गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनीमा विपन्न १७ परिवारले नयाँ घर पाएका छन् । सालझन्डी–ढोरपाटन सडक र ०७२ सालको भूकम्पका कारण १७ घर पहिराले विस्थापित भएका थिए । विस्थापित परिवार वर्षातमा विद्यालय र त्रिपालको ओत खोज्नुपर्ने अवस्थामा थिए । स्थानीय तहको निर्वाचनपछि मदाने गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा १५ लाख विनियोजन गरेर आफ्नै नाममा जग्गा प्राप्त गरेर एकीकृत बस्ती निर्माण काम सुरु गरेको थियो ।
गाउँपालिकाले ९९ लाख ४१ हजारको लागतमा बस्ती निर्माण गरिएको छ । एकीकृत बस्तीमा निर्माण भएका घरहरू पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले लाभान्वित परिवारलाई हस्तान्तरण गरे । सोही क्रममा बोल्दै विष्टले ठूलो पानी परेको वेला गाउँबाट फोनमा आफूसँग गुहार मागेको स्मरण गर्दै सामाजिक न्यायको क्षेत्रमा गाउँपालिकाले गरेको कामको प्रशंसा गरे । कोभिडको कारण समयमै बस्ती हस्तान्तरणको काम भएको थिएन । गाउँपालिकाले जग्गा खरिदसहित दुईकोठे घर, शौचालय, निःशुल्क मिटरबक्स र धाराहरू निर्माण गरेर १७ घरलाई हस्तान्तरण गरेको गाउँपालिका प्रमुख दानबहादुर केसीले जानकारी दिए ।
सिर्सेनीमै ३० घर निर्माण हुँदै
मदाने गाउँपालिका– ३ सिर्सेनीमै ३० घरका लागि एकीकृत बस्ती निर्माणको काम भइरहेको छ । सिर्सेनीको खन्युखर्कमा १९, सिममा दुई र काफलपाटामा नौ गरेर ३० घर निर्माण निर्माण भइरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइमार्फत एकीकृत बस्ती निर्माणको काम भएको छ । उनीहरूले जग्गा खरिदका लागि प्रतिघर दुई लाख, प्रतिघर निर्माणका लागि तीन लाख र बस्तीको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रतिघर चार लाख रुपैयाँ खर्च भएको छ । अहिलेसम्म दुई करोड ७० लाख खर्च भएको वडाध्यक्ष नारायण घर्तीले जानकारी दिए । गाउँपालिकाले एकीकृत बस्ती निर्माणसँगै सबै घर खरका छानामुक्त, एक घर एक धारा, निःशुल्क एम्बुलेन्स वितरणलगायतका काम गरिरहेको छ । त्योसँगै सडक विस्तार, मदाने पर्यटन पूर्वाधार विकास योजना, कृषि पकेट, अनुदान र सबै वडामा बर्थिङ सेन्टर विस्तारका काम भएको गाउँपालिका उपप्रमुख सरिता खड्काले बताइन् ।
घर पाएपछि स्थानीय खुसी
घर प्राप्त गरेकी स्थानीय माया विश्वकर्मा वर्षातको समयमा स्कुल र पाल टाँगेर बस्नुपर्ने स्थितिको अन्त्य भएकोमा खुसी भइन् । त्यस्तै, निर्मला सुनारको घर पनि पहिरोले घर बगायो । अहिले गाउँमा चार–पाँच पाथी मकै र कोदो उत्पादन हुने बारी छ । उनले गाउँपालिकाले दिएको घर लिपपोत गरेर चिटिक्क पारेकी छिन् । केही दिनमा सबै सामान नयाँ घरमा ल्याएर स्थायी बसोवासको योजनामा सुनार छन् । भौगोलिक समस्याका कारण पुरानो बस्ती र एकीकृत बस्तीनजिक छैन । बुधबार सुन्तली सुनारले पनि नयाँ घर पाइन् । तर, एकीकृत बस्ती र पुरानो घर फरक ठाउँमा भएकाले आफूहरू नैतिक संकटमा परेको गुनासो गरिन् । ‘पुरानो गाउँमा सुविधा भए पनि घर बलियो थिएन,’ उनले भनिन्, ‘एकीकृत बस्तीमा बलियो बन्यो । तर, सुविधा छैन ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले सुरुको आवश्यकता घर भएकाले बिस्तारै अरू विकल्पको खोजी हुने बताए । अब एकीकृत बस्तीको संरक्षण र उपयोगको दायित्व समुदायमा भएकाले सरकारी संरचनाको रूपमा दुरुपयोग नगर्न आग्रह गरे ।