१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी
२०७८ फाल्गुण १९ बिहीबार १५:२५:००
Read Time : > 2 मिनेट
विश्व डिजिटल संस्करण

कसको सल्लाह मानिरहेछन् भ्लादिमिर पुटिन ?

Read Time : > 2 मिनेट
एजेन्सी
२०७८ फाल्गुण १९ बिहीबार १५:२५:००

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई देशको अर्थतन्त्रमा तहसनहस पार्न सक्ने उच्च जोखियुक्त युद्धमा होमेका छन्। आफ्नो राष्ट्रपतिकालकै सबैभन्दा जोखिमपूर्ण कदम उठाइरहँदा पुटिनले कसको सल्लाह लिइरहेका छन् भन्ने प्रश्न उठेको छ।  राष्ट्रपतिको हैसियतले युक्रेनमाथिको आक्रमणको जिम्मेवारी पुटिनले नै लिनुपर्छ।  तर, उनी निर्णय लिने प्रक्रियामा आफ्ना निकै वफादार मानिसहरूको घेरामा निर्भर हुने गर्छन्।  उनीहरूमध्ये अधिकांशले रूसी सुरक्षा सेवाबाट आफ्नो करिअर सुरु गरेका थिए।  

सर्जेई सोइगु, रुसी रक्षामन्त्री 
पुटिनका लामो समयदेखिका विश्वासपात्र मानिने सोइगुले युक्रेनलाई निशस्त्रीकरण गर्न र पश्चिमा राष्ट्रबाट हुने भनिएको सुरक्षा खतराबाट रुसलाई बचाउन पुटिनलाई सहयोग गरेका छन्।  सोइगु ‘हन्टिङ एन्ड फिसिङ’का लागि पुटिनसँग साइबेरियासम्म जाने गर्दछन्।  उनलाई विगतमा पुटिनको उत्तराधिकारीका  रूपमा पनि हेरिएको थियो।  सर्गेई सन् २०१४ मा क्रिमियालाई रुसमा विलय गराउन महत्वपूर्ण भूमिका खेल्नेहरूमध्ये एक मानिन्छन्।  उनी रुसी प्रतिपक्षी दलका नेता एलेक्सी नाभाल्नीमाथि २०१८ मा साइबेरियामा गरिएको घातक विषादी हमलामा संलग्न रहेको ‘जिआरयु’ सैन्य गुप्तचरका इन्चार्ज थिए।  रुसी सुरक्षा मामिलाविज्ञ तथा लेखक आन्द्रेई सोल्दातोभले रक्षा मन्त्री सोइगु हालसम्म पनि राष्ट्रपति पुटिनका विश्वासपात्र भएको बताउँछन्।

भलेरी जेरासिमोभ, रुसी सेना प्रमुख

जेरासिमोभ १९९९ को चेचेन युद्धमा सेनाको नेतृत्व गरेदेखि नै पुटिनको सैन्य अभियानहरूमा प्रमुख भूमिका खेलेका छन्।  गत महिना बेलारुसमा गरिएको सैन्य अभ्यासको निरीक्षण पनि उनले गरेका थिए।  उनी युक्रेनमाथिको आक्रमणको सैन्य योजना बनाउने अग्रभागमा थिए।  उनले रुसमा क्रिमिया विलय गराउनका लागि मुख्य भूमिका खेलेका थिए।  तर, पछिल्लो समय युक्रेनमाथिको आक्रमण गर्ने क्रममा योजनाअनुसार काम गर्न नसकेको र रुसी सेनाको मनोबल कमजोर भएको भन्दै उनलाई पुटिनले बेवास्ता गर्न थालेको बताइएको छ।  

