प्रमुख प्रतिपक्ष दल एमालेले संसद् बैठकमा अवरोध जारी राख्ने जनाएको छ। सत्तागठबन्धनको बैठकले आज एमसिसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेपछि एमालेको यस्तो प्रतिक्रिया आएको हो।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै सरकारले माग सम्बोधन गर्न कुनै पहल नगरेकाले यसअघिको विरोधलाई कायमै राख्ने बताए। ‘पूर्ववत् अवस्थामा नै हाम्रो विरोध जारी रहनेछ,’ उनले भने।
आज बसेको सत्तागठबन्धनका शीर्ष नेताको बैठकले व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्ने निर्णय गरेको थियो। गठबन्धनमा संसदमा आजै प्रक्रिया अगाडि बढाउने सहमति जुटेको थियो। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा एमसिसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ।
गत आइतबार नै एमसिसी संसदमा पेस भए पनि अनुमोदनको सुनिश्चितता नहुँदा बैठक स्थगन गरेर सैद्धान्तिक छलफल रोकिँदै आएको छ। संसदमा छलफल सकिए आजै वा नभए सोमबारसम्म एसिसी अनुमोदन गराउने सरकारको तयारी छ।