सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आगामी ७ देखि १२ चैतसम्म मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै तेस्रो र चौथो स्थान प्राप्त गर्ने टिमले क्रमशः एक लाख र ५० हजार रुपैयाँ प्राप्त गर्ने परिषद्ले जनाएको छ ।
विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि मेडलसहित नगद पुरस्कार प्रदान गरिनेछ । सर्वोकृष्ट खेलाडीलाई नगद २० हजार, उदयमान खेलाडी, उत्कृष्ट लिस्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै प्रत्येक खेलका म्यान अफ दी म्याचलाई एक हजार पाँच सय रुपैयाँ पुरस्कार दिइनेछ ।
प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिम प्रदेशको टिमलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिन थालिएको छ । विभिन्न समिति र उपसमितिहरू गठन गरेर तयारी अगाडि बढाइएको सिंहले बताए ।