मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १५ मंगलबार
  • Wednesday, 18 December, 2024
२o७८ चैत १५ मंगलबार o६:२७:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७ प्रतिशत काम अझै बाँकी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १५ मंगलबार o६:२७:oo

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम  सात प्रतिशत अझै बाँकी रहेको छ । पर्यटकीय सहर पोखरालाई विश्वका अन्य देशसँग सीधा हवाईमार्गले जोड्ने उद्देश्यसहित चीनको ऋण सहयोगमा चार वर्षमा निर्माण सकाउने लक्ष्यसहित १ वैशाख ०७३ मा विमानस्थलको शिलान्यास गरिएको थियो । निर्माणको जिम्मा पनि चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले पाएको थियो ।

कम्पनीले १० जुलाई २०२१ मा निर्माण सकेर नेपाललाई हस्तान्तरण गर्नुपर्ने भए पनि कोरोनाका कारण एक वर्ष थप गरिएको थियो । तर, सम्पूर्ण निर्माण कार्य नसकिँदै नेपाल सरकारलाई विमानस्थलको चाबी हस्तान्तरण गरिएको छ । शुक्रबार नेपाल भ्रमणमा आएका चीनका परराष्ट्रमन्त्री वाङ यीले काठमाडाैंमा आयोजित कार्यक्रममा सांकेतिक चाबी हस्तान्तरण गरेका हुन् । त्यस्तै, पोखरामा आयोजित अर्को कार्यक्रममा पर्यटनमन्त्री प्रेमबहादुर आलेले चिनियाँ निर्माण कम्पनीलाई कदरपत्र पनि प्रदान गरिसकेका छन् । 

विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीका अनुसार ९३ प्रतिशत काम पूरा भएको छ । उनका अनुसार भौतिकतर्फको मुख्य संरचना निर्माण कार्य र यान्त्रिक जडानको सम्पूर्ण काम सकिएको छ । सांकेतिक रूपमा चाबी हस्तान्तरण गरिए पनि बाँकी रहेका कामहरू जारी रहने उनको भनाइ छ । 

विमानस्थलको मुख्य भवनसँगै १४ भवनहरूको निर्माण र सजावटको काम सकिएको छ । आन्तरिक र बाह्य टर्मिनल भवन, धावनमार्ग, एयर ट्राफिक कन्ट्रोल रुम, ट्याक्सी वे, पार्किङ तथा ड्रेन, हाई मास्ट फ्लड लाइट, ट्रान्सफर्मर बक्स, फुटफाथ, लिफ्ट, विमानस्थललाई राजमार्गसँग जोड्ने सडक, विमानस्थलभित्रका स्थानहरूलाई जोड्ने सडक, जहाज पार्किङ, एयर साइड र ल्यान्ड साइडका मुख्य कार्यहरू सम्पन्न भइसकेको मुनाकर्मीले बताए ।

निर्माण कम्पनीले निर्माणका लागि गरेको सम्झौताअनुरूप करिब–करिब सम्पूर्ण काम सकिए पनि विमानस्थल सञ्चालनका लागि केही कामहरू अझै बाँकी रहेको उनले जानकारी दिए । विमानस्थल निर्माणका लागि पोखराको छिनेडाँडामा ०३२ सालमा तीन हजार एक सय ६ रोपनी जग्गा र पछि थप करिब आठ सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो । 

 यी काम छन् बाँकी   
निर्माण पक्षले भौतिक र यान्त्रिकतर्फका सम्पूर्ण काम सम्पन्न गरे पनि नेपालका तर्फबाट गर्नुपर्ने कामहरू बाँकी छन् । विमानस्थलभित्र फ्युल स्टेसन निर्माणसँगै सिँचाइ पानीको व्यवस्थापन, विमानस्थलनजिकै रहेको ल्यान्डफिल साइट व्यवस्थापन र विमानस्थलको पूर्वपट्टिको रिठेपानी डाँडा कटानको काम सकिएको छैन । यी कामहरूका लागि प्रक्रिया अघि बढे पनि पूरा हुन सकेका छैनन् ।

डाँडा कटानका लागि मन्त्रिपरिषद्ले पूरक प्रतिवेदन पेस गर्ने र वनसँग सम्झौता गर्ने भनिएकोमा हाल पूरक प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस भइसकेको छ भने स्वीकृतिको अन्तिम चरणमा रहेको छ । सरकारले डाँडा कटानको अनुमति दिए पनि पूरक इआइए ढिला हुँदा काम हुन नसकेको मुनाकर्मीको भनाइ छ । विमान उडान र अवतरणका लागि डाँडा ४० प्रतिशत कटान गर्नुपर्नेमा हाल करिब १० प्रतिशत मात्र कटान गरिएको छ । 

विमानस्थलका विभिन्न स्थानमा भल पस्ने गरेकामा त्यसको व्यवस्थापनका लागि नालासमेत सम्पन्न भएको छैन । वर्षायाममा आउने भलपानी विमानस्थलभित्र खोला बगेजसरी बग्ने गर्छ । गत वर्ष भलका कारण रनवेको नजिकै पहिरोसमेत गएको थियो । यसको व्यवस्थापनका लागि एउटा खोला नै बग्न सक्ने खालको नहर तयार पारिसकिएको छ । निर्माणका लागि ३४ करोड लाग्ने नहरका लागि सिँचाइ डिभिजन कार्यालयले काम गर्ने उनले जानकारी दिए ।

विमानस्थलमा चाहिने हवाई इन्धनका लागि विमानस्थलभित्रै भण्डारण गर्ने व्यवस्था मिलाउन डिपो बनाउनुपर्ने भएकाले नेपाल आयल निगमसँग समन्वय भइरहेको मुनाकर्मीले बताए । डिपो निर्माण नभएसम्मका लागि पोखरा विमानस्थलबाट इन्धन ढुवानी गरेर पूर्ति गरिनेसमेत उनले बताए । पोखरा महानगरपालिकाले ल्यान्डफिल व्यवस्थापनको काम पनि सुरु गरेको छैन । विमानस्थलबाट करिब दुई किलोमिटर दूरीमा रहेको ल्यान्डफिल साइड सार्न भनिए पनि महानगरले कुनै काम सुरु गरेको छैन । ल्यान्डफिलमा आउने चराका कारण अपरेसन फ्लाइटका लागि बाधासँगै विमान उड्दा चराहरू ठोकिने सम्भावना रहेकाले हाल रहेको स्थानबाट ल्यान्डफिल हटाउनुपर्ने मुनाकर्मीको भनाइ छ ।