बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आगामी चैतमा कृषि मेला गर्ने भएको छ । चैत १० देखि १४ गतेसम्म संघको सचिवालयपरिसर बालमन्दिर बुटवलमा कृषि मेला गर्न लागिएको हो । विशिष्टीकृत ‘कृषि मेला २०७८’ को तयारीको काम तीव्र पारिएको संघले जनाएको छ । बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय, बुटवल उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्र र पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको प्रवद्र्धनमा कृषि मेला गर्न लागिएको हो ।
संघले छोटो समयमा कृषि मेला गर्न लागेकाले पनि त्यसको तयारी तीव्र गतिमा गर्नुपरेको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए । ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको कृषि मेलामा व्यावसायिक कृषि तथा त्यसका लागि कृषिमा प्रविधि र उपकरणको प्रयोगलाई जोड दिइएको छ ।
मेला सम्पन्न गर्नका लागि कार्यसम्पादन समिति र विभिन्न उपसमितिहरूले जिम्मेवारीमा रहेका कामलाई तीव्र रूपमा अगाडि बढाएको संघको कार्यसमिति सदस्य तथा प्रचारप्रसार उपसमिति संयोजक जमुना पौडेलले बताइन् । उनका अनुसार ती समितिहरूमार्फत मेलालाई फलदायी रूपमा सम्पन्न गर्नका लागि पत्राचार, मूल व्यवस्थापन, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, समन्वय, स्टल बुकिङ तथा व्यवस्थापन, सौजन्यलगायतको काम भइरहेको छ ।
पाँच दिनसम्म सञ्चालन गरिने मेलामा ४५ स्टल राखिनेछ । मेलामा कृषि तथा पशुपालनसम्बन्धी विशिष्ट उत्पादनको प्रदर्शनी तथा कृषिसम्बन्धी कार्यशाला गोष्ठीसमेत गरिने संघका महासचिव तथा मेला सम्पादन समितिका सदस्यसचिव विमलराज भट्टराईले बताए ।