१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १८ बुधबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १८ बुधबार १८:४६:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बी डिभिजन लिगमा भगवती, सरस्वती र ब्वाइज युनियनको विजयी सुरुवात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १८ बुधबार १८:४६:oo

सहिद स्मारक बी डिभिजन लिगमा श्रीभगवती क्लब, सरस्वती युथ क्लब र ब्वाइज युनियनले विजयी सुरुवात गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदान ललितपुरमा बुधबारदेखि सुरु भएको लिगमा भगवतीले झम्सिखेल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै बी डिभिजन लिगमा सुखद सुरुवात गरेको हो । भगवती र झम्सिखेलले पहिलो हाफ १–१ गोलको बराबरी खेलेका थिए । खेलको २४औँ मिनेटमा अनिल गुरुङले गोल गर्दै भगवतीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३८औँ मिनेटमा मनकुमार राईले गोल गर्दै झम्सिखेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा आक्रामक रणनीतिका साथ मैदान उत्रिएको भगवतीले बराबरीको अवस्थालाई तोड्दै ५१औँ मिनेटमा रमेश राईको गोलबाट पुनः अग्रता लियो । त्यसपछि दबाब दिएर खेलेको भगवतीले ६३औँ मिनेटमा मिलन खड्काले गोल गर्दै खेल ३–१ को अवस्थामा ल्याए । जितसँगै भगवतीले लिग तालिकामा ३ अंक जोडेको छ । 

बी डिभिजन लिगअन्तर्गत बुधबारै भएको अर्को खेलमा सरस्वती युथ क्लबले बाँसबारीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । बाँसबारीले छैटौँ मिनेटमा बिक्की राईको गोलबाट अग्रता लिए पनि जोगाउन सकेन । सुरुवातमा गोल खाए पनि सम्हालिएको सरस्वतीले २१औँ मिनेटमा बिक्रम बिसुङ्खेको गोलबाट खेललाई बराबरीमा फर्कायो । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा ८७औँ मिनेटमा सृजल लामाले गोल गर्दै सरस्वतीलाई २–१ को अवस्थामा पुर्याए । इन्जुरी समयमा भूपेन्द्र शाहीले गोल गर्दै सरस्वतीलाई ३–१ को जित दर्ता गराए । जितसँगै सरस्वतीले पनि बी डिभिजन लिगमा स्पष्ट ३ अंक जोडेको छ । 

यस्तै, बी डिभिजन लिगअन्तर्गत बुधबारकै तेस्रो खेलमा ब्वाइज युनियनले वीरगन्ज युनाइटेडलाई १–० ले हराएको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । ब्वाइज युनियनका लागि ६४औँ मिनेटमा मिलन लिम्बूले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै ब्वाइज युनियनले पनि लिगमा ३ अंक जोडेको छ ।