१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १६ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत १६ बुधबार o७:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

दोहोरो अंकले घट्यो नेप्से : कारोबार रकम चार महिनायताकै कम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत १६ बुधबार o७:५९:oo

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १४ दशमलव २६ अंकले घटेर दुई हजार पाँच सय २७ दशमलव ५८ बिन्दुमा आइपुगेको छ । नेप्से सूचकमा आएको निरन्तर गिरावटले लगानीकर्ता निकै सुस्त बन्न पुग्दा कारोबार रकम पनि चार महिनायताकै सबैभन्दा कम भएको छ । यसअघि २८ मंसिरमा नेप्से सूचक दुई हजार चार सय सयको बिन्दुमा रहँदा एक अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको थियो । यस दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २५ कम्पनीको ३८ लाख ९० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको छ ।

बजार निकै शिथिल भएकाले लगानीकर्ता बजार प्रवेश गर्न चाहेका छैनन् भने सस्तो मूल्यमा सेयर बेच्न पनि हतारिएका छैनन् । बैंकमा देखिएको तरलताको अवस्था कायमै रहेकाले पनि बजारमा सुधार आउन सकेको देखिँदैन । बिस्तारै कम्पनीहरूको तेस्रो त्रैमासिक वित्तीय विवरणहरू पनि आउन थाल्नेछन् । यसले बजारलाई सकारात्मक बनाउन सक्नेमा लगानीकर्ता आशावादी देखिएका छन् । तर, अहिले बजारको मुभमेन्ट स्पष्ट हुन नसक्दा बजारमा निरन्तर गिरावट आइरहेको लगानीकर्ता बताउँछन् ।

मंगलबार शिवम् सिमेन्ट, ग्लोबल आइएमई लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्टिलरी लिमिटेडको सेयर पाँच करोड रुपैयाँदेखि सात करोड रुपैयाँको कारोबार भएको छ । यी कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको हो । यस दिन यी कम्पनीहरूको सेयर मूल्यमा आएको गिरावटसँगै लगानीकर्ताले सेयर खरिद–बिक्री बढाएका छन् ।

तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
दोहोरो अंकले नेप्से घटे पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । इमर्जिङ नेपाल, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २ प्रतिशतदेखि ४ प्रतिशतले बढेको छ ।

यस दिन ५१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ३१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । नबिल समृद्ध फन्ड, मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३ प्रतिशतदेखि ४ प्रतिशतमाथिले घटेको छ ।
त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स दुई दशमलव १५ अंकले घटेर चार सय ७१ दशमलव ९३ बिन्दुमा आइपुगेको छ । यस दिन कारोबारमा आएका १३ वटा समूहका सूचकमध्ये होटेल तथा पर्यटन समूहका सूचक सामान्य बढेका छन् । ११ वटा समूहका सूचक घटेका छन् । जीवन बिमा समूहको सबैभन्दा धेरै १ दशमलव ५२ प्रतिशतले घट्दा अन्य समूहको सूचक सामान्य घट्न पुगेको छ । 

ad
ad
ad
ad