परम्परागत रूपमा खेती गरिँदै आएको रैथाने धानको उत्पादन नेपालमा करिब शून्यकै अवस्थामा पुगेको छ । उन्नत र हाइब्रिड धान उत्पादनमा किसानहरूको आकर्षण बढ्न थालेपछि पुराना रैथाने धानहरू लोपोन्मुख अवस्थामा पुगेको राष्ट्रिय बाली तथा आनुवंशिक केन्द्र (नार्क)ले जानकारी दिएको छ ।
नार्कका अनुसार सठिया, करियाकामोड हरिनकेयर, कालानमक, मालभोग, जोरायल बासमती, कालो नुनिया, दूधराज, हंसराज, हात्तीजुलन, कन्जिरा, कस्तुरी, लल्का बासमती, गाजले गुर्दी, दूधराज बलामसारलगायतका धानहरू लोपोन्मुख अवस्थामा पुगेका छन् । यी जातका धानहरू अहिले नेपालको कुनै पनि स्थानमा खेती हुने गरेको नपाइएको नार्कका धान अनुसन्धानविद् तथा धानबाली विशेषज्ञ डा. उज्ज्वलकुमार सिंह कुसलवाले बताए । उनले भने, ‘यी धानहरू उत्पादनसमेत हुँदैनन्, केही सीमित ठाउँमा लुकेर बसेको भए पनि यसको उत्पादन शून्यजस्तै छ, नार्कमा मात्र नमुनाका लागि राखिएको छ ।’
रैथाने धानमा किरा लाग्ने, उत्पादन कम हुने भएपछि हाइब्रिड धानप्रति किसानहरू आकर्षित हुन थालेको कुसलवा बताउँछन् । विगतमा रैथाने पुराना धानहरू हिमाल, पहाड र तराई तीनै क्षेत्रमा लगाउँदै आइए पनि पछिल्लो १०–१५ वर्षदेखि लोपोन्मुख बन्न थालेका हुन् । ‘यस्ता पुराना रैथाने धानहरू केही नमुनाका रूपमा नार्कमा छन्, तर सम्पूर्ण रूपमा लोप नै भएको छ,’ कुसलवाले भने ।
त्यस्तै, पश्चिम तराईमा उत्पादन हुँदै आएका गौरिया, आपसुक्ते, झिनुवा, रातो अनदी, थापाचिनी र स्यामजिरालगायतका स्थानीय जातका धानहरू पनि लोप हुने अवस्थामा पुगेको कुसलवाको भनाइ छ । सबैभन्दा धेरै धान उत्पादन हुने तराईमा अहिले भारतीय धानको बोलवाला हुन थालेको छ । ‘पुराना रैथाने धानहरूलाई बचाउन निकै गाह्रो भइसकेको छ, यी धानहरूबाट अर्को अनुवंशित गरी नयाँ उन्नतमा विकास नगर्ने हो भने हराएर जाने निश्चित छ,’ उनी भन्छन् ।
मध्य पहाडमा २८ प्रजातिका धान
मध्य पहाडको खेतीयोग्य जमिनमध्ये २४ दशमलव ३० प्रतिशत क्षेत्रमा धानखेती हुँदै आएको छ । सो क्षेत्रफलमा २८ जातका धानहरू उत्पादन हुने गरेको कुुसलवा बताउँछन् । हाल उत्पादन हुँदै आएका उन्नत जातका धानहरूमा खुमल ५, खुमल ६, खुमल ७, खुमल ९, ताइचुङ १७६, खुमल १०, खुमल ११, खुमल १३, खुमल १६, खुमल ३२ रहेका छन् । यी धानहरू विगत १०–१२ वर्षदेखि खेती हुँदै आएको छ । एउटा प्रजातिको धानको आयु १२ वर्षदेखि १५ वर्षसम्म हुन्छ । जति धेरै लामो समय हुन्छ, त्यति धेरै रोग लाग्ने र उत्पादनमा कमी आउने कुसवालको भनाइ छ ।
उच्च पहाडी क्षेत्रमा लगाइने धान
उच्च पहाडी क्षेत्रको ४ दशमलव ३० प्रतिशतमा धान उत्पादन हुने गर्छ । हाल उक्त क्षेत्रमा प्रचलित धानहरूमा चन्दननाथ १, चन्दननाथ ३, ताइचुङ १७६, ताइनुङ २४२, हिमाली, छोमरोङ, कञ्चन, ताइनान १, ताइनान २ अहिले प्रचलनमा छन् । यी धानहरू प्रतिहेक्टर ७ प्रतिटनसम्म उत्पादन हुने गर्छ । यी उन्नत जातका धानहरूलाई नार्कले अनुवंशित गरी सिफारिस गरेको हो ।
तराई क्षेत्रमा लगाइने धान
