१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ४ शुक्रबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ४ शुक्रबार o७:५१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जसपाले हिमाली र पहाडी जिल्लामा धेरैभन्दा धेरै उम्मेदवार उठाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ४ शुक्रबार o७:५१:oo

जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तह चुनावलाई हिमाली तथा पहाडी क्षेत्रमा संगठन विस्तारको अभियानका रूपमा लिने भएको छ । जसपाले बनाएको चुनाव निर्देशिकामा हिमाली र पहाडी क्षेत्रमा धेरैभन्दा धेरै उम्मेदवार उठाउने योजना छ । 

निर्देशिकामा ‘संगठनात्मक आधार कम भएका हिमाल र पहाडी जिल्लामा चुनावलाई पार्टी विस्तारको रूपमा लिने’ उल्लेख छ । कार्यकारिणी सदस्य मनीष सुमनले पनि कमजोर ठाउँमा खाली छोड्ने र बलियो ठाउँमा मात्र उम्मेदवार उठाउने पार्टी नीति नरहेको बताए । ‘हामी बलियो ठाउँमा मात्र होइन, पार्टीको कम प्रभाव रहेका स्थानमा पनि चुनाव लड्छौँ,’ उनले भने, ‘चुनाव परीक्षा हो, कमीकमजोरी सच्याउँदै भविष्यमा गर्नुपर्ने काम निर्धारण गर्न सघाउँछ ।’

२९ र ३० फागुनमा बसेको बैठकमार्फत गाउँपालिकासम्म परिपत्र गरिसकिएको छ । ‘चुनाव निर्देशिका तल्ला समितिमा परिपत्र गरिसकिएको छ । पार्टीभित्र चुनाव निर्देशिका लागू भइसक्यो, हामी चुनावमा जुटिसक्यौँ,’ उनले भने । 

जसपाले निर्देशिकामा चुनावकेन्द्रित कार्यक्रममा जोड दिएको छ । चुनावकेन्द्रित बुथ, वडा, गाउँ र नगरस्तरीय पार्टीको भेला छिटो सक्न भनेको छ । परिपत्रमा बुथ, वडा, गाउँ र नगरस्तरीय चुनाव प्रचार–प्रसार कार्यालय खोल्न स्थानीय पार्टीलाई निर्देशन दिइएको छ । 

तल्ला समितिमा पनि चुनावसम्बन्धी प्रशिक्षण चलाउन पार्टी जिल्ला समन्वय समितिलाई निर्देशन दिइएको छ । ‘उपमहानगर र महानगरस्तरको चुनावसम्बन्धी प्रशिक्षण प्रदेशले आयोजना गर्ने र आवश्यकताअनुसार आमन्त्रित गर्ने,’ परिपत्रमा छ । 

जसपाले चुनावमा खटिने नेता कार्यकर्तालाई मतदाता नामावलीबारे सुसूचित हुनसमेत भनेको छ । ‘सम्बन्धित तहको मतदाता नामावली फोटोकपी गरी सम्बन्धित समितिहरू अग्रिम रूपमा सुसूचित हुने र मतदाता पहिचान गरी राख्ने,’ गाउँ तहसम्म पठाइएको परिपत्रमा छ । 

चुनाव प्रचार–प्रसारमा छापिने सामग्रीमा ध्यान दिनुपर्ने जसपाले बताएको छ । चुनावमा फरक–फरक नमुनामा छापिने चुनाव सामग्रीले मतदाता झुक्किन सक्ने भन्दै छपाइ र प्रकाशन एकरूपता र एकरूप नमुनामा गर्न निर्देशन दिइएको छ । चुनाव प्रचार–प्रसारमा सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्न भनिएको छ । ‘चुनावचिह्न ढल्केको छाताको प्रचार सामाजिक सञ्जालद्वारा अत्यधिक मात्रामा गर्ने,’ जारी परिपत्रमा छ ।

चुनावी तालमेलबारे यस्तो छ नीति
जसपाले स्थानीय तह चुनावमा तालमेलबारेसमेत पार्टीको नीति बनाएको छ । उक्त नीतिलाई पार्टीको केन्द्रीय समितिले समेत पारित गरेको छ । जसअनुसार केन्द्रबाट तालमेल भएको अवस्थामा बाहेक प्रतिस्पर्धी कुनै एक वा एकभन्दा बढी दलसँग चुनावी तालमेलको सम्भावना देखा परेमा तालमेलको सम्भावना भएको सोही स्तरको पार्टी समितिसँग वार्ता समिति बनाएर छलफल गर्न भनिएको छ । तालमेल र सिट बाँडफाँटको टुंगो लगाउने जिम्मा एक तह माथिल्लो समितिलाई दिइएको छ । तालमेलमा जटिलता वा द्विविधा भएमा जिल्ला समन्वय समितिमार्फत प्रदेश समितिको कार्यदलमा पठाउन भनिएको छ । महानगरको उम्मेदवारको हकमा भने तालमेलको निर्णय लिने जिम्मा केन्द्रीय कार्यकारिणीलाई दिइएको छ ।