१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १४ सोमबार
  • Saturday, 28 September, 2024
२o७८ चैत १४ सोमबार १८:४१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनाव माओवादीका लागि ठूलो लडाइँ होः प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १४ सोमबार १८:४१:oo

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव अरूका लागि चुनाव मात्र भए पनि माओवादीका लागि ठूलो लडाइँ भएको बताएका छन्। 

सोमबार रोल्पाको लिवाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले क्रान्तिकारीका निम्ति चुनाव पनि ठूलो मोर्चा भएको बताए। ‘हामीले जित्दा संविधानले जित्छ, जनताले जित्छन्। हामीले हार्दा संविधानले हारेको हुन्छ, जनयुद्धले हारेको हुन्छ। त्यसकारण हाम्रो लागि यो ब्याटल हो। यो ब्याटल हामीले जित्नैपर्छ,’ उनले भने।

देशभरमा माओवादीले जितेको ठाउँ अब्बल
प्रचण्डले माओवादीले जितेका वडा तथा स्थानीय तह विकास र समृद्धिमा अब्बल रहेको दाबी गरे। अरूले जितेको क्षेत्रमा भ्रष्टाचार र बेइमानी हुने र माओवादीले जितेको क्षेत्रमा अब्बल काम हुने गरेको सरकारको वैधानिक निकायको प्रतिवेदनले देखाएको बताए। दशवर्षे जनयुद्धले एउटा ऐतिहासिक बिरासत निर्माण गरेको चर्चा गर्दै उनले भने, ‘अब शान्ति, विकास र समाजवाद निर्माणमा पनि अर्को इतिहास रचना गर्नुछ।’ रोल्पाले आफूलाई एकताबद्ध गरेर प्रतिक्रियावादीलाई असफल बनाउनुपर्ने बताए। 

लडाइँ अहिले पनि उस्तै
प्रचण्डले प्रतिक्रियावादीहरूसँगको लडाइँ अहिले पनि उस्तै भएको बताए। ‘अहिले पनि लडाइँ उस्तै छ। प्रतिक्रियावादीले हामीलाई घेरा हालेर सिध्याउन चाहन्छन्, हामी घेरा तोडेर विजयी हुन चाहन्छौँ,’ उनले भने, ‘यो कुरा रोल्पालगायत देशभरका जनताले पक्कै पनि बुझ्नुभएको छ।’ 

अहिले पनि हामीले संविधानसभाबाट बनाएको संविधानका राम्रा कुरा उल्ट्याउनको निम्ति षड्यन्त्र भइरहेको भन्दै उनले त्यसका विरुद्ध अन्तिमसम्म लडिरहने बताए। 

रोल्पा प्रतिक्रियावादीका लागि आतंक हो
दशवर्षे जनयुद्धका क्रममा रोल्पामा लामो समय बिताएका दाहालले रोल्पा प्रतिक्रियावादी, जाली फटाहाको निम्ति आतंक भएको र जनताको निम्ति भरोसाको केन्द्र भएको दाबी गरे। उनले रोल्पा सिंगै दह्रो उभिएको छ भन्ने सुनेपछि देशभरका प्रतिक्रियावादीहरूको मुटुमा ढ्यांग्रो ठोक्ने बताए। 

उनले आफू जाइनलाग्ने र आइलाग्नेमाथि इँटाका जवाफ पत्थरले दिने गरी रोल्पाले तयारी गर्नुपर्ने बताए। रोल्पामा आउँदा आफूलाई गर्वको अनुभूति भएको समेत प्रचण्डले बताए।