विभागीय टोली नेपाल आर्मी र नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन् । आर्मीले पुरुष तथा प्रहरीले महिलाको उपाधि जितेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न पुरुष फाइनलमा आर्मीले टाइम्सलाई ९०–५८ ले सहजै पराजित ग¥यो । आर्मीको जितमा आयुश सिंहले सर्वाधिक २६ स्को र टाइम्सका सदिश प्रधानले १७ स्कोर गरेका थिए । सहज जित हात पार्ने क्रममा आर्मीले चारै क्वार्टरमा अग्रता बनायो ।
महिलाको रोमाञ्चक फाइनलमा अनुषा मल्लको १९ स्कोरको सहयोगमा प्रहरीले रोयल बास्केटबल एकेडेमीलाई ५२–४९ ले हरायो । प्रहरीले उपाधिसँगै राउन्ड रोविन लिगमा रोयलसँग व्यहोरेको हारको बदला पनि लियो । राउन्ड रोविन लिगमा रोयल विजेता तथा प्रहरी उपविजेता बन्दै उपाधि भिडन्त पक्का गरेका थिए । रोयलकी रोशनी श्रेष्ठले १४ स्कोर गरिन् । प्रहरी दोस्रोमा २०–१५ र तेस्रेमा १४–११ ले अघि रहँदै जितको आधार खडा गरेको थियो । चौथो तथा अन्तिम क्वार्टरमा रोयलले १५–१० को अग्रता लिए पनि जितका लागि पर्याप्त भएन ।
पुरुष र महिला दुवैमा पहिलो हुनेले ५० हजार रुपैयाँ पाएका छन् । यसैगरी दोस्रो हुनेले जनही २५ हजार नगद पुरस्कार पाए । नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका विनोद महर्जन तथा महिलामा प्रहरीकी अनुषा मल्ल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । पुरुषमा रोयलका सुदीप पौडेल क्षेत्री तथा महिलामा रुपन्देहीकी दीपिका गुरुङ उदीयमान खेलाडी चुनिए ।