गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक, २०७८ तयार पारेको छ। गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्ने गरी उक्त विधेयक तयार पारिएको हो। गृहले मंगलबार मन्त्रीस्तरीय निर्णय गरी उक्त विधेयक मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाएको छ।
मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायका अनुसार गाँजाको उत्पादन, संकलन, बिक्रि–वितरण र निकासी कसरी गर्ने भन्ने विषय विधेयकमा समेटिएको छ। विधेयक कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा आउनेछ। नयाँ कानुन निर्माणपछि लागुऔषध नियन्त्रण ऐन, २०३३ ले गाँजाको प्रयोगमा लगाएको बन्देज हट्नेछ।
मन्त्रालयले केही दिनअघि मात्रै सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा गाँजाको औषधीय प्रयोगका लागि कार्यविधि तयार गर्ने उल्लेख थियो। यो विधेयक कानुन बनेर आएपछि त्यसैमा टेकेर कार्यविधि बनाउने मन्त्रालयको तयारी छ। काठमाडौं विश्वविद्यालयले गाँजाको अनुसन्धान गर्न र थुप्रै संघसंस्था तथा फर्महरूले गाँजाको खेती गर्न गृह प्रशासनसँग अनुमति मागिरहेका छन्।