इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा सत्तारूढ दल नेपाली कांग्रेसनिकट सेन्टर फर डेमोक्रयाटिक इन्जिनियर्स नेपाल (सिडेन) का तर्फबाट आधिकारिकता दाबी गर्दै प्यानल बनाएर बागी उम्मेदवारी दिनेलाई सिडेनले कारबाही गरेको छ । बुधबार एक सूचना जारी गर्दै सिडेनका महासचिव ई. रोशनराज गिरीले सो जानकारी दिएका हुन् ।
एसोसियसनको ३३ओँ कार्यसमिति चयनका लागि शुक्रबार हुने निर्वाचनमा सिडेनका तर्फबाट हरि दर्लामी र दिलीपकुमार झाको नेतृत्वमा दुईवटा प्यानलबाट उम्मेदवारी घोषणा भएको थियो । सिडेनले झा नेतृत्वको प्यानलबाट उम्मेदवारी दिनेलाई संस्थाको विधानअनुसार साधारण सदस्यसमेत नरहने गरी संस्थाबाट निष्काशन गरिएको जनाएको हो ।
कारबाहीमा पर्नेहरूमा सिडेन सदस्य इन्जिनियरहरू दिलीपकुमार झा, ऋषि कोइराला, कृष्णसिंह बस्नेत, सुधीर गुरागाईं, ढुण्डीराज दाहाल, पराग कायस्थ, बज्रमान सिंह थापा, नवीन तिवारी, जीवनकुमार श्रेष्ठ, प्रवेशकुमार आचार्य, रत्नेश्वरलाल कर्ण, भगतमानसिंह प्रधान र टेकराज बोहाेरा गरी १३ जना रहेका छन् ।
इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसनको ३३औँ कार्यसमितिका लागि शुक्रबार निर्वाचन हुँदै छ । चुनावमा विभिन्न पार्टीनिकट एकल तथा गठबन्धन गरेर पाँच प्यानल प्रतिस्पर्धामा उत्रेका छन् ।
हेर्नुहोस् सिडेनको विज्ञप्ति :