मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २४ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २४ मंगलबार o६:१८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष र गभर्नरसँग प्रधानमन्त्रीको छलफल

देउवाको निर्देशन– अर्थतन्त्र सुधार्न सबैले छिटो काम गर्नुस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २४ मंगलबार o६:१८:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रका बारेमा अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतसँग छलफल गरेका छन् । सोमबार बिहान १० बजेदेखि दुई घन्टासम्म प्रधानमन्त्रीले मुलुकको अर्थतन्त्रका तीन प्रमुख अधिकारीका अतिरिक्त अर्थ मन्त्रालयका सचिव मुधुकुमार मरासिनी एवं वाणिज्य मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेलाई समेत बोलाएर छलफल गरेका हुन् ।

 छलफलमा प्रधानमन्त्री देउवाले अर्थतन्त्र सुधार गर्न सबैले छिटो काम गर्न निर्देशन दिएका थिए ।  छलफलका क्रममा अर्थमन्त्री शर्माले विदेशी लगानी आकर्षित गर्ने घोषित नीति बनाउनुप¥यो भन्दा प्रधानमन्त्री देउवाले ‘हो, त्यस्तै गर्ने हो, गरिहाल्नुपर्‍यो’ भनेका थिए । छलफलमा अर्थमन्त्री शर्माले साउनदेखि प्रत्येक महिना निरन्तर भुक्तानी सन्तुलनमा समस्या देखिँदै आए पनि यसबीचमा सरकारले विभिन्न नीति ल्याएर भुक्तानी सन्तुलनमा ठूलो धक्का पर्न नदिएको बताएका थिए ।

‘विकास खर्च सोचेअनुसार हुन नसक्दा तरलतामा समस्या भएको छ । विकासे मन्त्रालय र कर्मचारीबीच समन्वय गरी खर्च बढाउनुको विकल्प छैन,’ उनले भने, ‘विकास खर्च छिटो हुने गरी ऐन–नियम संशोधन हुनु जरुरी छ ।’ विदेशी लगानी आकर्षित गर्ने घोषित नीति नै लागू गर्नुपर्ने उनले बताएका थिए । ‘हाइपर फन्ड, डिजिटल नेटवर्किङ र क्रिप्टोकरेन्सी रोक्न गृह, राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागको सहयोग चाहियो,’ उनले भनेका थिए ।  

योजना आयोग उपाध्यक्ष डा. पौडेलले अर्थतन्त्रमा दबाब सिर्जना भएको बताए । ‘केही सूचक सन्तोषजनक नभए पनि धेरै सूचक आसलाग्दा छन् । आर्थिक गतिविधि यति धेरै बढ्दा पनि मुद्रास्फीतिमा खासै चाप नपर्नु धेरै राम्रो पक्ष हो,’ उनले भने, ‘बैंकिङ क्षेत्रमा राम्रो लगानी विस्तार भइरहेको छ ।’ बाह्य क्षेत्र र भुक्तानी सन्तुलनमा समस्या देखिए पनि आत्तिनुपर्ने खालको नभएको उनको भनाइ थियो । ‘अहिलेको अवस्थालाई सजिलै व्यवस्थापन गरेर सुधार गर्न सकिन्छ,’ उनले भने । 

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले अहिले तरलताको अवस्था भए पनि आत्तिनुपर्ने अवस्थामा नपुगेको बताए । ‘धेरै वर्षदेखि मुलुकले आर्थिक क्षेत्रमा भोगेको प्रमुख समस्या भनेकै तरलताको हो,’ उनले भने, ‘तर, ६० वर्षयता पटक–पटक आउने गरेको तरलताको समस्यालाई समाधान गर्दै आर्थिक क्षेत्र माथि उठ्न सकेको छ,’ उनले भने । 

अर्थसचिव मरासिनीले देशको समग्र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । उनले बाह्य क्षेत्रसँगको सन्तुलन तथा सरकारले लिएको अर्थतन्त्र वृद्धिको लक्ष्यका बारेमा पनि उनले जानकारी गराएका थिए । वाणिज्य सचिव पाण्डेले मुलुकको अन्तर्राष्ट्रिय व्यापारबारे जानकारी गराएका थिए । सुनचाँदी, हीरा, जुत्ताचप्पल, सौन्दर्य सामग्रीमा थप कडाइ गर्न सकिने सुझाब उनले दिएका थिए ।