उद्घाटन भएको करिब आठ महिनापछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको सर्जिकल भवनबाट कोभिडबाहेकको सेवा नियमित भएको छ । वीर अस्पतालका प्रशासकीय अधिकारी प्राध्यापक डा.भूपेन्द्र बस्नेतले सीमित जनशक्तिबाटै भए पनि सेवा सुरु गरेको जानकारी दिए ।
सर्जिकल भवनमा सेवा दिन सरकारले आठ सय ३१ जना चिकित्सकलगायतको दरबन्दी स्वीकृत गरेको छ । तर, जनशक्तिको बहाना देखाएर विपन्न बिरामीलाई सेवाबाट वञ्चित गर्न नहुने भनेर कोभिडमा लिएका केही जनशक्तिको उचित व्यवस्थापन गरी सर्जिकल भवनबाट ननकोभिड उपचार सेवा सुरु गरिएको बस्नेतले बताए ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले गत २७ असारमा सर्जिकल भवनको उद्घाटन गरेका थिए । कोरोना संक्रमित बिरामी राख्ने स्थान अभाव हुँदा वीरको नयाँ सर्जिकल भवनमा राखेर उपचार सुरु गरिएको थियो । तर, अब भने जुन उद्देश्यले भवन बनाइएको हो, त्यही उद्देश्यअनुसार उपचार सेवा दिन थालिएको अधिकारीहरूले बताएका छन् । नयाँ भवनमा सर्जरी सेवालाई तीव्रता दिइने भएको छ ।
वीर अस्पतालको नयाँ सर्जिकल भवन सात तलाको छ । ग्राउन्ड फ्लोरमा रेडियोलोजीको सिटी, एमआरआई, अल्ट्रासाउन्डलगायतको सेवा सञ्चालनमा आएको छ । यसअघि तीन तलासम्म कोभिडका बिरामी राखिएको थियो । तर, अहिले कोरोना केस नभएपछि दोस्रो तलामा मात्रै कोभिडका बिरामी भर्ना गरिएको वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडभरीले बताए ।
तेस्रो तलामा अस्पतालको कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी (सिटिभिएस) सेवा, जनरल सर्जरी सेवा सुरु भएको छ । वीरले सर्जिकल भवनमा ननकोभिडका लागि २८ बेड आइसियू, कोभिडका लागि ५१ बेड आइसियू र सर्जरीका लागि १८ बेड आइसियू राखेको छ । पाँचौँ तलामा अप्रेसन थिएटर राखिएको छ । केही दिनमा अप्रेसन थिएटर सञ्चालन हुने बस्नेतले बताए ।