सेदी बगरदेखि सराङकोटसम्मको केबलकारको दूरी दुई दशमलव ४ किलोमिटर, पार गर्न सातदेखि आठ मिनेट मात्रै लाग्ने
पोखराको प्रमुख पर्यटकीयस्थल फेवाताल–किनारा र सराङकोटलाई जोड्ने केबलकार शुक्रबारबाट सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित सराङकोटडाँडामा जान निर्माण भएको अन्नपूर्ण केबलकार शुक्रबार सफ्ट ओपनिङ गरिने सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । २९ मंसिर ०७३ मा भूमिपूजा गरी निर्माण कार्य सुरु गरिएको केबलकार ५ वर्षमा सम्पन्न गरी सञ्चालनमा आउन लागेको हो ।
सेदी बगरदेखि सराङकोटसम्मको केबलकारको दूरी दुई दशमलव ४ किलोमिटर पार गर्न सातदेखि आठ मिनेट मात्रै लाग्नेछ । समुद्र सतहदेखि करिब १६ सय मिटर उचाइमा रहेको सराङकोटमा सडकमार्गबाट पुग्न करिब ४५ मिनेट लाग्छ । हाल दैनिक तीनदेखि चार हजारजना त्यहाँ पुग्ने गरेको बताइएको छ ।
केबलकार यात्राका लागि नेपालीलाई सात सय, सार्क राष्ट्रका पर्यटकलाई आठ सय र विदेशी पर्यटकलाई आठ डलर भाडा तोकिएको छ । ज्येष्ठ नागरिकले ५० र विद्यार्थीले २५ प्रतिशत छुट पाउने त्रिपाठीले जानकारी दिए ।
१८ टावर १८ गोन्डला
केबलकार सञ्चालनका लागि १८ वटा टावरमा यात्रु बोक्ने १७ र सामान बोक्ने एक गरी १८ वटा गोन्डला अर्थात् डिब्बा रहेका छन् । प्रतिडिब्बामा आठजनाको सिट क्षमता रहेको छ । यात्रुहरूको सख्या बढेसँगै डिब्बाको संख्या बढाएर ३५ वटा पुर्याइने त्रिपाठीले जानकारी दिए । हाल प्रतिघन्टा पाँच सयजना ओहोरदोहोर गर्न मिल्ने केबलकार पूर्ण रूपमा सञ्चालनमा आएपछि प्रतिघन्टा एक हजारजनाले ओहोरदोहोर गर्न सक्नेछन् । माथिल्लो स्टेसन भवनमा स्काई हेवन बेलुन रेस्टुरेन्ट, भ्यू टावर निर्माण भएको छ भने तल्लो स्टेसनमा पार्किङ, गार्डेनसहितको संरचना निर्माण भएको छ ।
लागत अनुमान ८० करोड, खर्च दुई अर्ब
केबलकार निर्माणको कुल लागत ८० करोड लाग्ने बताइए पनि निर्माण कार्य सकिँदासम्म बढेर करिब दुई अर्ब पुगेको त्रिपाठीले जानकारी दिए । निर्माण थाल्दा स्टिल फेब्रिकेसन मोडलबाट गर्ने भनिए पनि पछि आरसिसी (कंक्रिट) मोडलमा निर्माण गर्दा, जग्गा खरिदलगायतका कारण लागत बढेको त्रिपाठीको भनाइ छ ।
केबलकारमा नेपाली व्यवसायी कालु गुरुङलगायतको ७५ प्रतिशत, स्थानीयको १० प्रतिशत र वैदेशिक लगानीअन्तर्गत जापानी नागरिकता त्यागेर नेपाली बनेका टाकासी मयाहरामार्फत जापानिज समूहको १५ प्रतिशत लगानी रहेको छ ।
केबलकारमा यात्रा गर्दा थ्रिनट भ्यूमार्फत एकैपटकमा फेवाताल, शान्ति स्तूपा, हिमशृंखला, पोखरा बजार, आसपासका हरियाली क्षेत्रसँगै प्राकृतिक सैन्दर्यको दृश्यावलोकन गर्न पाइनेछ । केबलकारबाट सूर्याेदय र सूर्यास्तसमेत सहज रूपमा देख्न सकिन्छ । सराङकोटमा सूर्योदय हेर्नका लागि धेरै पर्यटकहरू जाने गर्छन् ।