जिल्ला प्रहरी कार्यालय सुर्खेतले सर्वसाधारणलाई आज सुर्खेतको सडकमा ननिस्कन आग्रह गरेको छ। सोमबार बेलुकीदेखि नै कर्फ्यु आदेश जारी भएकाले सुर्खेतका सडकमा ननिस्कन सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको हो।
हिजो राति सवा आठ बजेदेखि लागेको कर्फ्युमा आन्दोलनकारीलाई नियन्त्रणमा लिन चोकचोकमा पर्याप्त प्रहरी खटाइएको छ। जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले आदेश उल्लंघन गर्नेलाई गोलीसमेत हान्न सक्ने आदेश दिएको छ।
‘हामी सकेसम्म परिस्थिति नबिग्रियोस् भन्नेमा केन्द्रित भएका छौँ। त्यसैले हिजो बेलुकादेखि नै कर्फ्यु आदेश जारी भएको स्थानमा निरन्तर सडकमा ननिस्कन नागरिकलाई माइकिङ गर्दै सूचना प्रवाह गरिरहेका छौँ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी डिएसपी रामप्रसाद घर्तीले भने, ‘अहिले परिस्थिति पूर्ण रूपमा नियन्त्रणमा छ।’
संसदबाट अनुमोदित एमसिसी सम्झौतालाई ‘राष्ट्रघाती’ भन्दै विरोध जनाउँदै आएका आठ राजनीतिक दल र दुई मोर्चाले सोमबार आह्वान गरेको बन्दका क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दिनभरजसाे झडप भएको थियो। बेलुका ७ बजेतिर बन्दकर्ताले वीरेन्द्रनगर– ६ गोदाम लााइनमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र एकीकृत समाजवादी कार्यालयमा तोडफोड तथा आगजनी गरेपछि कर्फ्यु आदेश जारी भएको हो।