नेपाली कांग्रेस सिराहामा विवाद भएपछि दुवै गुटले अलग–अलग अधिवेशन गरेको छ । १४औँ सिराहा अधिवेशनको सभापति रामचन्द्र यादव समूहले गोलबजारमा र सभापतिका आकांक्षी रामसुन्दर चौधरी समूहले सिराहा सदरमुकाममा गरेको हो ।
अधिवेशनस्थलको विषयमा दुवै गुटबीच विवाद भएपछि अलग–अलग आयोजना गरेको हो । सभापति यादव गुटले गोलबजारमा आयोजना गरेको उद्घाटनमा नेपाली कांग्रेसका नेतृ एवं केन्द्रीय सदस्य चित्रलेखा यादव, प्रदेश महामन्त्री उपेन्द्रकुमार यादव, पूर्वसांसद मोहम्मद मुक्तार अहमदलगायत सहभागी भएका थिए ।
सभापतिका आकांक्षी रामसुन्दर चौधरी समूहले सदरमुकाम सिराहाका जिसस समीक्षालयमा आयोजना गरेको उद्घाटन सत्रमा कांग्रेस नेतृ एवं पूर्वकोषाध्यक्ष सीतादेवी यादव, प्रतिनिधिसभाका सदस्य पद्नारायण चौधरी, पूर्वसांसद अमियकुमार यादवलगायतको उपस्थिति रहेको थियो । सभापति आकांक्षी चौधरीलाई भारतमा उपचाररत नेपाली कांग्रेसका नेता प्रदीप गिरीको समर्थन रहेको छ ।
सभापति रहेका यादव र आकांक्षी चौधरी समूहबीच कडा टक्कर रहेको कांग्रेसका नेता रामकिशोर यादवले बताए । सिराहा जिल्ला अधिवेशनमा नेपाली कांग्रेसका दुई हजार ६ सय ५० सय मतदाता रहेका छन् ।
सभापति यादवको समूहबाट उपसभापतिमा सुनील महतो, जागेश्वर मण्डल, सचिवमा शैलेन्द्र यादव, तारकेश्वर यादव, सहसचिवमा रामबाबु यादव र किरण विसीलगायत रहेका छन् । यस्तै सभापतिका आकांक्षी चौधरीको समूहबाट उपसभापतिमा गंगाप्रसाद यादव, नागेश्वर भुडेर यादव, सचिवमा अरुणकुमार सिंह, रामचन्द्र यादव, सहसचिवमा पनालाल मण्डल र धनिकलाल महतोलगायत छन् ।
निर्वाचन कार्यतालिका सार्वजनिक
यस्तै १४औँ जिल्ला अधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालय गोलबजारले शुक्रबार मतदाता नामावली प्रकाशन, दाबीविरोध र छानबिनसहित अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरेको छ । यस्तै शनिबार (फागुन २१) उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, उम्मेदवारको प्रथम सूची प्रकाशन गर्ने तालिका तय गरेको छ । फागुन २२ गते उम्मेदवारको दाबीविरोधमा उजुरी दिने, फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरेको छ । यस्तै फागुन २३ गते सोमबार मतदानको कार्यक्रम रहेको निर्वाचन अधिकृत संजीवकुमार लामाले बताए ।