१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ९ बुधबार
  • Sunday, 29 September, 2024
कृष्ण रिजाल काठमाडाैं
२o७८ चैत ९ बुधबार o६:२३:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

भन्सार जाँचपास अब काठमाडौंमै

नाकामा आइपुगेका मालवस्तु प्रक्रिया पुर्‍याएर चोभार बन्दरगाहमा ल्याई भन्सार जाँचपास गर्न सकिने, चैत तेस्रो साताबाट बन्दरगाह सञ्चालनमा आउने

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o७८ चैत ९ बुधबार o६:२३:oo

व्यवसायीले विदेशबाट आयात गरिएको मालवस्तु अब काठमाडौंमै ल्याएर भन्सार जाँचपास गर्न पाउने भएका छन् । सरकारले तोकेका सीमानाकामा आइपुगेका मालवस्तु काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपास गर्न सकिने व्यवस्था गरेको हो ।  अर्थ मन्त्रालयले काठमाडौंमा जाँचपासका लागि मालवस्तु ल्याउने सूचना राजपत्रमा प्रकाशित गरेको छ । जसअनुसार आयातकर्ताले नेपालको सीमास्थित भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपासका लागि मालवस्तु ल्याउन सक्ने उल्लेख छ ।

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बडुवालले अब आयातकर्ताले काठमाडौंमै मालवस्तुको जाँचपास गर्न सक्ने बताए । चोभार सुक्खा बन्दरगाह उद्घाटन भई सञ्चालनमा आएपछि आयातकर्ताले विदेशबाट ल्याउने मालवस्तुको भन्सार जाँचपास काठमाडौंमै गर्न सक्ने उनको भनाइ छ ।‘हामीले काठमाडौंमा जाँचपासका लागि मालवस्तु ल्याउनेबारे राजपत्रमा सूचना नै प्रकाशन गरिसकेका छौँ, यसअघि भन्सार क्षेत्र घोषणा भई कार्यालयसमेत स्थापना भइसकेको छ,’ उनले भने, ‘अब चोभार सुक्खा बन्दरगाह उद्घाटन भएपछि आयातकर्ताले विदेशबाट ल्याउने मालवस्तुको भन्सार जाँचपास काठमाडौंमै गर्न सक्नेछन् ।’ वीरगन्ज नाकामा आइपुगेका कन्टेनर चोभारमा ल्याएर जाँचपास गरेर उद्घाटन गर्ने तयारी भइरहेको उनले जानकरी दिए ।

अहिलेलाई वीरगन्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाबाट नेपाल प्रवेश गर्ने मालवस्तुको जाँचपास चोभारमा गर्न सकिनेछ । अन्य भन्सार कार्यालयबाट नेपाल प्रवेश गर्ने मालवस्तुलाई यस्तो सुविधा दिन आवश्यक देखिएमा भन्सार विभागका महानिर्देशकले सार्वजनिक सूचना प्रकाशन गरी भन्सार कार्यालय तोक्न सक्ने व्यवस्था गरिएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभार सुक्खा बन्दरगाह चैतभित्रै सञ्चालनमा आइसक्ने बताए । ‘चोभार सुक्खा बन्दरगाह सञ्चालनको लगभग सम्पूर्ण तयारी पूरा भएको छ । बन्दरगाह सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, उपकरण, जनशक्ति र प्रणाली स्थापना भइसकेको छ,’ उनले भने, ‘अब उद्घाटन गरेर सञ्चालनमा ल्याउन मात्रै बाँकी हो । हामीले यही चैत महिनाभित्रै उद्घाटन गरेर बन्दरगाह सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ ।’ त्यसपछि उद्योगी–व्यवसायीले पनि चोभार सुक्खा बन्दरगाहमा मालवस्तु ल्याएर जाँचपास गर्न सक्ने उनले बताए ।

 यसरी ल्याउन सकिन्छ चोभारसम्म मालवस्तु 
सरकारले सीमास्थित भन्सार कार्यालयमा आयातका लागि ल्याएका मालवस्तुहरू भन्सार जाँचपास नगराई तोकिएको सडकमार्ग हुँदै चोभार बन्दरगाहसम्म लैजान आन्तरिक परिवहनको सुविधा दिनेछ । यस्तो सुविधा लिन चाहने आयातकर्ताले त्यस्तो अनुमतिका लागि मालवस्तु प्रवेश गरेको सीमास्थित भन्सार कार्यालयमा ‘नेपाल भन्सार स्वचालन प्रणालीको ट्रान्जिट मोड्युल’ प्रयोग गरी निवेदन दिनुपर्नेछ । सीमास्थित भन्सार अधिकृतले आवश्यक जाँचबुझ गरी सर्त पूरा भएको पाइएमा त्यस्तो मालवस्तु आन्तरिक परिवहन गरी चोभार भन्सारसम्म लैजानका लागि प्रणालीबाटै अनुमति दिन सक्नेछ ।

