मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ३ बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ चैत ३ बिहीबार o६:२८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विदेशमा नेपाली श्रमिक ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाही गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ चैत ३ बिहीबार o६:२८:oo

विदेशमा रहेका नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाही गरिने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली ठग्नेलाई अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा युएईबाट नेपाल झिकाउने तयारी गरिएको बताए ।

 कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको समेत बताए । 

नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधाबीमा सम्पन्न भएको छ । आबुधाबीस्थित संयुक्त अरब इमिरेट्सको मानव संसाधन मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भयो । बैठकमा नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता युएईले गरेको छ । साथै, युएईमा रहेका नेपालीलाई कामका आधारमा १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये पाँचवटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया पूर्णतः निःशुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन पनि युएई सहमत भएको छ । 

संयुक्त अरब इमिरेट्स युएई भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मंगलबार भेटवार्ता भयो । संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीस्थित मानव संसाधन मन्त्रालयमा भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रशंसा गरे । भेटवार्ताका क्रममा रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीहरूको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको छ । 

रोजगारीको प्रलोभन देखाई भिजिट भिसामा युएई ल्याउने गैरकानुनी एजेन्टहरूलाई कारबाहीको दायरामा ल्याउन युएई सरकारले सहयोग गर्नेछ । मन्त्री अवारले युएई सरकारले नेपालमा सीप विकास तालिम केन्द्र स्थापना र क्षमता वृद्धिमा लगानी गरी दक्ष जनशक्ति उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै, उनले नेपाल सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पताल निर्माणमा पनि युएई सरकारले सहयोग गर्ने बताए ।