मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १७ बिहीबार
  • Wednesday, 18 December, 2024
श्रवण थापा सर्लाही
२o७८ चैत १७ बिहीबार १७:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

क्रेनको ठक्करबाट एक छात्राको मृत्यु, आक्रोशित स्थानीयद्वारा क्रेनमा आगजनी

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७८ चैत १७ बिहीबार १७:३३:oo

सर्लाहीको बागमती नगरपालिकास्थित राजघाटमा क्रेनको ठक्करबाट एक छात्राको मृत्यु भएको छ । बागमती नगरपालिका–७, राजघाटस्थित नेमी चोकनजिकै साइकलमा विद्यालय जाँदै गरेकी छात्रालाई क्रेनले ठक्कर दिएको हो । क्रेनको ठक्करबाट १७ वर्षीया छात्रा सुमित्रा परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकोे छ। मृतक छात्रा नव जनजागरण माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले जनाएको छ । 

घटना भएलगत्तै आक्रोशित स्थानीयको भिडले क्रेनमा तोडफोड र आगजनी गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरेको प्रहरीमाथि समेत उनीहरूले ढुंगामुढा गरेका छन् । स्थानीयको ढुंगामुढाबाट इलाका प्रहरी कार्यलय बरहथवामा कार्यरत प्रहरी निरीक्षक नरेन्द्र मरवैतासहित ४ जना प्रहरी घाइते भएका छन्। अहिले स्थिति नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यलय बरहथवाका डिएसपी उमाशंकरप्रसाद यादवले जानकारी दिए । आगजनीबाट क्रेनको अधिकांश भाग जलेको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार मृतक सुमित्रा र उनकी भाउजू पनि साइकलमा सवार रहेका थिए । 

क्रेनको ठक्करबाट सुमित्राको टाउकोमा सामान्य चोट लागेको अवस्थामा चालकले पुनः अर्काेपटक पनि ठक्कर दिएपछि उनको मृत्यु भएको स्थानीयको आरोप छ। दिउँसो केहीबेर नव जनजागरण माध्यामिक विद्यालयका विद्यार्थीहरू घटनास्थलमा जम्मा भएर नाराजुलुस गरेका थिए। उनीहरूले आगो नियन्त्रणका लागि पुगेकाे हरिवन नगरपालिकाको दमकल पनि फर्काइदिएका थिए । आक्रोशित स्थानीयले मृतकको शव घटनास्थलबाट उठाउन दिएका छैनन् । 

परियारलाई साइकलमा विद्यालय जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको क्रेनले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त क्रेन केही दिनयता गाउँमा विद्युत् पोल गाड्ने, उखेल्ने काममा प्रयोग हुँदै आइरहेको थियो । घटनालगतै प्रहरीले क्रेनका चालकसहित क्रेनमा सवार तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।