प्रमुख प्रतिपक्ष दल एमालेले स्थानीय निर्वाचनमा एक्लै लड्ने केन्द्रीय नीति भए पनि जिल्लामा भने तालमेलको ढोका खुला राख्ने भएको छ । आफ्नै शक्तिमा भर नहुनेले मात्र गठबन्धनको सहारा लिने प्रतिवेदन पारित गरेर पाँचदलीय गठबन्धनमाथि प्रहार गरेको एमालेले जिल्लामा भने आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरेको हो ।
बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले वामपन्थी दल माओवादी केन्द्र र एकीकृत समाजवादीबाहेक अन्य दलसँग स्थानीयस्तरमा तालमेलको ढोका खुला राख्ने निर्णय लिएको छ । जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र राप्रपासहित अन्य साना पार्टीसँग तालमेल गर्न एमाले तयार देखिएको छ । ‘सिद्धान्ततः एमाले तालमेल वा वाम एकताको विरोधी होइन । तर, अहिले वाम एकता वा तालमेलको नारा उठाएर पार्टी प्रवेशलाई रोक्ने, पार्टीलाई कमजोर बनाउने र पार्टीमा देखिएको जनलहरसहितको आकर्षणलाई कदापि प्रभावित पार्नुहुन्न भन्ने हाम्रो निष्कर्ष हो,’ बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘स्थानीय कमिटीले आवश्यकता महसुस गरेर माथिल्लो कमिटीको अनुमति लिएर तालमेल गर्न सक्छन्, तालमेलको ढोका बन्द गरेका छैनौँ ।’
एमालेले स्थानीय चुनावमा आफूविरुद्ध सत्तारूढ दलले गठबन्धन बनाए पनि पहिलो पार्टी बन्न सकिने निष्कर्ष निकालेको छ । केन्द्रीय कमिटी बैठकले गठबन्धनविरुद्ध उच्च मनोबल र एकताका साथ चुनावी तयारीमा होमिन कार्यकर्तालाई निर्देशन दिएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन भए कांग्रेसले नेतृत्व पाएको स्थानीय तहबाहेकमा पार्टीले जित निकाल्न सक्ने एमालेको निष्कर्ष छ । प्रदेश अध्यक्षहरूको रिपोर्टिङलाई एमालेले पार्टी पहिलो बन्ने आधारका रूपमा लिएको छ ।
पार्टी विभाजनको असर सबै जिल्लामा देखिए पनि नेकपा एकताकै निरन्तरताका रूपमा पूर्वमाओवादीको एउटा शक्ति एमालेमै रहेको, यसबीचमा सबै प्रदेश र जिल्लामा थुप्रै जनप्रतिनिधिसहित पार्टी प्रवेश अभियान तीव्र बनेकाले पनि विभाजनको असर नपर्ने उनीहरूको रिपोर्टिङ छ । एमालेले फागुन र चैतमा पार्टी प्रवेश अभियान कार्यक्रम चलाउँदै आएको छ । ‘प्रदेश अध्यक्षहरूले विभाजनको असर सबैतिर परेको तर यसबीचमा विभिन्न पार्टीका नेता–कार्यकर्ता, जनप्रतिनिधिहरूसहित कम्तीमा डेढ लाखले पार्टी प्रवेश गरेको तथ्यांक प्रस्तुत गर्नुभएको छ,’ स्थायी समिति सदस्य हिक्मत कार्कीले भने, ‘त्यसले कम्तीमा पाँच लाख मतदाता प्रभावित पार्ने सामाथ्र्य राख्ने स्थिति देखिएकाले पहिलेकै जस्तो ठूलो दल बन्ने आधार देखिएको हाम्रो आकलन हो ।’
उनले एकताको लयसहित पार्टी प्रवेश अभियानलाई तीव्र पारेर मिहिनेत गर्दा र कांग्रेससहितका दलहरूसँग एक्लाएक्लै प्रतिस्पर्धा हुने अवस्था सिर्जना भए ५० प्रतिशत स्थानीय तहमा जित हासिल गर्न सकिने आकलन गरिएको बताए । यद्यपि, अहिलेकै आकलन र निष्कर्ष राजनीतिमा सही साबित हुन सक्छ भनेर ठोकुवा भने गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।
