१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ६ शुक्रबार
  • Saturday, 28 September, 2024
सार्वजनिक ठाउँमा बम राखेर आतंक फैलाउनेलाई सार्वजनिक गर्दै प्रहरी । 
२o७८ फाल्गुण ६ शुक्रबार o८:५३:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

चन्दा असुल्न ‘बम आतंक’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ६ शुक्रबार o८:५३:oo

चन्दा असुली गर्न बनाइएको समूहमा कैद भुक्तान गरिसकेका, फरार अभियुक्तदेखि पुजारीसम्म

झापामा चन्दा असुली गर्न ‘बम आतंक’ मच्चाउने गिरोह प्रहरीको फन्दामा परेको छ । सार्वजनिकस्थलमा ‘प्रेसर कुकर बम’ राखेर आतंक फैलाउन सक्रिय नौजनालाई पक्राउ गरी बिहीबार जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो । 

यो गिरोह झापामा केही महिनायता सक्रिय छ । गिरोहमा विभिन्न मुद्दामा सजाय भोगेकादेखि पुजारीसम्म छन् । ‘हिमाल सुरक्षा परिषद्’को नाममा पर्चा, पम्प्लेट छाड्दै प्रेसर कुकर बम राख्ने यो गिरोहको मुख्य उद्देश्य चन्दा असुल्नु नै रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए । ‘प्रारम्भिक अनुसन्धानअनुसार बम राखेर आतंक फैलाउनुको मुख्य उद्देश्य चन्दा उठाउनु नै देखिन्छ,’ उनले भने ।

यो समूहले गत ९ माघमा बिर्तामोडको पश्चिम बस स्ट्यान्ड र १३ माघमा दमक–५ स्थित सिवान चर्चको गेटमा प्रेसर कुकर बम राखेको प्रहरीले जनाएको छ । उनीहरूले बमसँगै संघीयता विरोधी, हिन्दु धर्मको पक्षका पर्चा पनि राख्ने गरेका थिए । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय दमक, बिर्तामोड र प्रदेश–१ प्रहरी कार्यालय विराटनगरको क्षेत्रीय अनुसन्धान समूहको झन्डै एक महिना लामो प्रयासपछि नौजनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

पक्राउ पर्नेमा गौरादह–२ का ३८ वर्षीय सुमनकुमार कार्की, कन्काई–३ का ४१ वर्षीय भीष्म थापा, दमक–९ की ५० वर्षीया देवी बाँस्कोटा गुरागाईं, कन्काई–३ का ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी–१ का ३२ वर्षीय सरुण लिम्बू भनिने दिलकुमार सामेखाम, संखुवासभा खाँदबारी–१० घर भई मोरङ सुन्दरहरैँचा बस्ने २९ वर्षीय मनोमहन दाहाल, गौरीगञ्ज–३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह–५ का ३३ वर्षीय प्रदीप थापा, गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई विभिन्न मितिमा प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार कार्की मुख्य अभियुक्त हुन् । उनी बम राख्ने योजना बनाउँदै आर्थिक संकलन गर्ने संकलित रकमबाट आपराधिक गतिविधि गर्दै आएको प्रहरीको दाबी छ । ‘उनीसँग रहेको हिमाल सुरक्षा परिषद्को पर्चा, पम्प्लेट, स्ट्याम्प, आर्थिक सहयोग मागेर लेखिएका पत्र र चन्दा माग्न प्रयोग भएका सिमकार्ड भेटिनुले पनि यो पुष्टि हुन्छ,’ उनले भने । कार्कीलाई प्रहरीले दशगजा क्षेत्रबाट पक्राउ गरेको हो । उनी विगतमा पनि वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा विगत दुई वर्ष जेल सजाय काटेका व्यक्ति हुन् । गत १९ साउनमा इलाका प्रहरी कार्यालय दमकले उनको घरमा ३० ग्राम ब्राउन सुगर पनि बरामद गरेको थियो । यही मुद्दामा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका उनी फरार अभियुक्तको सूचीमा थिए । 

कार्कीजस्तै दिलकुमार सामेखाम पनि विगतमा लागुऔषध मुद्दामा पाँच वर्ष कैद सजाय पाएका व्यक्ति हुन् । उनले झापा र मोरङबाट संकलन भएको चन्दा लिएर भारतको बिहार राज्यस्थित अररियाबाट ‘हिमाल सुरक्षा परिषद्’को गतिविधि सञ्चालन गर्दै आएको प्रहरीको दाबी छ । दमक र बिर्तामोडमा राखिएको प्रेसर कुकर बममा उनी पनि संलग्न रहेको प्रहरीले जनाएको छ । 

यस्तै, बम राख्ने घटनामा कन्काई–४ स्थित कोटिहोमका पुजारीको पनि संलग्नता देखिएको छ । पक्राउ परेका सिटौला कोटिहोममा कुटी बनाएर बस्दै आएका पुजारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी पोखरेलले जानकारी दिए । उनी ग्रेटर नेपाल माग राखी प्रेसर कुकर राखेको अभियोगमा पक्राउ परेका एक व्यक्तिसँग मिलेर बम राख्न अग्रसर रहेको प्रहरीको दाबी छ । कुटीमा हिन्दू राज्य, राजतन्त्र पुनर्स्थापनाको माग राखी पटकपटक बैठक बसेको प्रहरीले खुलाएको छ । मजदुरी गर्दै आएका भीष्म थापालाई मोटरसाइकल किनिदिने भन्दै बम राख्न लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेका अन्य पनि प्रेसर कुकर बम राख्नेदेखि प्रेसर कुकर खरिद गरिदिनेसम्म छन् । 

पक्राउ परेकामध्ये केही मुख्य अभियुक्त कार्कीलाई चन्दा उठेको रकम पुर्‍याउनमा संलग्न छन् । यो समूहले विगतमा ‘गोरखा जनमुक्ति पार्टी’को नाममा आपराधिक गतिविधि गर्दै आएको प्रहरीको भनाइ छ । तर, जेल परेर छुटेपछि फेरि पहिचान खुल्न सक्ने भयले उनीहरूले समूहको नाम फेरेर ‘हिमाल सुरक्षा परिषद्’ राखेका थिए । यो समूहले हिन्दू राष्ट्रको विपक्ष र संघीयताको पक्षमा समाचार नछाप्न सञ्चार माध्यमलाई चेतावनी दिँदै विज्ञप्तिसमेत निकालेको थियो ।