मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयलाई लिएर पीडित परिवारले तीनजनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको किटानी दिएका छन्। लमजुङको सुन्दरबजार नगरपालिका–९ सिउँडीबारस्थित फ्युचर स्टार विद्यालयमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मंगलबार मर्स्याङ्दीमा डुबेर मृत्यु भएको थियो।
तनहुँको भानु नगरपालिका–९ बाइसजाँगरका पीडित परिवारले फ्युचर स्टार आवासीय माविका सञ्चालक बाबुराम पौडेल, शिक्षक सरोज ओलिया र शिक्षक तीर्थ सेढाईंविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएका हुन्। लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले पीडित परिवारको मागबमोजिम किटानी जाहेरी लिएर अनुसन्धान अघि बढाएको बताए। उनका अनुसार किटानी जाहेरी परेका तीनजनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।
होस्टेलमा बस्दै आएका सनिजलाई बोलाएर होस्टेल शिक्षकले पौडी खेल्न लगेको, पौडी खेल्न अगाडि सारेको र होस्टेलमा बसेका उनलाई पौडी खेल्न जान स्कुल सञ्चालकले स्वीकृति दिएको पीडित परिवारको आरोप छ।
गत मंगलबार दिउँसो भएको घटनालाई लिएर आक्रोशित बाइसजाँगरका स्थानीयले विद्यालयको गेट, स्कुल बस र भ्यान तोडफोड गरेका थिए। विद्यालयको लापर्बाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै मंगलबार बाइसजाँगरका स्थानीय तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, हवाईफायर र लाठीचार्ज गरेको थियो। स्थानीयले प्रदर्शन चर्काउने सूचना पाएपछि अप्रिय घटना घट्न नदिने भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार बिहान ६ बजेदेखि राति ९ बजेसम्म विद्यालय भएको सिउँडीबार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।
बुधबारको सहमतिअनुसार प्रहरीले जाहेरी नलिएको भन्दै बिहीबार साँझदेखि उनीहरूले अनिश्चितकालीन बन्दको घोषणा गर्दै तनहुँको बाइसजाँगरमा बेँसीसहर–डुम्रे सडक अवरुद्ध गरेका थिए। शुक्रबार प्रहरीले जाहेरी लिएपछि पीडितले जिल्ला अस्पतालमा राखेको शव बुझेर आन्दोलन पनि फिर्ता लिएको पीडितका आफन्त गणेश श्रेष्ठले बताए।