लमजुङमा गण्डकी प्रदेशस्तरीय महोत्सव हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघले आगामी २५ चैतदेखि ४ वैैशाखसम्म बेँसीसहरको सहजी खेलमैदानमा सातौँ लमजुङ महोत्सव आयोजना गरिने जनाएको छ ।
लमजुङ महोत्सवलाई गण्डकी प्रदेशस्तरीय बनाइने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटनः कोभिड १९ पछिको व्यवसाय पुनर्थापन’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिने सिलवालले बताए । उनले भने, ‘परम्परागत कला संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो ।’
जिल्लामा व्यावसायिक कृषि, पशुपालन र जडीबुटीको प्रवर्धन गरी निर्यातजन्य उत्पादनका लागि प्रोत्साहन गर्ने, स्थानीय उद्योग, व्यापार, हस्तकलाको प्रवर्धन गर्ने, महोत्सवमार्फत साना तथा मझौला उद्योगको स्थापना गराई युवा जनशक्तिलाई विदेश जानबाट रोक्न, जिल्लामै उद्यमी बनाउन, आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्य लिएको संघले जनाएको छ ।
यस्तै, परम्परागत सीपसँगै प्रविधि प्रवर्धन गर्ने, कला संस्कार, संस्कृतिको जर्गेना, नवप्रतिभालाई प्रोत्साहन र प्रवर्धन गर्ने, नेपाल पत्रकार महासंघको निर्माणाधीन भवनलाई सहयोग गर्ने, आदर्श बाल गृह, सर्वोदय ज्येष्ठ नागरिक आश्रम, मानवसेवा आश्रमलाई सहयोग गर्ने र जिल्लाको पर्यटकीय गन्तव्य एवं होम स्टेहरूको थप प्रवर्धन गर्ने महोत्सवको उद्देश्य रहेको लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाले बताए।
महोत्सवले पर्यटकीय स्थालको प्रचारप्रसार गरी पर्यटन प्रवर्धनमा टेवा पुर्याउने, व्यावसायिक कृषि, पशुपालन र जडीबुटीको प्रवर्धन गरी आत्मनिर्भर बनाउने, अल्लो, अलैँची, चिया, कफीको प्रवर्धन गर्ने र होम स्टेको प्रवर्धनात्मक कार्य गर्ने निवर्तमान अध्यक्ष थापाको भनाइ छ ।
महोत्सवमा २ सय वटा स्टल रहनेछन् । महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, गण्डकी प्रदेशभित्र रहेका उद्योग तथा व्यावसायिक प्रतिष्ठानको विशेष प्रदर्शनी, कृषि तथा जडीबुटी प्रदर्शनी, गण्डकी प्रदेशभित्र रहेका विभिन्न लोक सांस्कृतिक प्रदर्शनी, लोक दोहोरी गीत कार्यक्रम, गण्डकी प्रदेशस्तरीय फोटो तथा वृत्तचित्र प्रदर्शनी रहनेछन् ।
लमजुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णजंग गुरुङका अनुसार महोत्सवमा कोभिड १९ को प्रभावले सुस्ताएको जिल्लाको पर्यटन व्ययसायलाई पुनर्स्थापना गर्ने, गण्डकी प्रदेशस्तरीय जातीय एवं सांस्कृतिक संग्रहालय, विद्यालयस्तरीय नृत्य कार्यक्रम, झाँकी तथा र्याली प्रदर्शनी, विविधि मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान ,आन्तरिक पर्यटन प्याकेज टुर तथा आन्तरिक पर्यटन सूचना केन्द्र, नाटक प्रदर्शनी, साहित्यिक कार्यक्रम, कार्यशाला गोष्ठी, सरकारी तथा गैरसरकारी निकायको गतिविधि प्रदर्शनी र महिला समूह नृत्य प्रतियोगिता आयोजना गरिनेछ ।
महोत्सवको टिकट बिक्रीबाट प्रतिटिकट १० रुपैयाँ सामाजिक सेवा कोषका लागि छुट्याइने संघले जनाएको छ । जसमध्ये बेँसीसहरमा रहेको सहजी खेलमैदान विकास समितिका लागि प्रतिटिकट २ रुपैयाँ, दैवीप्रकोप उद्धार कोषका लागि ३ रुपैयाँ, आदर्श महिला तथा बालविकास केन्द्रलाई १ रुपैयाँ, मानवसेवा आश्रमलाई १ रुपैयाँ सर्वोदय ज्येष्ठ नागरिक आरोग्य आश्रमलाई १ रुपैयाँ र नेपाल पत्रकार महासंघ लमजुङको भवन निर्माण सहयोगका लागि २ रुपैयाँ सहयोग छुट्याइनेछ ।
महोत्सव अवधिभर २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवस्थल प्रवेशका लागि प्रतिदर्शकका लागि ८० रुपैयाँ र विद्यार्थीका लागि ६० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइनेछ । महोत्सव सफल बनाउन ३ सय ५१ सदस्यीय मूल समारोह समिति, ३५ सदस्यीय सल्लाहकार समिति, १३ सदस्यीय कार्य सम्पादन समिति १३ र २५ वटा उपसमितिहरू गठन गरिएको छ ।