१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १२ बिहीबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण १२ बिहीबार o८:o२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी टी–२० वरीयतामा कुशलको फड्को

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण १२ बिहीबार o८:o२:oo

यसै वर्षको अक्टोबर र नोभेम्बरमा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकपमा नेपाल पुग्न सकेन । ओमान सञ्चालन भइरहेको ग्लोबल छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपाल विश्वकपमा पुग्न नसकेको हो । यसैगरी आइसिसी टी–२० ग्लोबल छनोटकै आधार मानेर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले बुधबार नयाँ टी–२० वरीयता सार्वजनिक गरेको छ । नयाँ टी–२० वरीयतामा नेपालका कुशल भुर्तेलले ठूलो फड्को मारेका छन् । 

उनले एकैपटक नौ स्थान सुधार गरी ३९औँ स्थान रक्षा गरेका छन् । यसअघि कुशल ४८औँ स्थानमा थिए । कुशलले चार सय ८९ रेटिङ अंक बटुलेका छन् । ग्लोबल छनोटमा कुशलले फिलिपिन्सविरुद्ध एक सय चार रनको शतकीय इनिङ खेलेका थिए । नेपालको टी–२० इतिहासमा कुशल शतक बनाउने तेस्रो खेलाडी हुन् । उनले क्यानडाविरुद्ध ३४ रन जोडेका थिए । दुई साताअघि टी–२० वरीयतामा पहिलोपटक समावेश भएका नेपालका दीपेन्द्रसिंह ऐरीले तीन स्थान सुधार गर्न सफल भए । 

नयाँ वरीयताअनुसार उनी ५०औँ स्थानमा छन् । यसअघि उनी ५३औँ स्थानमा थिए । यसपटक दीपेन्द्रसिंहले चार सय ५४ रेटिङ अंक बटुलेका छन् । चारदेशीय टी–२० सिरिज तथा आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटमा दीपेन्द्रसिंहले उत्कृष्ट प्रदर्शन गरेका थिए । दीपेन्द्रसिंहले चार देश टी–२० सिरिजमा ओमानविरुद्ध नटआउट ७३ रन बनाएका थिए । यसैगरी उनले युएईसँग ४१ र आयरल्यान्डसँग २८ रन बटुले । 

सो सिरिजमा उनले चार विकेट पनि लिएका थिए । दीपेन्द्रसिंहले विश्वकप छनोटमा फिलिपिन्ससँग ८३ रन, क्यानडासँग २७ रन र युएईविरुद्ध ३८ रन जोडेका थिए । टी–२० ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर अजाम आठ सय पाँच रेटिङ अंकका साथ शीर्ष स्थानमा छन् । 

सन्दीप ४३औँ स्थानमा
यसपटकको टी–२० खेलाडी वरीयतामा नेपालका खेलाडीहरूले धेरै फड्को मारेका छन् । नेपालका कप्तान सन्दीप लामिछाने बलिङ वरीयताको ४३औँ स्थानमा उक्लेका छन् । उनले एकैपटक १६ स्थान सुधार गरेका हुन् । सन्दीपले चार सय ६७ रेटिङ अंक बटुलेका छन् । सन्दीपभन्दा अगाडि अस्ट्रेलियाका फास्टबलर मिचेल स्टार्क छन् । यसअघि सन्दीप ५८औँ स्थानमा थिए ।

सन्दीपले दक्षिण अफ्रिका कागिसो रबाडा र अस्ट्रेलिया तीव्र गतिका बलर प्याट कमिन्सलाई पछि पारेका छन् । सन्दीपले ओमान भ्रमणकै क्रममा अन्तर्राष्ट्रिय टी–२० खेलमा ५० विकेट पूरा गरेका थिए । उनले विश्वकप छनोटमा ओमानविरुद्ध २, क्यानडा र फिलिपिन्सविरुद्ध समान तीन विकेट हात पारे । यसैगरी नेपालका तीव्र गतिका बलर अविनाश बोहराले १२ स्थान सुधार गरे । यसपटक उनी ८६औँ स्थानमा छन् । अविनाशले ओमानसँग ३ र आयरल्यान्डसँग २ विकेट लिएका थिए । क्यानडासँग २ र युएईसँग तीन विकेट लिएका थिए । 

नेपालको वरीयता खस्कियो
खेलाडीहरूले आइसिसी टी–२० को वरीयतामा ठूलो फड्को मार्दा नेपाल भने खस्किएको छ । आइसिसीको टी– २० वरीयतामा नेपाल दुई स्थान खस्किदै १५औँ स्थानमा झरेको छ । एकदिवसीयमा नेपाल १६औँ स्थानमै छ । नेपालले २६ अन्तर्राष्ट्रिय टी–२० खेलबाट एक सय ८४ अंक बटुलेको छ । टी–२० विश्वकपमा स्थान पक्का गरेको आयरल्यान्ड १४औँ स्थानमा छ । यसैगरी युएई ११औँ स्थानमा पुगेको छ । 

यसैबीच, आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मार्चमा त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल, आयोजक युएई र पिएनजी सम्मिलिति त्रिकोणात्मक एकदिवसीय सिरिज १५ देखि २२ मार्चसम्म हुने भएको हो । नेपालले पहिलो खेल पिएनजीविरुद्ध १६ मार्चमा खेल्नेछ । आइसिसीको वेबसाइटमा नेपालले दोस्रो खेल युएईसँग १८ मार्चमा खेल्नेछ । २१ मार्चमा नेपालले युएईको सामना गर्नेछ ।