मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २ बुधबार ०७:५७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा दोहोरो अंकको गिरावट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २ बुधबार ०७:५७:००

मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १७ दशमलव १५ अंकले घटेर दुई हजार ६ सय ५० दशमलव ९७ बिन्दुमा आइपुगेको हो ।घटेको बजारमा तीन अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्ला दिनहरूका आधारमा यो औसत कारोबार बराबर हो ।

चार कारोबार दिनमै बजार एक सय ७५ अंकसम्म बढेर लगानीकर्तालाई छोटो अवधिमै लाभ भएपछि उनीहरू मुनाफा बुकिङमा लागेका हुन् । चार दिनअगाडि सेयर खरिद गरेकालाई केही कम्पनीको सेयरमा अझै पनि ३८ प्रतिशतसम्म लाभ भइरहेको छ । इमर्जिङ नेपालको सेयर चार दिनमा ३८ प्रतिशतले बढेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्तालाई १९ प्रतिशत, बेस्ट फाइनान्स र सेन्ट्रल फाइनान्समा अहिले पनि १२ प्रतिशतबराबर नाफा देखिएको छ ।   

मंगलबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ कम्पनीका ६५ लाख कित्ता–इकाइ सेयर खरिद–बिक्री भएको छ । यस दिन सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ३४ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीले मंगलबार आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

तर, लाभांश घोषणा भएकै दिन भने कम्पनीको सेयर मूल्य ५ प्रतिशतले घटेर एक हजार ६ सय २६ रुपैयाँमा आइपुगेको छ । यसअघि सरकारले नेपाल दूरसञ्चार कम्पनीमा रहेको सेयर बिक्री गर्न सक्ने हल्ला चलाएर मूल्य बढाइएको थियो । लाभांश घोषणापछि झन् मूल्य घट्नुलाई भने भित्री कारोबार भएको आशंका गरिएको छ । पुस अन्त्यमा कम्पनीको सेयर मूल्य १३ सय ३५ रहेकोमा यसबीच बढेर १८ सयसम्म पुगेको थियो । 

त्यस्तै, अपि पावर कम्पनीको दोस्रो ठूलो कारोबार भएको छ । कम्पनीको १२ करोड २० लाख रुपैयाँको कारोबार भएको हो । हकप्रद सेयर जारी गर्ने तयारीमा रहेको कम्पनीको घटेको मूल्यमा सेयर पाइएपछि लगानीकर्ताले उठाएका देखिन्छन् । कम्पनीले १० बराबर ३ दशमलव ९३ अनुपातमा हकप्रद जारी गर्न लागेको हो । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि यस दिन ११ करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीले आर्थिक वर्ष ०७६/७७ को मुनाफापछि हालसम्मकै कम दरमा लाभांश घोषणा गरेको छ । यही कारण कम्पनी मूल्य निकै तलसम्म ओर्लिएपछि कम्पनीको सेयरमा खरिद चाप बढेको छ ।  

कारोबारमा आएका १३ वटा समूहमध्ये चारवटा समूह सूचक बढेका छन् । होटेल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै ३ दशमलव १६ प्रतिशतले बढेको हो । जीवन बिमा समूह, म्युचुअल फन्ड, निर्जीवन बिमा समूह सूचक सामान्य वृद्धि भएको छ । त्यस्तै, आठ समूह सूचक घटेका छन् । उत्पादनमूलक समूह सूचक सबैभन्दा धेरै १ दशमलव ६२ प्रतिशतले घट्न पुगेको छ । ‘अन्य’, ट्रेडिङ, जलविद्युत्, माइक्रो फाइनान्स समूह सूचक सामान्य घटेका छन् ।

 मंगलबार ५२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ३१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन पनि इमर्जिङ नेपाल कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । केही समयअघि मात्रै सूचीकृत यस कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दै आएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर पनि ६ दशमलव ६४ प्रतिशतले बढेको छ ।