गोरखा अस्पतालमा सुत्केरी गराउनेको संख्या बढेको छ । स्त्रीरोग विशेषज्ञ थपिएपछि दुई महिनायता अस्पतालमा सुत्केरी गराउनेको संख्या बढेको हो । अस्पतालका प्रमुख डा. हरिकुमार श्रेष्ठसहित दुईजना स्त्री तथा प्रसूति विशेषज्ञ थपिएसँगै शल्यक्रिया गरी सुत्केरी हुने महिलाको संख्या बढेको छ ।
‘हामी आएपछि शल्यक्रिया गराएर सुत्केरी हुने क्रम बढेको छ,’ मेडिकल सुपरिटेन्डेन्ट डा. श्रेष्ठले भने, ‘यसअघि रिफर हुने केसहरूको पनि अहिले यहाँ नै उपचार भएको छ ।’ साउनदेखि माघसम्म गोरखा अस्पतालमा प्रसूति हुनेको संख्या दुई सय २३ छ ।
माघ महिनामा ४४ जना गोरखा अस्पतालमा सुत्केरी भएका छन् । यीमध्ये तीनजनाको शल्यक्रिया भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । असोज, कात्तिक र मंसिरमा एक–एकजनाले शल्यक्रिया सेवा लिएका छन् भने पुस महिनामा शल्यक्रिया शून्य रहेको थियो ।
विशेषज्ञ नहुँदा सेवाग्राही घटेकोमा फेरि बढ्न थालेको छ । ‘अहिले विशेषज्ञ थपिएसँगै सुत्केरी हुन अस्पताल आउनेको संख्या बढेको छ,’ डा. श्रेष्ठले भने, ‘यो सेवा अझै बढ्ने अपेक्षा छ ।’ अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सुत्केरी रिफर हुने क्रम बढेको थियो । कतिपयले भने निजी अस्पतालबाट महँगो शुल्कमा सेवा लिनुपरेको गुनासो गरेका थिए ।
अहिले अस्पतालले साँझ ५ बजेसम्म विस्तारित सेवा दिएको सूचना अधिकारी कृष्ण ढकालले बताए । गोरखा अस्पताल नयाँ भवनमा सरेसँगै आधुनिक उपकरणको प्रयोगबाट विशेषज्ञ चिकित्सकले सेवा दिएकाले सुत्केरी र बालबालिकालाई सहज भएको उनी बताउँछन् ।