युक्रेनका लागि गैरआवासीय राजदूत भन्छन्– नौजना छुटिसके, ६ जनालाई छुटाउने प्रयास भइरहेको छ
युद्धग्रस्त युक्रेनबाट बाहिरिएर पोल्यान्ड सीमाक्षेत्र पुगेका १५ नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरी तीन दिनसम्म हिरासतमा राखेको खुलेको छ । तर, उनीहरू पक्राउको कारण भने खुल्न सकेको छैन ।
युक्रेनका लागि गैरआवासीय राजदूत रामकाजी खड्काले १५ नेपालीलाई पोल्यान्ड प्रहरीले हिरासतमा राखेको पुष्टि गर्दै नौजना छुटिसकेको र ६ जनालाई छाड्ने प्रयास भइरहेको बताए । खड्काकै रोहवरमा उनीहरू छुटेका हुन् । ‘नौजनालाई छाडिएको छ, बाँकी ६ जनालाई छाड्ने प्रक्रिया जारी छ,’ उनले भने ।
पक्राउ परेका सबै नेपाली हुन् भनेर राजदूतले हस्ताक्षर गरेपछि मेडिकास्थित सीमा प्रहरी छाड्न तयार भएको हो । ‘सीमाक्षेत्रबाट हिँड्दै आएका उहाँहरू किन पक्राउ पर्नुभयो भन्ने खुल्न सकेको छैन । तर, रिहाइका लागि सहजीकरण गरिरहेको छु,’ खड्काले भने ।
युक्रेनमा रहेका नेपालीले ह्वाट्सएप गु्रपमा तीनजना सीमाक्षेत्रमा हराएको उल्लेख गर्दै आएका थिए । ‘हराएका भनिएका सबै प्रहरीको हिरासतमा मैले भेटेको छु, यहाँबाट कोही पनि नेपाली नागरिक हराएका छैनन्,’ उनले भने ।
एक सातामा पाँच सय एक नेपालीले युक्रेन छाडेका छन् । बिहीबार साँझसम्म युक्रेनबाट नेपालीहरू पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हंगेरीको सीमासम्म पुग्ने क्रम जारी छ । युक्रेनको राजधानी किभ, खार्किभ, ओडेसालगायतबाट बिहीबार साँझ थप ६ जना नेपाली पोल्यान्ड–युक्रेन सीमाक्षेत्र पुगेका छन् ।
राजदूत खड्काका अनुसार अब युक्रेनमा न्यून संख्यामा नेपाली छन् । ‘बिहीबार साँझसम्म युक्रेनबाट चार सय तीनजना पोल्यान्ड र ७१ जना स्लोभाकिया पुग्नुभएको छ,’ खड्काले भने, ‘रोमानियामा २३ जना र हंगेरीमा चारजना पुग्नुभएको छ । सबै सकुशल हुनुहुन्छ ।’
युक्रेनमा लामो समयदेखि रहँदै आएका नेपाली मूलका व्यवसायी पनि विस्थापित भएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष हरिबहादुर मल्ल परिवारसहित हंगेरी पुगेका छन् । ‘म एकदमै तनावमा छु, शरणार्थीको जिन्दगी सुरु भएको छ,’ मल्लले भने । ब्ल्याक सीनजिकै चार दशकदेखि बस्दै आएका मल्ल तथा अन्य व्यवसायी दशौँ लाख अमेरिकी डलरको व्यापार व्यवसाय छाडेर अर्को मुलुक पलायन भएका छन् । ‘कहाँ पुग्छु भन्ने ठेगान छैन । आफ्नै गाडीमा बाहिर निस्केको छु । अलिकति सहज भएपछि कुराकानी गरौँला,’ मल्लले भने ।
रुसी सैनिक थप आक्रामक, बेलारुसमा दोस्रो वार्ता
रुसी सैनिकले बिहीबार युक्रेनको महत्वपूर्ण बन्दरगाह सहर खेरसोन कब्जामा लिएको छ भने अर्को व्यापारिक सहर मारियुपोल घेराबन्दी गरेको छ । दोस्रो विश्वयुद्धमा सेन्ट पिटरबर्गमा नाजी सेनाले घेराबन्दी गरेझैँ रुसी सैनिकले मारियुपोल घेराबन्दी गरेको स्थानीय मेयरलाई उद्धृत गर्दै बिबिसीले समाचार दिएको छ । थप रुसी सैनिक राजधानी किभ र अर्को सहर खार्किभ पुगेका छन् । एक साताअघि रुसले उत्तर, दक्षिण तथा पूर्वी युक्रेनमा आक्रमण गर्ने चेतावनी दिएको थियो ।
रुसको प्याराट्रुपर्स सैनिक युक्रेनको खार्किभभित्र प्रवेश गरेको छ । मारियुपोलमा ठूलो संख्यामा जनधनको क्षति भएको बताइएको छ । रुसको रक्षा मन्त्रालयले खेरसोन कब्जामा लिएको बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । राजधानी किभ तथा अन्य सहरबाट स्थानीय बाहिरिने क्रम जारी छ । बिहीबारसम्म १० लाखभन्दा बढी युक्रेनीले छिमेकी पोल्यान्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा शरण लिएका छन् ।
यसैबीच, रुस र युक्रेनका प्रतिनिधिबीच बेलारुसमा दोस्रोपटक वार्ता भएको छ । वार्तामा तत्कालै युद्धविराम घोषणा गर्न, ध्वस्त पारिएका सहरहरूबाट नागरिकलाई बाहिर निस्कन सुरक्षित करिडोरको ग्यारेन्टी गर्न युक्रेनले माग गरेको छ । वार्ताका एजेन्डा भन्दै यी मुद्दा युक्रेनका अधिकारीले ट्विटरमा उल्लेख गरेका छन् ।