मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Wednesday, 18 December, 2024
२o७८ फाल्गुण २४ मंगलबार o६:२१:oo
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

हिंसाबारे खुल्न थाले  ग्रामीण भेगका महिला

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार o६:२१:oo

हिंसा गर्नु मात्र नभई हिंसा सहनु पनि अपराध भन्दै न्यायका लागि प्रहरी र अदालतमा उजुरी दिने बढे

रसुवाको ग्रामीण भेगका महिला हिंसाबारे खुल्न थालेका छन् । परिवार तथा समाजमा बेइज्जत हुने डरले हिंसा हुँदा पनि मनमै दबाएर राख्ने महिलाहरू अब भने आफ्नो समस्या निर्धक्क भएर सुनाउन थालेका छन् । चेतनाको अभावमा महिलाले यसअघि हिंसा सहने गरेकामा अब भने त्यस्तो समस्या क्रमशः हट्दै गएको देखिएको छ । स्थानीय सरकार, गैरसरकारी संघसंस्था र अधिकारकर्मीहरूले यसमा उल्लेख्य भूमिका खेलेको रसुवा महिला सञ्जालकी अध्यक्ष सुनितामाया गुरुङ बताउँछिन् । विभिन्न निकायले सञ्चालन गर्ने अभियानको सकारात्मक प्रभाव ग्रामीण भेगसम्म देखिन थालेको छ । 

गोसाइँकुण्ड गाउँपालिका–१ थुम्मनकी पेम्बा याङजेन तामाङलाई अब छोराछोरीलाई शिक्षामा विभेद गर्नुहुँदैन भन्ने राम्रोसँग थाहा भइसकेको छ । उनले हिंसा गर्नु मात्र नभई हिंसा सहनु पनि अपराध रहेकोसमेत बुझेकी छिन् । विगतमा चुलोचौको, मेलापातमा मात्र सीमित हुने महिलालाई सचेत गराउन गाउँघरमा सक्रिय महिला समूहले समेत भूमिका खेलेको उनको अनुभव छ । ‘पहिला जतिसुकै अरूको दबाबमा रहे पनि कसैलाई भन्न सक्ने थिएनौँ, धेरैजसो घरेलु हिंसा हुन्थ्यो, पीडामाथि पीडा थुपारेर बस्न बाध्य थियौँ, तर अहिले भने बोल्ने आँट आउँछ,’ उनी भन्छिन् । 

तामाङका अनुसार संघसंस्था र सरकारी निकायले ग्रामीण भेगको घरदैलौमै पुगी चलाएका अभियानको सकारात्मक प्रभाव यहाँ देखिएको छ । महिलाका समस्या महिला समूहबाटै बढी उजागर हुने गरेका छन् । यसले पीडा सहनुहुँदैन भनेर महिलामा हौसला दिने गरेको छ । ‘महिला समूहको बैठक बसी के छ समस्या भन्नेबारे खुलेर कुरा गर्छौँ र कसैलाई समस्या परेको छ भने त्यहीबारे के गर्ने भन्ने छलफल गर्छौँ,’ उनले भनिन् । हिंसा भए पनि खुलेर कुरा गर्ने र समस्याको समाधान खोज्न पछि नहट्ने गोसाइँकुण्ड गाउँपालिका–१ थुम्मनकी चेङा डोल्मा तामाङले बताइन् । महिला हिंसाबारे खुलेर आवाज उठाउने गरेको उनको भनाइ छ । अहिले विगतमा जस्तै पीडा लुकाएर बस्ने जमाना नरहेको उनी बताउँछिन् । ‘हिंसा लुकाएर होइन फुकाएर समाधान गर्नुपर्छ भनेर एकले अर्कालाई भन्ने गरेका छौँ,’ उनी भन्छिन् । 

विगतमा जति हिंसा भए पनि सहेरै बस्न बाध्य महिलाहरू अहिले भने आवाज उठाउन थालेका छन् । ग्रामीण क्षेत्रका महिला घरको कुरा प्रहरी कार्यालयसम्म पु¥याए समाजमा परिवारको इज्जत जाने भन्दै कुण्ठा पालेर बस्ने गर्थे । पछिल्लो समय शिक्षा र चेतनाको विकासले ग्रामीण महिलाहरू हिंसाविरुद्ध खुल्न थालेका हुन् । 

रसुवा महिला सञ्जालकी अध्यक्ष गुरुङ अहिले हरेक दिनजसो महिलाहरू कुनै न कुनै समस्याबारे खुलेर बताउन आफूकहाँ आउने गरेको बताउँछिन् । ‘पहिलाभन्दा अहिले सचेतना पाएसँगै महिलाहरू खुलेर आफ्ना समस्या राख्नुहुन्छ, दैनिकजसो गुनासा तथा समस्या लिएर आउनुहुन्छ,’ उनले भनिन्, ‘धेरैजसो घरेलु हिंसासम्बन्धी समस्या लिएर आउने गरेका छन् ।’ 

