अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुसले युक्रेनबाट अघि बढेर अन्य देशहरूलाई समेत आक्रमण गर्न सक्ने सम्भावना रहेको दाबी गरेका छन्। अमेरिकी प्रसारक एबिसीसँगको एक अन्तर्वार्तामा ब्लिंकनले यस्तो बताएका हुन्।
नेटोको कुनै एक सदस्यमाथि हमला हुनु यसका सबै सदस्यमाथिको हमला हुने दोहोर्याउँदै ब्लिंकनले अमेरिका नेटोका सदस्य राष्ट्रहरूको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताए। राष्ट्रपति जो बाइडेनलाई उदृत गर्दै ब्लिंकनले भने, ‘नेटोको प्रत्येक सदस्यको सुरक्षाप्रति राष्ट्रपति बाइडेन स्पष्ट छन्। पुटिनले हमलाको दायरा युक्रेनको बाहिर पुर्याए हाम्रो यो प्रतिबद्धता पर्याप्त छ भन्ने मलाई लाग्छ।’
रुसले युक्रेनको सरकारलाई अपदस्थ गर्ने प्रयास गर्न सक्ने उनको दाबी छ। युक्रेनी सरकार अपदस्थ गर्नु रुसी योजनाको एक हिस्सा भएको उनले बताएकाे बिबिसीले जनाएको छ। युक्रेनको राजधानी किभ र अन्य ठूला सहरहरूमा हमला गरी चारैतिरबाट युक्रेनलाई घेर्ने रुसी योजना रहेको ब्लिंकनको दाबी छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रुसले युक्रेनलाई तहसनहस पार्न लागेको बताएका छन्। ‘उनीहरू (रुस) युक्रेनको प्रमुखलाई सिध्याएर राजनीतिक रूपमा नष्ट गर्न चाहन्छन्। दुश्मनको निसानामा सबैभन्दा पहिले म छु, र दोस्रो नम्बरमा मेरो परिवार,’ एक भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भनेका छन्। एजेन्सी