लोपाेन्मुख राडीपाखी पछिल्लो समय जुम्लामा आधुनिक हाते मेसिनबाट बुन्न थालेपछि यहाँका किसानलाई निकै सहज भएको छ। पहिले एक हप्तामा एउटा राडी वा पाखी बुन्दै आएका यहाँका उद्यमीले अहिले आधुनिक हाते मेसिनको प्रयोगले सहज रुपमा राडीपाखी बुन्न थालेका छन्। हातले राडीपाखी बुन्दै आएका तातोपानी गाउँपालिका–७ सर्मीगाउँका स्थानीय चन्द्रबहादुर कुवँर आधुनिक हाते मेसिनले राडीपाखी बुनेर आत्मनिर्भर बन्ने सपना बनाएका छन् ।
सर्मीगाउँका स्थानीयको मुख्य आम्दानीको स्रोत अहिले पनि भेडापालन नै हो। भेडाको ऊनबाट उनीहरुले विभिन्न राडीपाखी, स्वेटर, पाखेकोट, मफलर, लिउलगायतका घरेलु सामग्री बनाउने गरेका छन्। यी सबै सामग्री बुन्नक लागि पुरानो परम्पराको चाद प्रयोग हुँदै आएकोमा अहिले कृषकहरुले आधुनिक हाते मेसिन प्रयोग गर्न थालेका छन्।
कर्णाली प्रदेश सरकार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले कृषकहरुलाई आधुनिक हाते मेसिन उपलब्ध गराएको हो। एक राडीपाखी, लिउ र पाखेकोट बुन्न पहिले करिब एक हप्ता लाग्थ्यो। तर अहिले आधुनिक हाते मेसिन र सीप पाएपछि स्थानीयले निकै राहतको महशुस गरेका छन्। मेसिनबाट राडीपाखी बुन्ने सीप २१ जनाले सिकेका छन्। उनीहरुले प्रमाणपत्रसमेत लिइसकेका छन् । ‘मेसिनबाट राडीपाखी बुन्ने सीप पाउँदा निकै खुसी छौँ। यो कार्यले जीवन निर्वाह गर्ने सहज बाटो सिकाएको छ। राडीपाखी बुनेर आत्मनिर्भर हुन प्रेरित गरेको छ,’ स्थानीय कलाकोसे कुँवरले भनिन्, ‘अब पर्याप्त राडीपाखी बुनेर बजारसम्म लैजाने वातावरण बनाउँछौ।’
यहाँका स्थानीयलाई ऊन केलाउने, डोरी बाट्ने तथा राडीपाखी वुन्न दुई महिने तालिम दिइएको हो। पुरानै परम्परागत शैलीको सीपले बजार पाउन छाडेपछि उनीहरुलाई मेसिनबाट बुन्ने तालिम दिइएको हो। यो सीपले आत्मनिर्भर हुने आधार बनेको त छँदै छ, साथै चुलोचौको र घरायसी काममा व्यस्त देखिने महिलाको लागिसमेत जीवन उपयोगी बनेको छ। ‘यसबाट लाभान्वित हुनेछौँ,’ कुँवरले भनिन्, ‘सधैं भत्तामुखी र अनुदानमुखीको मानसिकता हटाउनु पर्दछ।’
प्रशिक्षक धनपति बुढा सीप लिनु र दिनु सजिलो नभएको बताउँछन्। ‘यसमा राज्यको ठूलो लगानी छ। अझै जुम्लामा कच्चा पदार्थको समस्या छ। राज्यको अर्थतन्त्र रित्ताउनु हुँदैन,’ उनले भने। हिमाली भेगमा भेडा पाल्नेका लागि यो सीप अनिवार्य भएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने बताउँछन्। अध्यक्ष न्यौपानले भने, ‘जबसम्म व्यवसायी बन्न सकिँदैन तबसम्म समृद्धि सम्भव हुँदैन। सीपको उपयोग गर्नु सबैको कर्तव्य हुन आउँछ।’
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले राज्यले गरेको लगानी खेर जान नदिन अपिल गरेका छन्। ‘सीपको उपयोग राम्रोसंग गर्नु पर्दछ। यस्तै थुप्रै अवसर आउने छन्,’ उनले भने, ‘तर अनुदानको मुख ताक्ने प्रवृत्तिले प्रगति हुँदैन। सीप सिकौँ उद्यमी बनौँ भन्ने मूल आशय हो।’
कार्यक्रम संयोजक रविन्द्र रावलले दिगो सीप आर्जन गर्नु तालिमको उद्देश्य रहेको बताए। ‘सधैंभरी सरकारको सहयोग हुँदैन। दिएर पनि सम्भव हुँदैन,’ उनले भने, ‘माछा मार्नु भन्दा माछा मार्ने जाल बुन्ने सीप सिकाइको छ। अब लाभदायक बनाउने तपाईंको हातमा छ।’