१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १७ मंगलबार
  • Saturday, 28 September, 2024
कालिञ्चोक–३ लामीडाँडास्थित नमुना रंगशाला
२o७८ फाल्गुण १७ मंगलबार o७:५८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री स्वरोजगारको बजेटले रंगशाला

गाउँपालिकाका प्राविधिकहरूको डिजाइनपछि जनप्रतिनिधिहरूको रेखदेखमा काम सुरु भएको करिब दुई महिनामै रंगशाला निर्माण सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १७ मंगलबार o७:५८:oo

तस्बिरमा देखिएको संरचना दोलखाको कालिञ्चोक गाउँपालिका–३ का स्थानीयले न्यून ज्यालादारीमा निर्माण सम्पन्न गरेको रंगशाला हो । संघीय सरकारले स्थानीय तहमा पठाउने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कालिञ्चोक–३ को लामीडाँडा गाउँमा बनेको यो रंगशालामा पुग्दा सबैजना अचम्म मान्छन् । यसको अर्थ नागरिकले चाहने हो भने थोरै बजेटमा पनि राम्रो काम हुन्छ भन्ने यसले पुष्टि गरेको छ । 

अधिकांश स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम पार्टीका कार्यकर्ता, आफन्त र आसेपासेलाई हाजिर गराएर भुक्तानी दिएका थुप्रै उदाहरण छन् । तर, कालिञ्चोक गाउँपालिकाले भिन्न र नमुना काम गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको रकमले लामीडाँडामा रंगशाला बनाएर स्थानीयलाई हस्तान्तरण गरेको छ । कालिञ्चोक गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट वडा नम्बर–३ लाई ११ लाख विनियोजन गरेको थियो ।

उक्त बजेट वडा तहमा बेरोजगार रहेका युवायुवतीहरूलाई विकासका काममा सहभागी गराई रोजगार दिनुपर्ने व्यवस्था थियो । तर, वडा समितिले आवेदन गरेका सबै बेरोजगार युवायुवतीलाई खुला मञ्च प्रकृतिको रंगशाला निर्माण गर्न परिचालन गर्‍यो । गाउँपालिकाका प्राविधिकहरूको डिजाइनपछि जनप्रतिनिधिहरूको रेखदेखमा काम सुरु भएको करिब दुई महिनामै रंगशाला निर्माण पूरा भएको कालिञ्चोक–३ का वडाध्यक्ष निशान बुढाथोकीले बताए ।

अहिले कालिञ्चोक गाउँपालिकाकै सबैभन्दा आकर्षक रंगशालाका रूपमा पोखरे रंगशाला रहेको स्थानीय कुमार कार्की बताउँछन् । करिब ६० मिटर लम्बाइ र २५ मिटर चौडाइको मैदानको चारैतर्फ बार लगाइएको छ भने माथिल्लो भागमा सहरका रंगशालाझैँ यात्रु बस्ने सिटजस्तै छ ।वडाध्यक्ष बुढाथोकीका अनुसार मैदानमा खेलिने विशेष गरी क्षेत्रीयस्तरका प्रायः सबै खेलमैदानमा सजिलै खेलाउन सकिन्छ । मैदानमा एक हजारभन्दा बढी दर्शक पनि सहजै अटाउँछन् । वडाले मैदानको अघिल्लो भागमा ५० जनाभन्दा धेरै पाहुना अट्ने पक्की मञ्च निर्माणसमेत सम्पन्न गरेको छ । अहिले उक्त रंगशालामा गाउँपालिकाले आयोजना गरेका तथा अन्य विभिन्न खेलकुद प्रतियोगिता तथा ठूला सभा–सम्मेलन भइरहेका छन् । 

थप व्यवस्थित गर्न पहल 
वडाले उक्त रंगशालालाई अझ व्यवस्थित गर्न मातहतका निकायमा पहल गरिरहेको छ । अध्यक्ष बुढाथोकीले दर्शक बस्ने ठाउँमा गर्मी वा वर्षात्को समयमा केही असहज हुने भन्दै व्यवस्थित गर्न पहल गरिरहेको बताए । उनले मैदानमा दुबो रोप्ने र खेलसँग सम्बन्धित थप संरचना निर्माणका लागि पनि स्रोत खोजी गरिरहेको बताए ।