मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका म्याग्दी
२o८१ पौष १९ शुक्रबार १३:o१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

गाउँभरि केराखेती, बजारको अभाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार १३:o१:oo

एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका– २ खबरा गाउँभरि केराखेती भएको छ । तर, उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन्।

हिउँदयाम सुरु भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरुंगीको आहरा बन्न थालेको खबराका किसान बुद्धवीर परियारले बताए । ‘पहिले हप्ताको २० घरीसम्म केरा बिक्री हुन्थ्यो,’ उनले भने, ‘हिजोआज हप्तामा मुस्किलले पाँच घरी पनि बिक्री हुँदैन ।’

खबराका सबैले व्यावसायिक केराखेती गरेका छन् । यहाँ वार्षिक दुई करोड मूल्यभन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ । केरा बिक्री र आम्दानी घटेको खबराका किसान हिरा कुँवरले बताए । धान, कोदो, मकै बालीको विकल्पमा केराखेती गरेका किसान उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उनले बताए ।

प्रति १२ कोसा (दर्जन) एक सय ८० सम्ममा बिक्री गरेको केराको मूल्य घटेर अहिले एक सयमा झरेको छ । बेनीका फलफूल व्यवसायी श्रीकृष्ण सुवेदीले चिसो बढेसँगै केराको खपत र बिक्री घटेको बताए । गर्मीयाममा दैनिक २० दर्जनसम्म खपत हुने केरा हिजोआज दुई–तीन दर्जन मात्रै बिक्री भएको उनले बताए । स्थानीय किसानको उत्पादनले पुगेपछि बेनीमा पछिल्ला पाँच वर्षयता भारत र तराईबाट केरा आयात न्यून मात्रामा हुने गरेको छ ।

खेती विस्तारसँगै उत्पादन बढेको, सीमित बजार र प्रतिकूल मौसमका कारण केरा बिक्रीमा समस्या भएको खबराको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्मा (सापकोटा) ले बताए । केराका अन्य परिकार बनाउने र सहकारीमार्फत संकलन गरेर पोखरा, बागलुङ, कुश्मामा बजार खोज्न थालिएको उनले जानकारी दिए ।

बेनी नगरपालिकाको केरा पकेट कार्यक्रममार्फत खबरामा पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा केराखेती भएको छ । सोह्र हजारभन्दा बढी केराका गाँज छन् । बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले खबराका किसानलाई केरा थामको रेशाबाट धागो बनाउने तालिम र प्रविधि सहयोग गरेको बताए ।

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत केराको रेशाबाट धागो बनाउने, थाम कुहाएर प्रांगारिक मल बनाउने र बजारीकरण गर्न मिलन संस्थासँग समन्वय गरेको उपप्रमुख लामिछानेको भनाइ छ ।