बेरोजगारी, कमजोर आर्थिक अवस्थाका कारणसमेत घरमा झगडाका घटना बढी हुने गरेका छन् । कोरोना महामारी रोक्न जारी गरिएको लकडाउनका वेला दैनिकजसो महिलाहरूले हिंसामा परेको भन्दै फोन गर्ने गरेको महिला अधिकारकर्मी गुरुङले बताइन् । उनका अनुसार श्रीमान्ले कुटपिट गरेकोदेखि घरमा हुने अपमानसम्मका घटनामा महिलाहरू खुल्न थालेका छन् । यसरी आउने गुनासोमध्ये सामान्य घटनामा सम्झाइबुझाइ गर्ने र जटिल प्रकारका घटनामा कानुनी उपचारमा जान सल्लाह दिने गरिएको उनले बताइन् । 

केही समययता परिवारका झैझगडाका उजुरीसमेत आउन थालेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । यस्तो अवस्थामा समेत प्रहरीले दुवै पक्षलाई सम्झाइबुझाई गर्ने गर्छ । ‘कतिपय सम्झाइबुझाई गर्दा मिलेर जानुभएको छ, केही भइहालेमा प्रहरीले लगेर थुनिदिए हुन्थ्यो, बोलाइदिए हुन्थ्यो भन्ने किसिमको छ, नागरिकहरूले सचेतना पाएसँगै अहिले समाज सुसूचित भएको पाइन्छ,’ गुरुङले भनिन् ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाकी उपाध्यक्ष नवीना लामाले महिला दिवस वा अन्य विशेष कार्यक्रममा महिलाको सहभागिता उल्लेख्य हुने गरेको बताइन् । समस्या पर्दा पनि सहेर बस्नेलाई ल्याएर महिलाको हकअधिकारबारे जानकारी गराउने गरिएकाले हिंसा सहने बानी क्रमशः हट्दै गएको उनले बताइन् । ‘गाउँपालिकामार्फत महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिएका छन्,’ उनी भन्छिन्, ‘पहिला आफनो परिचय भन्नसमेत डराउने आमा, दिदीबहिनी अहिले खुलेर बोल्नुहुन्छ ।’ 

रसुवामा घरेलु हिंसा, बहुविवाह, बालविवाह, बलात्कार प्रयासजस्ता घटना भएको पाइन्छ । कतिपय घटना मिलापत्रबाट समाधान हुन्छन् भने कतिपय कानुनी कारबाहीमा गएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवामा महिलासम्बन्धी मुद्दाको त्रिवर्षीय तथ्यांक हेर्ने हो भने महिलाको मुद्दा दर्ता गर्नेको संख्या बढेको पाइन्छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक सविन कार्कीका अनुसार आर्थिक वर्ष ०७५/७६ मा सात, ०७६/७७ मा ११, ०७७/७८ मा १६  र ०७८/७९ को साउनदेखि हालसम्म आठवटा महिलासम्बन्धी निवेदन गरेका छन् । आव ०७५/७६ मा दुई, ०७६/७७ मा तीन, ०७७/७८ मा ६ र ०७८/७९ को साउनदेखि हालसम्म चारवटा घरेलु तथा महिला हिंसाका ठाडो निवेदन प्रहरीमा दर्ता भएका छन् । 

आव ०७५/७६ मा तीन, ०७६/७७ मा दुई, ०७७/७८ मा तीन र ०७८/७९ मा दुईवटा जबर्जस्ती करणी घटनाका मुद्दा दर्ता छन् । जबर्जस्ती करणी उद्योगमा ०७५/७६ मा एउटा, ०७६/७७ मा तीन र ०७७/७८ मा दुईवटा घटनाका मुद्दा दर्ता भएका छन् । ०७५/७६ मा पाँच, ०७६/७७ मा पाँच, ०७७/७८ मा ६ र ०७८/७९ मा दुईजनाले झुन्डिएर आत्महत्या गरेका छन् । ०७५/७६ मा चार र ०७७/७८ मा पाँचवटा बहुविवाहका मुद्दा दर्ता भएका छन् । गर्भसम्बन्धी कसुरमा चालू आवमा एउटा मुद्दा प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला अदालतमा पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने सम्बन्धविच्छेदका घटना बढी देखिन्छ । अदालतको तथ्यांकअनुसार आव ०७६/७७ मा २६, ०७७/७८ मा ३१, ०७८/७९ को हालसम्म ३१ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । मानाचामलसम्बन्धी आव ०७६/०७७ मा तीनवटा मुद्दा दर्ता भएका छन् । आव ०७६/७७ मा ६, ०७७/७८ मा तीन र ०७८/७९ को हालसम्म चारवटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । गर्भपतनसम्बन्धी चालू आवमा एउटा मुद्दा दर्ता भएको छ । आव ०७६/७७ मा एक, ०७७/७८ मा एक र ०७८/७९ मा एउटा घरेलु हिंसासम्बन्धी मुद्दा दर्ता भएको जिल्ला अदालतले जनाएको छ ।