फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खा नेपाली बजारमा बिक्री सुरु गरेको छ । फोर्स मोटरको नेपालका लागि आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले गाडी बिक्री सुरु गरेको हो ।
आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुव थापाले यो गाडी नेपालको बाटोमा अन्त्यन्त उपयुक्त रहेको बताए । ‘ग्राउन्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’मा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको जी–वागनलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।
लामो र चौडा बनावट भएको गुर्खाको क्याबिन फराकिलो र आरामदायी रहेको कम्पनीको दाबी छ । यसमा चारैजना यात्रुका लागि क्याप्टेन सिटलगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं पाँच सय लिटरको बुट स्पेसको व्यवस्था रहेको जनाइएको छ ।
यो मर्सिडिज निर्मित २६ सय सिसी इन्जिन जडान भएको आफ्नो श्रेणीमा एक मात्र एक सय किलोमिटर प्रतिघन्टाभन्दा बढी गतिमा राजमार्गमा दौडन सक्ने कम्पनीको दाबी छ । यसले ३५ डिग्रीको उकालो चढ्न र सात सय मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्ने जनाइएको छ । त्यस्तै, यसमा रहेको एयर इन्टेक स्नोर्कल र चारैवटा पांग्र्रामा भएको लक पनि अन्यभन्दा विशेष प्रकारको रहेको कम्पनीले जनाएको छ ।
पाँचवटा विभिन्न रङहरूमा उपलब्ध गुर्खाको वारेन्टी तीन लाख किमि वा तीन वर्ष रहेको जनाइएको छ । साथै, ग्राहकहरूले चारपटकसम्म निःशुल्क सर्भिसिङ सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।