निकोला पात्रुसेभ, सुरक्षापरिषद् सचिव 
पात्रुसेभ १९७० देखिका पुटिनका सहकर्मी हुन्।  सुरक्षा प्रमुख एलेक्जेन्डर बोर्तनिकोभ, वैदेशिक गुप्तचर प्रमुख सर्जेई नारिस्किन र पात्रुसेभ सन् १९७० देखि पुटिनसँगै काम गर्दै आइरहेका छन्।  राष्ट्रपति पुटिनको खास मानिसहरूको समूहलाई ‘सिलोभेकी’ अर्थात् ‘लागू गर्नेवाला’ भनिन्छ।  तर, सिलोभेकीका सदस्यहरूभन्दा यी तीनजना पुटिनको सबैभन्दा नजिक रहेको बताइन्छ।  पात्रुसेभले झैँ निकै कमले मात्रै राष्ट्रपति पुटिनलाई प्रभाव पार्न सक्छन्।  उनले सोभियतकालीन रुसी प्रमुख सुरक्षा एजेन्सी ‘केजीबी’ मा पुटिनसँगै काम गरेका थिए।  सन् १९९९ देखि २००८ सम्म पात्रुसेभले  पुटिनको उत्तराधिकारी भएर रुसी सुरक्षा एजेन्सी ‘एफएसबी’को नेतृत्व सम्हालेका थिए।  

एलेक्जेन्डर बोर्तनिकोभ, एफएसबीका निर्देशक 
रुसी राष्ट्रपति कार्यालय कर्मिलिनबारे जानकारहरूका अनुसार पुटिनले सुरक्षा सेवाबाट आएका सूचनालाई सबैभन्दा बढी विश्वास गर्छन्।  पुटिनको निकै नजिकका सहयोगीका रूपमा बोर्तनिकोभलाई हेर्ने गरिन्छ।  निकोलाई पात्रुसेभले छाडेपछि बोर्तनिकोभले एफएसबीको नेतृत्व गर्दै आएका छन्।  एफएसबीको रुसी कानुन कार्यान्वयनमा महत्वपूर्ण भूमिका हुने बताइन्छ।  

सर्जे नारिस्किन, वैदेशिक गुप्तचर सेवाका निर्देशक 
नारिस्किन आफ्नो करियरको अधिकांश समय पुटिनको साथमा छन्।  रुसी संसदको सभामुख भइसकेका नारिस्किनले पुटिनले गर्ने कामका लागि वैचारिक धरातल निर्माण गर्नमा मुख्य भूमिका निर्वाह गर्छन्।  

सर्जे लेभरोभ, विदेशमन्त्री 
रुसी विदेशमन्त्री लेभरोभ विगत १८ वर्षदेखि वरिष्ठ रुसी कूटनीतिज्ञका रूपमा चिनिन्छन्।  ७१ वर्षीय लेभरोभलाई पुटिनको विश्वासपात्रमध्ये एक मानिन्छ।  तर, युक्रेनका मामलामा उनले कूटनीतिक रूपमा वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा वकालत गरेकाले पुटिनले उनलाई युक्रेन मामलामा बेवास्ता गरेका थिए 

भ्यालेन्तिना मातभिएन्को,  संघ परिषद् प्रमुख
पुटिनको घेराभित्रकी एक दुर्लभ महिला हुन् मातभिएन्को।  उनले युक्रेनमा सेना पठाउने तथा आक्रमण गर्ने विषयमा माथिल्लो सदनको मतको निरीक्षण गरेकी थिइन्।  मातभिएन्को पनि पुटिनको वफादारमध्ये एक हुन् जसले क्राइमियाको विलयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मानिन्छ।  तर, निर्णय प्रक्रियामा उनको प्राथामिक भूमिका भने हुँदैन।  पुटिनको आन्तरिक घेरामा कसले निर्णय लिन्छ भनेर यसै भन्न नसकिने बताइन्छ।

भिक्टर जोलोतोभ, नेसनल गार्ड प्रमुख 
जोलोतोभ पुटिनका पूर्वअंगरक्षक हुन्।  उनले अहिले रुसी नेसनल गार्डको नेतृत्व गर्छन्।  ‘रोसभार्दिया’ पुटिनले रोमन शासकको शैलीमा ६ वर्षअघि मात्र बनाएको व्यक्तिगत सैन्य दस्ता हो।  हाल रोसभार्दियामा चार लाख सेना रहेका छन्।  यसका नेताहरूले सैन्य तालिम भने नलिएको बताइन्छ।  (बिबिसीबाट)