जय मधेस भनेको एमालेले नै गर्ने हो । जय मधेस गर्ने ठाउँमै साथीहरू आउनुभएको छ, अब ढुक्क हुनुस्, अब जय मधेस । बल्ल हुन्छ, जय मधेस ।
एमाले अध्यक्ष केपी ओलीले एमाले नै मधेसको विकास र समृद्धिको पक्षमा काम गर्ने पार्टी भएको बताएका छन् । मंगलबार माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र समाजवादी जनता पार्टीका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै ओलीले त्यस्तो बताएका हुन् ।
‘एमालेमा आएपछि बल्ल जय मधेस हुन्छ । एमालेले मधेसको जय गर्छ । पूर्व–पश्चिम हुलाकी राजमार्ग बनाउने, पूर्व–पश्चिम राजमार्ग चौडा गर्ने, मदन भण्डारी राजमार्ग मधेसबाटै खोल्ने एमाले । उत्तर–दक्षिण ठूला सडक बनाउने एमाले, चक्रपथ बनाउने एमाले, तराईमा फुसका छाना हटाएर जस्तापाता लगाउने एमाले, टोर्नाडो चक्रवात चल्नेबित्तिकै बारा र पर्सामा आठ सय ७९ घर तत्काल निर्माण गरेर हस्तान्तरण गर्ने एमाले, सुनकोसी–मरिन डाइभर्सन ल्याउने एमाले । अनि एमाले त हो जय मधेसवाला’ ओलीले भने, ‘त्यसकारण जय मधेस भनेको एमालेले नै गर्ने हो । जय मधेस गर्ने ठाउँमै साथीहरू आउनुभएको छ, अब ढुक्क हुनुस्, अब जय मधेस । बल्ल हुन्छ, जय मधेस ।’
प्रेमबहादुर सिंहको पार्टी एमालेमा विलय
समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह नेतृत्वको पार्टी एमालेमा विलय भएको छ । ०६३ मा एमालेबाट बाहिरिएर पार्टी बनाएका सिंह समानुपातिक तर्फबाट सांसद निर्वाचित भएका थिए । सिंहसहित सो पार्टीका केन्द्रीय कमिटीका नेताहरूलाई ओलीले एमाले प्रवेश गराएका छन् । त्यस्तै, नायिका करिश्मा मानन्धर पनि एमाले प्रवेश गरेकी छिन् । मानन्धरले केही समय नयाँ शक्तिको राजनीति गरेकी थिइन् । कार्यक्रममै माओवादी केन्द्रका पर्सा जिल्ला इन्चार्ज बाबुराम कौसिक, लोसपा पर्साका नेता शिव पटेल, वाइसिएलका पर्सा संयोजकसहितका नेता कार्यकर्तालाई ओलीले एमालेमा प्रवेश गराएका छन् ।