अघिल्लोपटक माओवादीसँग गठबन्धन गरेर कांग्रेसले जितेका अधिकांश स्थानीय तहमा दोस्रो प्रतिद्वन्द्वी एमालै नै रहेको र अहिले माओवादी र अरू दलले नेतृत्व पाउने पालिकामा असन्तुष्टिको फाइदा लिएर जित निकाल्न सक्ने एमालेको विश्लेषण छ । त्यहीअनुसार एमालेले केन्द्रीय कमिटीबाट एउटै लयका साथ प्रस्तुत हुन निर्देशन दिँदै गठबन्धनविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने गरी रणनीति बनाएको छ ।
अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदनमा झन्डै ४० प्रतिशत अंश गठबन्धन सरकारको आठमहिने असफलतामा केन्द्रित गरेका छन् । त्यही प्रतिवेदनलाई केन्द्रीय कमिटी बैठकले सर्वसम्मत पारित गरेको छ । गठबन्धनमा रहेका दलहरूबीच महानगर, उपमहानगर, नगरपालिका बाँडफाँटमै समस्या देखिने भएकाले असन्तुष्टिको फाइदा लिएर चुनावी रणनीति बनाउन सकिने एमालेको बुझाइ छ । बैठक समापन गर्दै अध्यक्ष ओलीले गठबन्धनले कमजोर मनोबल बनाउन प्रयत्न गर्ने भन्दै माथिदेखि तलसम्म एउटै लय र ताल मिलाएर एकताका साथ प्रस्तुत हुन निर्देशन दिएका छन् । ‘एमालेसँग विचार, संगठन र दृष्टिकोणबाट प्रतिस्पर्धा गर्ने अरू दल छैनन्, तथापि गठबन्धनका नाममा पार्टीको, कार्यकर्ताको मनोबल कमजोर बनाउने काम हुन सक्छ, त्यसका विरुद्ध सम्पूर्ण पार्टीपंक्ति एकताका साथ अगाडि बढ्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै उपप्रमुख रिजालले भने, ‘एउटै लय र तालका साथ जनताको सेवक भएर हरेक नेता कार्यकर्ता जनताको घरदैलोमा जानुस् । उनीहरूको समस्यामा परिचित हुनुस् र आफूलाई कम्युनिस्ट क्रान्तिकारीका रूपमा स्थापित गर्नुस् ।’
ओलीले अबदेखिका सबै कार्यक्रमलाई प्रभावकारी बनाउन सार्वजनिक कार्यक्रमहरूमा अधिकतम पाँचजना मात्र वक्ता कायम गरेर मञ्चमा राख्न, आसनग्रहण गराउने, माला र खादाको अत्यधिक प्रयोग नगर्न पनि निर्देशन दिएका छन् ।
घोषणापत्र बनाउन पोखरेलको नेतृत्वमा एघार सदस्यीय कार्यदल
बैठकले स्थानीय निर्वाचन घोषणापत्र तयारीका लागि नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा एघार सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, प्रभु शाह, मनोजंग थापा, डा. युवराज खतिवडा, प्रभा बराल, डा. दिनेशचन्द्र देवकोटा र सुशील ज्ञवाली सदस्य छन् । कार्यदलले चैत मसान्तभित्र मस्यौदा बुझाएपछि पार्टी स्थापना दिवश ९ वैशाखमा सार्वजनिक गर्ने एमालेले जनाएको छ । घोषणापत्रमा अध्यक्ष ओलीले १४ चैतमा सात सय ५३ ओटै पालिकाका प्रतिनिधिसँग भर्चुअल सम्बोधनमार्फत सुझाव लिनेछन् । त्यस्तै, एमाले बैठकले भूगोलबाहेकको जिम्मेवारीमा रहेका सबै केन्द्रीय सदस्यलाई आ–आफ्नो जिल्लामा खटिन निर्देशन पनि दिएको छ ।