तर, यसरी आन्तरिक परिवहन सुविधा लिने आयातकर्ताले प्रतीतपत्र खोलेर आयात गर्नुपर्ने, चलान भएको स्थानबाट चोभार भन्सारसम्म नै सिपिङ कम्पनीहरूबाट सञ्चालित स्तरीय सिपिङ कन्टेनरबाट कन्टेनर परिवर्तन नगरी ढुवानी गर्नुपर्ने र कन्टेनरमा विद्युतीय ट्र्याकिङ प्रणाली जिपिएस लक लगाउनुपर्नेछ । तर, गुडाएर लैजाने नयाँ सवारीसाधन तथा चेसिसको हकमा जिपिएस ताला आवश्यक पर्नेछैन । त्यस्तै, चलान भएको स्थानदेखि लगाइएको सिलसिलेबार नम्बरसहितको सिल दुरुस्त भएको हुनुपर्ने र काबुबाहिरको परिस्थितिबाहेक प्रवेश गरेको भन्सार कार्यालयबाट आन्तरिक परिवहनको अनुमति लिएका मालवस्तु ढुवानीको साधन बढीमा ७२ घन्टाभित्र चोभार बन्दरगाह भन्सार कार्यालयमा पुर्‍याउनुपर्नेछ । 

 यसरी हुन्छ चोभारमा जाँचपास 
आन्तरिक परिवहन भई आएको मालवस्तु बोकेको ढुवानी साधन बन्दरगाह भन्सारमा प्रवेश गरेपछि भन्सार अधिकृतले ताला तथा सिल र ढुवानी साधनको नम्बर दुरुस्त भए–नभएको जाँच गर्नेछन् । दुरुस्त भएको पाइएमा प्रणालीमा त्यस्तो मालवस्तु बन्दरगाह भन्सारमा प्रवेश गरेको व्यहोरा जनाइदिनुपर्ने व्यस्था गरिएको छ । जाँच गर्दा दुरुस्त भएको पाइएमा सामान्य भन्सार प्रक्रिया अवलम्बन गरी त्यस्तो मालवस्तु जाँचपास हुनेछ । जाँच गर्दा ताला तथा सिल दुरुस्त नभएको पाइएमा र तोकिएको सडकमार्गको प्रयोग नगरेको पाइएमा त्यस्ता पैठारीकर्तालाई भन्सार अधिकृतले आवश्यक छानबिन गरी दोषी देखिएमा भन्सार ऐन तथा प्रचलित अन्य कानुनबमोजिम कारबाही गर्नेछ ।

 बाटोमा खोल्न, हेर्न र जाँच गर्न नपाइने 
आन्तरिक परिवहन गरिने मालवस्तु बन्दरगाह भन्सारमा प्रवेश नगरेसम्म तोकिएको भन्सार कर्मचारीबाहेक अन्य कुनै व्यक्ति वा निकायले बाटोमा खोल्न, रोक्न, हेर्न वा जाँच गर्न पाउनेछैनन् । सीमास्थित भन्सार कार्यालयबाट बन्दरगाह भन्सारमा आउने क्रममा कुनै ढुवानी साधन दुर्घटनामा परेमा, बिग्रेमा वा अन्य कुनै काबुबाहिरको परिस्थिति परेमा आयातकर्ताले चोभार भन्सारका प्रमुखलाई तुरुन्त लिखित जानकारी दिनुपर्नेछ र दुर्घटना परेको अवस्थामा सोको जानकारी नजिकको नेपाल प्रहरीलाई समेत दिनुपर्नेछ । यस्तो अवस्थामा तोकिएका कर्मचारीलाई स्थलगत छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्नेछन् ।

प्रतिवेदनका आधारमा आवश्यकता र औचित्य विचार गरी बन्दरगाह भन्सार प्रमुखले विभागको महानिर्देशकको पूर्वस्वीकृति लिई कन्टेनरलाई अर्को साधनमा राखेर ल्याउने, मालवस्तुको लागत तयार गरी कन्टेनर ट्रेलर वा ट्रकमा राखी बन्दरगाह भन्सारसम्म ढुवानी गर्न अनुमति दिन सक्नेछन् । त्यस्तो मालवस्तु भौतिक रूपमा परीक्षण गर्न सक्ने अवस्था नदेखिएमा प्रवेश गरेको भन्सार कार्यालयमा गरेको घोषणाका आधारमा लाग्ने महसुल लिई छाडिदिने वा महानिर्देशकले दिएको आदेशबमोजिम अन्य उपर्युक्त कारबाही गर्ने व्यवस्था गरिएको छ ।