१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २७ शुक्रबार
  • Wednesday, 30 October, 2024
२o७८ फाल्गुण २७ शुक्रबार o९:२९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २७ शुक्रबार o९:२९:oo

बागमतीलाई २–१ गोलले हराउँदै फ्रेन्ड्सले मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा मनाङसँगको भेट पक्का गरेको हो 

मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लबबीच मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । धनगढी रंगशालामा बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा फ्रेन्ड्सले बागमती युवा क्लब सर्लाहीलाई २–१ ले पराजित गर्दै मनाङसँगको भेट पक्का गरेको हो । हिमालयन शेर्पालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै मनाङ यसअघि फाइनलमा पुगिसकेको छ । फ्रेन्ड्स र मनाङबीच शनिबार उपाधि भिडन्त हुनेछ । 

फ्रेन्डसलाई उपाधिनजिक पुर्‍याउन विदेशी खेलाडी जम्युल फ्राइन्कोइज तथा राजीव लोप्चनले एक–एक गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरी भयो । पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर सृजना गरे पनि गोल हुन सकेन ।

खेलको ६४औँ मिनेटमा जम्युलले फ्रेन्ड्सलाई १–० ले अग्रता दिलाए । बागमतीलाई दबाबमा राखेको फ्रेन्ड्सले ७१औँ मिनेटमा २–० को अग्रता लियो । राजीव लोप्चनले फ्रेन्ड्सलाई दोहोरो अग्रता दिलाएका हुन् । दुई गोलको अन्तरले पछि परेपछि बागमती निकै दबाबमा परेको देखिएको थियो । खेलको ८३औँ मिनेटमा डेडी वाम्बा जुनियरले बागमतीलाई २–१ को अन्तरमा ल्याउँदै खेलमा फर्कने प्रयास गर्‍यो । निकोलसको क्रसलाई डेडीले उत्कृष्ट हेडिङ गोल गरेका थिए । फ्रेन्ड्सका श्याम रानामगर म्यान अफ द म्याच भए । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबको आयोजनामा भइरहेको गोल्डकपको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिष्ठाका लागि पनि जित्नैपर्ने थियो : मृगेन्द्र मिश्र, प्रशिक्षक, फ्रेन्ड्स 
फ्रेन्ड्सका प्रशिक्षक मिश्रले आफूहरू फाइनल खेल्ने लक्ष्य लिएर आएको बताएका छन् । ‘हामी यहाँ उपाधि जित्ने लक्ष्यका साथ आएका थियौँ, लक्ष्य पूरा गर्न एक खेल टाढा छ,’ मिश्रले भने, ‘यो खेल हाम्रो नजरमा प्रतिष्ठाका लागि पनि थियो, जसका कारण हामीमाथि जित्नुपर्ने दबाब थियो ।’ मिश्रले बागमतीले पनि राम्रो खेलेको प्रतिक्रिया दिए । ‘बागमतीले राम्रै खेलिरहेको थियो, टिम स्पिरिट थियो, पहिलो हाफमा राम्रै एट्याक गर्न खोज्यो ।’ 

अनुभव बटुल्न आएका हौँ : रोजित केसी, प्रशिक्षक, बागमती
बागमतीका प्रशिक्षक रोजित केसीले आफूहरू अनुभवका लागि खेल्न आएको बताए । स्थानीय क्लबले देशकै ठूला क्लबहरूसँग खेल्न पाउनु र प्रतिस्पर्धा गर्नु राम्रो पक्ष भएको उनले बताए । ‘ए’ डिभिजन क्लबविरुद्ध आफ्नो खेलाडीले राम्रो खेले,’ केसीले भने, ‘समग्रमा राम्रो खेल्यौँ, ठूलो क्लबसँग मोफसलको क्लबले खेल्न पाउनु ठूलो कुरा हो ।’ उनले प्रतियोगितामा बागमती क्लबले राम्रो छाप राखेको जनाए । ‘हामीले प्रतियोगितामा एउटा राम्रो  छाप छोडेर गएका छौँ, खेललाई टाइब्रेकरमा लैजाने लक्ष्य थियो, तर सफल हुन सकेनौँ,’ केसीले भने ।