मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २१ शनिबार
  • Wednesday, 18 December, 2024
२o७८ फाल्गुण २१ शनिबार १२:३o:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जुम्ला‐रारा अल्ट्रा म्याराथन हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २१ शनिबार १२:३o:oo

कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा आगामी चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ हुने भएको छ। जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवर्द्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजकले जनाएको छ।

क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनका लागि खेलाडी दर्ता खुला गरिएको बताए। उनले भने, ‘अहिले आयोजना गरिएको तेस्रो म्याराथन प्रतियोगिता हो। यसअघि ०७५ मा पहिलो र २०७६ मा दोस्रो संस्करणको प्रतियोगिता आयोजना गरिएको थियो।’ कोरोना महामारीका कारण ०७७ मा सञ्चालन हुन नसकेको म्याराथन यसपटक पुनः आयोजना गरिएको उनले जानकारी दिए ।

समुद्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु हुने म्याराथन तीन हजार तीन सय मिटरको उचाइमा रहेको डाँफे लेक, चार हजार एक सय मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८ सय ९० मिटरको उचाइमा रहेको रारा तालछेउमा समापन हुनेछ। जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुट व्यवसायिक खेलाडीले पाँचदेखि सात घन्टामा पार गर्छन्। विगतमा पुरुष र महिला गरी ३४७ खेलाडीसम्मको सहभागिता रहेको प्रतियोगिताको यो संस्करणमा पनि सोही हाराहारीमा सहभागिता हुने अपेक्षा राखिएको छ। 

आयोजकका अनुसार अघिल्ला वर्षमा विजयी खेलाडीलाई एक लाख पुरस्कार दिइएको थियो। यो संस्करणमा घोषणा हुन बाँकी भए पनि यसअघिको भन्दा धेरै हुने बताइएको छ। प्रतियोगिताका उत्कृष्ट १० खेलाडी पुरस्कृत हुनेछन्। म्याराथन सम्पन्न गर्न ५० लाख खर्च हुने अनुमान छ। म्याराथनमा सहभागी हुन विदेशीले चार हजार पाँच सय र नेपालीले एक हजार ६ सय शुल्क तिर्नुपर्नेछ। सो रकमबाट रारातालको वाससहित टिसर्ट तथा खाजाखानाको प्रबन्ध गरिएको छ। आगामी चैत २४ गतेसम्म खेलाडीले नाम दर्ता गर्न सक्ने जनाइएको छ।

क्लबका संरक्षक प्रशिक्षक ओलम्पियन तथा अल्ट्रा म्याराथनमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल हरिबहादुर रोकायाले खेल क्षेत्रको विकासमा सरकार तथा विभिन्न संस्थाको सहयोगको खाँचो रहेको औँल्याएका छन्। सडकमार्गका कारण पदमार्ग जोखिममा परेको भन्दै उनी पदमार्थको संरक्षण गर्नुपर्ने बताउँछन् ।