तराईका भूभागमा वर्षे र चैते धान गरी दुईपटक उत्पादन हुन्छ । हाल चैते धानहरूमा चैत २, चैत ४, चैत ६, हर्दिनाथ १, चैत ५, विन्देश्वरीजस्ता उन्नत जातका धानहरू चैतमा लगाइन्छ । विशेष गरी तराईमा वर्षे सिजनमा लगाइने धानअन्तर्गत सावित्री, मनसुली, जानकी, मकावानपुर १, राधा ७, राधाकृष्ण ९, राधा ४, राधा ११, राधा १२, रामपुर मनसुली, मिथिला, राम, वर्षे ३००४, सुनौली सुगन्धा, लल्का बासमती, हर्दिनाथ २, तरहरा १, सुक्खा १, सुक्खा २, सुक्खा ३, वर्षे २०१४, साँवा मसुली, सुक्खा धान ४, सुक्खा ५, सुक्खा धान ६, राधा १३, बहुगुणी १, बहुगुणी धान २, हर्दिनाथ ३ जस्ता उन्नत जातका धानहरू छन् ।पश्चिम तराईका अधिकांश जिल्लामा पर्याप्त सिँचाइको सुविधा नभएका कारण किसानले पानी बढी चाहिने बासमती र स्यामजिराजस्ता स्थानीय जातका धानखेती गर्न छाडेका छन् । त्यसको विकल्पमा सक्खा सहन सक्ने राधा ४, सुक्खा १ देखि सुक्खा ६ सम्मका उन्नत जातका धानखेती गर्न थालेका छन् ।
तराईमा हरायो घैया धान
चिउराका लागि तराई क्षेत्रमा निकै प्रचलित घैया धान लोप हुने अवस्थामा पुगेको छ । प्राकृतिक रोग र बढ्दो सहरीकरणले घैया धानप्रति किसानहरू आकर्षित हुन छाडेका छन् । विशेष गरी तराईमा घैया २ र घैया १ धान प्रचलित छन् । यी धानहरू पानी नभएको असिञ्चित ठाउँमा र मध्य पहाडका उपत्यका भेगहरूमा फल्ने गर्छन् । सरकारले घैया २ लाई ०४४ सालमा रिलिज गरेको थियो भने घैया १ लाई ०६६ सालमा रिलिज गरेको थियो । घैया धानमा पछिल्लो समय बाला नपर्ने, किरा लाग्नेजस्ता कारणले रोप्न छाड्दै आएको कौसवालले बताए ।
१२ किसिमका धान सूचीकृत लिस्टबाटै हटाइयो
नेपाल बाली तथा आनुवांशिक केन्द्र नार्कले २०२५ सालदेखि लगाउँदै आएको धानलाई बजारीकरण गर्न बन्द गरेको छ । केन्द्रले १२ वटा धानको जातिलाई हटाएको हो । ०२५ देखि ०४४ सालसम्म उत्पादन हुँदै आएका धानहरूका १२ प्रजातिलाई किसानले नरुचाउने, उत्पादन कमी, विभिन्न रोग, पानीको अभावलगायतका कारणले विस्थापित भएको अनुवंशिक केन्द्रकी प्रवक्ता पल्लबीकुमारी सिंहले बताइन् । ‘यी धानहरू किसानबाट माग आउन छाडेको र उत्पादन घटेसँगै संरक्षणका लागि मात्र जीन बैंक नार्कमा राखेका छौँ,’ उनले भनिन् । आइआर ८, आइआर २०, आइआर २२, आइआर २४, परावनीपुर १, जया, चन्दिना, दुर्गा लक्ष्मी, खजुरा २, मल्लिका, वर्षे २ धानहरू जिन बैंकमा मात्र रहेका छन् ।
१२ किसिमका धान सूचीकृत लिस्टबाटै हटाइयो
नेपाल बाली तथा आनुवांशिक केन्द्र नार्कले २०२५ सालदेखि लगाउँदै आएको धानलाई बजारीकरण गर्न बन्द गरेको छ । केन्द्रले १२ वटा धानको जातिलाई हटाएको हो । ०२५ देखि ०४४ सालसम्म उत्पादन हुँदै आएका धानहरूका १२ प्रजातिलाई किसानले नरुचाउने, उत्पादन कमी, विभिन्न रोग, पानीको अभावलगायतका कारणले विस्थापित भएको अनुवंशिक केन्द्रकी प्रवक्ता पल्लबीकुमारी सिंहले बताइन् । ‘यी धानहरू किसानबाट माग आउन छाडेको र उत्पादन घटेसँगै संरक्षणका लागि मात्र जीन बैंक नार्कमा राखेका छौँ,’ उनले भनिन् । आइआर ८, आइआर २०, आइआर २२, आइआर २४, परावनीपुर १, जया, चन्दिना, दुर्गा लक्ष्मी, खजुरा २, मल्लिका, वर्षे २ धानहरू जिन बैंकमा मात्र रहेका छन् ।