन्नमा आइरहेका छन् ।

सहरबजारका बालबालिकाले घरैमा बसेर सुरक्षित तरिकाले अनलाइनमार्फत पढिरहेका भए पनि सामुदायिक विद्यालयका अधिकांश विपन्नवर्गका बालबालिकाको पढाइ अस्तव्यस्त छ

अहिले मानसिक तनावबाट उन्पन्न पीडाले डिप्रेसनमा पुगी आत्महत्या गर्नेको संख्यासमेत बढेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष १० लाख मानिसले आत्महत्या गर्छन् । नेपालमा पनि आत्महत्या गर्नेको संख्या बढिरहेको सुनिन्छ । अहिले कोभिड महामारीले बढाएको बेरोजगारी स्वास्थ्य समस्या आर्थिक अभावजस्ता जटिल समस्याले आगामी दिनमा अझै  मानिसहरूमा तनाव बढ्ने र आत्महत्या गर्नेको संख्या पनि थपिने चुनौती देखिन्छ । गरिबी, अभाव र विभेदले थिचिएकाहरू मुस्किलले बाँच्न बाध्य छन् । 

यस किसिमको संकटले आधारभूत विद्यालय तहका विद्यार्थीमा बढी असर परिरहेको छ । यसले शिक्षा क्षेत्रमा ठूलो हलचल ल्याएको छ । समाधानका लागि के गर्ने, कसरी गर्ने र सहज कसरी बनाउने भनेर गम्भीरतापूर्वक सरोकारवाला पक्षले विचार पुर्‍याउनु जरुरी छ । अझै पनि यस जटिल परिस्थितिमा अभिभावक, शिक्षक र स्थानीय सरकार सक्रिय देखिँदैनन् । संघीय सरकारले विद्यालय सञ्चालनसम्बन्धी ढाँचा २०७७ जारी गरे पनि कार्यान्वयन फितलो भएबाट प्रभावकारी बन्न सकेन । यसका केही महत्वपूर्ण सूचकमध्ये न्यूनतम भौतिक दूरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र हात धुनेजस्ता सरल उपायको पनि राम्रोसँग पालना हुन सकिरहेको छैन ।

दैनिक पठनपाठनको सवालमा संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयका बालबालिका बढी मारमा परेका छन् । अझ दुर्गम पहाड गाउँ र देहातका बालबालिकाको पढाइ अस्तव्यस्त छ । यहाँ विद्यार्थीहरू त्यसै पनि पठनपाठनमा कमजोर छन् । यिनमा भाषिक र गणितीय सीपसमेत कमजोर छ । त्यसमाथि लामो समय विद्यालयमा उपस्थित हुन नपाउनु र शिक्षकसँग प्रत्यक्ष सिक्ने अवसरबाट वञ्चित हुनुले झनै तिनलाई कमजोर बनाउने निश्चित छ ।
(गौतम शिक्षाविद् हुन्)