१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १५ मंगलबार
  • Wednesday, 03 July, 2024
तस्विर :  गोदावरी नगरपालिकाको निर्माणाधीन भवन
२o७८ चैत १५ मंगलबार १o:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उद्घाटन मोह : गोदावरीका मेयरले गरे निर्माण सम्पन्न नहुँदै भवन उद्घाटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १५ मंगलबार १o:२६:oo

कैलालीको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले निर्माण सम्पन्न नहुँदै नगरपालिका भवनको उद्घाटन गरेका छन् । निर्वाचन आचारसंहिता लागू भएपछि आफ्नो कार्यकालमा उद्घाटन गर्न नपाइने भएकाले उनले निर्माणाधीन अवस्थामै रहेको भवन हतारहतारमा सोमबार उद्घाटन गरेका हुन् । संघीय सरकारको क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माणाधीन उक्त भवन नगरपालिकालाई हस्तान्तरण नै भएको छैन । 

स्थानीय राजनीतिक दलको विरोधबीच मेयर साउदले आफ्नो कार्यकालमा भवन बनेको देखाउन हस्तान्तरण नभएको निर्माणाधीन भवन उद्घाटन गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलहरूले अधुरै भवन उद्घाटन गर्न लागिएको भन्दै विरोध जनाएपछि अवरोध नहोस् भनेर प्रहरीको कडा सुरक्षाबीच उद्घाटन कार्यक्रम गरिएको थियो । 

निजी गाडीमा भवनस्थल पुगेका मेयर साउदलाई उनको पार्टी एमालेका कार्यकर्ताले स्कर्टिङ गरेका थिए । उद्घाटन कार्यक्रममा नगरका कर्मचारी र एमालेका नेता–कार्यकर्ता मात्र सहभागी भए । उपमेयरसहित नगरका अर जनप्रतिनिधि सहभागी भएनन् । नगरपालिकालाई हस्तान्तरण नै नभएको र निर्माण भइरहेको भवन उद्घाटन रोक्न कांग्रेसले आइतबार मात्रै मेयरलाई ध्यानाकर्षणपत्र बुझाएको थियो । उद्घाटन कार्यक्रममा कालोझन्डा देखाएर विरोध जनाएका एक युवालाई एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।  

एसियाली विकास बैंकको ऋण सहयोगमा संघले गोदावरीमा लागू गरेको क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत ११ करोड ९२ लाख रुपैयाँको लागतमा शर्मा एन्ड कम्पनीले नगरपालिकाको भवन निर्माण गरिरहेको छ । आयोजना प्रमुख प्रवीण शाहले भवन निर्माणको काम अझै करिब १५ प्रतिशत बाँकी रहेको जानकारी दिए। रङरोगन गर्ने, टायल बिच्छ्याउने, पर्खाल लगाउनेलगायतका ‘फिनिसिङ’का कामहरू भइरहेका उनले बताए ।

गोदावरी नगरपालिकाले भवन उद्घाटन गर्न लागेको जानकारीसहित आइतबार क्षेत्रीय सहरी विकास आयोजना कार्यालयलाई इमेलमार्फत पत्र पठाएको थियो । ‘पत्र पाएपछि हामीले विभागमा पनि सोध्यौँ । काम पूरा नभएको र हस्तान्तरण नै नभएकाले उद्घाटन गर्न नमिल्ने लिखित जानकारी नगरपालिकालाई गराएका थियौँ ,’ आयोजना प्रमुख शाहले भने, ‘हामीलाई उद्घाटन भएको जानकारी छैन ।’

दुईतले उक्त भवन निर्माणका लागि ०७६ मंसिरमा सम्झौता भएको थियो । आयोजना कार्यालयका अनुसार भवनको निर्माण अवधि दुई महिना बाँकी छ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आचारसंहिता लागू गर्ने तयारी गरेपछि हतारहतार अधुरै भवन उद्घाटन गरिएको हो । आचारसंहिता लागू भएपछि उद्घाटन, शिलान्यासजस्ता कार्य गर्न पाइँदैन । 

६ दलको विरोध
निर्माणाधीन भवन उद्घाटन गरिएको भन्दै स्थानीय राजनीतिक दलहरूले विरोध जनाएका छन् । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल कम्युनिस्ट पार्टीका नगर कमिटीहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै निर्माणाधीन भवन उद्घाटन गरिएकोप्रति आपत्ति जनाएका हुन्।

नगरपालिकाकै लापरबाहीले भवन निर्माणमा ढिलो भएको विज्ञप्तिमा आरोप लगाइएको छ । निर्माण सम्पन्न भएपछि भवन पुनः उद्घाटन गर्ने ६ दलले जनाएका छन् । नगरपालिकाले भवन निर्माण गर्न गोदावरी नगरपालिका– २, तेघरीमा करिब १५ कट्ठा जमिन यसअघि नै खरिद गरेको थियो । आफ्नै भवन नहुँदा नगरपालिका कार्यालय अत्तरियाको धनगढी रोडमा निजी भवनमा भाडामा सञ्चालनमा रहेको छ । 

मिलेमतोमा ढिलाइ गरियो : मेयर साउद

मेयर साउदले भने नेपाली कांग्रेसको मिलेमतोमा भवन निर्माणमा ढिलाइ भइरहेको आरोप लगाए । काममा ढिलासुस्ती भएपछि उद्घाटन गरिएको उनले बताए । ‘अहिले स–सानो काम मात्र बाँकी छ, तर आयोजना कार्यालय र ठेकेदारले कांग्रेससँगको मिलेमतोमा बाँकी काम लम्ब्याइरहेको छ,’ साउदले भने, ‘अगाडि नै भवन हस्तान्तरण गरिनुपर्ने हो ।’ 
    


 

ad
ad
ad
ad