वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरूले अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)लाई भेटी उद्योग कलकारखानामा मंगलबारदेखि बिजुली कटौती भएको गुनासो गरेका छन् । बारा–पर्साका औद्योगिक करिडोरमा अचानक मंगलबारदेखि १२ घन्टासम्म लोडसेडिङ हुन थालेको उद्योगीहरूले बताएका छन् । भारतमा बिजुलीको मूल्य बढेको भन्दै बिजुली नआउँदा सीमाक्षेत्रका औद्योगिक कलकारखाना समस्यामा परेको उद्योगीहरूले बताएका हुन् ।
बुधबार व्यवसायीहरूले विद्युत् कटौती भएको गुनासो गरेपछि अर्थमन्त्री शर्माले तत्कालै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई फोन गरेर उद्योग कलकारखानामा उपलब्ध गराइरहेको बिजुली नियमित गर्न निर्देशन दिए । अर्थमन्त्रीले घिसिङलाई निर्देशन दिँदै भने, ‘अहिले जे समस्या देखिएको हो, त्यसलाई चाँडो हल गरी उद्योगहरूमा मागअनुसार नियमित रूपमा बिजुली उपलब्ध गराउनुहोला ।’
भारतीय बिजुलीको मूल्य बढेको भन्दै बारा–पर्साका औद्योगिक करिडोरका एक मेगावाटभन्दा माथिका उद्योगलाई प्राधिकरणले बिजुली नदिएपछि लोडसेडिङ हुनथालेको वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले बताए । करिब ६ सय मेगावाट बिजुली भारतले दिँदै आएको भए पनि अहिले चार सय मेगावाट रोकिएको छ ।
बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, वीरगन्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालनमा रहेका उद्योग समस्यामा रहेको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले भारतबाट बिजुली आयात रोकिएको बताउँदै उद्योगलाई बिजुली दिन रोकेको वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष गौतमले बताए ।